विप्लवको ‘महापतन’

0
336

विषयप्रवेश

डा. ऋषिराज बराल

‘महापतन’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लिखित पुस्तकको नाम हो । नेपालीमा प्रायः सकारात्मक कुराका लागि मात्रै  ‘महान्’ को प्रयोग गर्ने गरिन्छ, तर, यहाँ यसको प्रयोग नकारात्मक अर्थमा गरिएको छ । अङ्ग्रेजीमा भने ‘ग्रेट’ लाई सकारात्मक नकारात्मक दुवैमा प्रयोग गरिएको पाइन्छ । शीर्षकले पनि पुस्तकप्रति जिज्ञासा उत्पन्न गरेको छ र पुस्तक विचारकेन्द्रित रहेको हुनुपर्छ भनेर बुझ्न सकिन्छ ।  यो पुस्तकको प्रचारमा जुटेका पत्रपत्रिका  तथा अनलाइनहरूले चाहिं वैचारिक पक्षलाई भन्दा रामबहादुर थापा ‘बादल’ र पम्फा भुसाल ‘विद्युत’ को सन्दर्भलाई बढी  महत्त्व दिएका छन् ।

हिजो प्रचण्ड-बाबुरामले क्रान्ति गर्छौँ भनेर जनयुद्धको थालनी गरे, त्यत्रो बलिदान गराए, जसका विरुद्ध लडे आखिर उनीहरूकै सामु आत्मसमर्पण गरे र वैचारिक-राजनीतिक रूपमा पतन भए भन्ने नै यो पुस्तकको सार हो । यो माओवादी आन्दोलनमा लागेका इमानदार कार्यकर्ताहरू र आम नेपाली जनताले व्यवहारमै देखेको कुरा हो र विप्लवले कुनै नयाँ कुरा भनेनन् पनि भन्न सकिन्छ । तर यो पुस्तकमा अन्य केही सन्दर्भ र सङ्केतहरू पनि छन्, जसको विश्लेषण आवश्यक छ र मेरो प्रयास यसैलाई खोतलखातल गर्नु रहेको छ  ।

पूर्वटिप्पणी

प्रचारात्मक होहल्ला भन्दा पुस्तकले छोड्ने प्रभावको बढी अर्थ हुन्छ । पुस्तक पढेपछि पाठकलाई ऊर्जा प्रदान गर्नु  र क्रान्तिकारी आशावादले पाठकलाई उद्वेलित पार्न सक्नुमा नै पुस्तकको गुणवत्ता निर्भर गर्छ । हुन त कमजोर वैचारिक धरातलमा उभिएका मान्छेहरू वैचारिक टीकाटिप्पणी गर्नेबित्तिकै  आतङ्कित हुन थाल्छन्, पचाउन गारो हुन्छ उनीहरूलाई ।  यो नेपाली कम्युनिस्ट आन्दोलनको एक किसिमले समस्या नै हो । देशकाल, स्थान र सन्दर्भ र जोटघटाउ गुणाभागा आदि मिलाउने सन्दर्भमा  कतिपय मान्छेहरू कम्युनिस्ट पार्टीका माथिल्ला नेता हुन पुग्छन्, तर उनीहरूसित मार्क्सवादको सामान्य ज्ञान पनि हुँदैन । मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओका केही उद्धरणको आध्ययनका आधारमा ती आफूलाई धुरन्धर अध्येता र महान् नेता नै ठान्न पुग्छन् । मार्क्सवाद नै राम्रोसित नबुझेको भए पनि तिनका आसेपासे र हुल्लडबाजहरूले “एक्काइसौँ शताब्दीका मार्क्स” को  बखानले फेसबुक भर्छन् ।  यो नेपालको कम्युनिस्ट आन्दोलनको महारोग नै हो ।  महान् नेपाली जनयुद्धको राजनीति पनि यसबाट पृथक रहन सकेको छैन ।

प्रचण्ड यस्तै नेता थिए । उनी पतन भएर त गए, तर सकारात्म/नकारात्मक प्रभाव छाड्न सफल भए । नेपालको वाम आन्दोलनमा मोहनविक्रमको स्कुलिङको चर्चा निकै हुन्थ्यो ।  आजभोलि प्रचण्डको स्कुलिङको पनि चर्चा हुने गर्छ । स्कुलिङ नै निर्माण गर्नुलाई विशेषता भन्न सकिन्छ ।  यस अर्थमा प्रचण्ड पतन भए भन्दा पनि सफल भए भन्नुपर्ने हुन्छ । यस्ता नेताहरूको पछि लाग्नेहरूले पनि अध्ययन-चिन्तन गर्नु आवश्यक ठान्दैनन् र जसले वैचारिक प्रश्न उठाउँछ, उसलाई तथानाम गाली गर्दै  भौतिक कारबाहीको धम्कीसमेत दिन्छन् । यो पनि नेपाली कम्युनिस्ट आन्दोलनको  एउटा  विशेषता नै भएको छ । यो टिप्पणीकारले “‘उत्तर-साम्राज्यवाद’ भनेको साम्राज्यवादको अन्त्य भयो भन्ने हो, यो त सोझै साम्राज्यवादपरस्त चिन्तन हो” भन्दा एक थरीले फेसबुकमार्फत ममाथि भौतिक कारबाही गर्ने धम्की नै दिएका थिए । विप्लवसित नारिएका तिनका फोटा र तिनका फेसबुक स्टाटसका चित्र मसित सुरक्षित नै छन् । विचारहीन हुल्ल्डबाजहरूबाट आउने भनेको यस्तै प्रतिक्रिया हो ।

यसै सन्दर्भमा ‘जनमेल’ अनलाइनले आफ्नो फेसबुक स्टाटसमा “विप्लवको ‘महापतन’ को चिरफार : पानीमाथि ओभानो हुने प्रयास” शीर्षकमा ऋषिराज बरालको लेख आउँदैछ भनेर सूचना दियो । तर लेख कस्तो आउँछ, बरालले यो पुस्तकको कसरी विश्लेषण गर्दा रहेछन् भन्ने कुरै नपढी हनुमान चालिसाबाहेक अरू नबुझेकाहरूले फेसबुकमा फोहरमैला बान्ता गर्न थालेको देखियो  । आलोचनादेखि आतङ्कित हुनेहरू मार्क्सवादी हुन सक्तैनन् , ती त चरणदास मात्र हुन् । चरणदासहरूको काम आफ्नो मालिकको भक्तिगान गाउनु मात्र हो ।

आलोचनाका सकारात्मक पक्ष पनि छन् । यसले आफू उभिएको धरातल थाहा पाउन जानकारी दिन्छ । यसले आफ्ना शुभचिन्तकहरू तथा विरोधीहरूबीच आफू कहाँ रहेछु भन्ने कुरा पनि थाहा हुन्छ । गल्ती सच्याउन सहयोग पुग्छ । जनयुद्ध कालमा हामी अमुक ठाउँका हौँ, हामी जन्मेदेखि नै मार्क्सवादी हौँ, हामीले केही गल्ती गर्दैनौँ, हामीले सबै थोक जानेका छौँ भन्ने बुझाइ र अहङ्कार एक थरीमा थियो,  र अहिले पनि केही मान्छे त्यसै धङधङीमा भौँतारिएका छन् । आफ्ना नेताद्वारा यस किसिमको प्रशिक्षण पाएका र अलिकति पनि आलोचनात्मक चेतना नभएका,  क्रान्ति भनेको डरधम्की देखाएर पैसा उठाउनु र बेलुका भट्टी पसल रन्काउनु हो भनेर बुझेकाहरू वैचारिक प्रश्न आउँदा उत्तेजित हुनु अनौठो कुरा होइन । यस्तो स्थिति छ भन्दैमा वैचारिक सङ्घर्षबाट भाग्ने कुरा हुँदैन । यो पनि लडाइँको एउटा मोर्चा हो ।

महापतनको प्राविधिक पक्ष

‘महापतन’ नेकपा-विप्लवका नेताहरूमाथि व्यापक धरपकड, रिहाइ र वार्ताको प्रसङ्गको सेरोफेरोमा बजारमा आएको छ । यो पुस्तक विप्लव समूहले नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गरेको ४ वर्षपछि, यसै सन्दर्भमा यसले यही मङ्सिर ८ गते गर्न थालेको आमसभाको सेरोफेरोमा  आएको छ । यस अर्थमा यो पुस्तक जनयुद्धको इतिहास र प्रचण्ड-बाबुरामको सन्दर्भमा मात्र सीमित नभई सो समूहको यताको चार वर्षको राजनीतिक बुझाइ  र व्यवहारको संश्लेषण पनि हो भनेर बुझ्नु पर्ने हुन्छ ।

विप्लव समूहको खुला प्रकाशन ‘रातोखबर प्रकाशन गृह प्रा. लि.ले प्रकाशित गरेको यस पुस्तकमा माओवादी जनयुद्ध सम्बद्ध, मूलतः प्रचण्ड-बाबुरामकेन्द्रित  २६ वटा शीर्षकमा विभिन्न विषयका लेखोटहरू  छन् । यसो हेर्दा यो एउटै शीर्षकअन्तर्गत विभिन्न उपशीर्षकमा लेखिएको पुस्तक जस्तो लागे पनि यो पुस्तक एउटै अलगअलग शीर्षकका लेखहरूको सङ्कलन हो  । यसमा मिति र विषयको क्रमबद्धताको सिलसिलेवार प्रस्तुति छैन । जनयुद्धको क्रमबद्धतामा लेखिएको पुस्तक पनि यो होइन । ऋषिराज बरालको पुस्तक नेपाली जनयुद्धझैँ यो जनयुद्धको इतिहास, विश्लेषण र संश्लेषण पनि होइन । मूलरूपमा नेपाली क्रान्ति महान् जनयुद्धलाई प्रचण्ड-बाबुरामले कसरी घात गरे भन्ने कुरालाई नै यो पुस्तकले देखाउन खोजेको छ ।

आफूले उठान गरेको तर्कलाई पुष्टि गर्ने क्रममा लेखकले प्रचण्ड-बाबुरामका लेखोटका धेरै लामालामा उद्धहरणहरूको प्रयोग गरेका छन्  । सन्दर्भ हेरेर कहिलेकाहीँ यस्तो आवश्यक पनि हुन्छ, तर यस पुस्तकमा अत्यधिक मात्रामा उद्धरणहरू छन् र कतिपय दोहोरिएका पनि छन् । कुनैकुनै लेख त विप्लवको आफ्नो भनाइभन्दा उद्धरणले भरिएका छन् । उद्धरणको लेखाजोखा गर्ने हो भने ५० प्रतिशत शब्दहरू उद्धरणले भरिएका पाउन सकिन्छ  । यस अर्थमा यो पुस्तकको आधी हकदार प्रचण्ड-बाबुराम हुन् भन्नु पर्ने स्थिति छ ।  त्यस्तै सन्दर्भ स्रोतहरूको प्रयोग पनि सही ढङ्गले नहुँदा पाठक अलमलिन्छन् । ‘उही’, ‘पूर्ववत्’, ‘ऐ.ऐ’ .आदिको प्रयोग गर्ने वैज्ञानिक विधि र प्रक्रिया छन् । बाबुरामको भनाइको ‘पूर्ववत्’  हो कि प्रचण्डको भनाइको ‘पूर्ववत्’ हो, कसको र कुन रचनाको ‘पूर्ववत्’ हो भनेर  छुट्याउन गारो हुन्छ । यो फितलो सम्पादनको परिणाम हो ।

भाषाको प्रयोग र वाक्य गठनमा पनि  गम्भीरता र ओज छैन । वैचारिक लेखनको भाषाशैली छैन । भाषण गरेजस्तो संरचना नमिलेको भाषा छ र वाक्य गठनको स्थिति झन् उदेकलाग्दो छ । आवेग र आक्रोसात्मक भाषा प्रयोगले लेखकको क्षमतामाथि  नै प्रश्न उठाउँछ । उदाहरणका रूपमा एउटा वाक्य यस किसिमको छ : “यदि प्रचण्ड-बाबुरामको विगत तर्कलाई हेर्ने हो भने आजको साम्राज्यवाद देखेर अलिकति पिसाब बाबुराम-प्रचण्डले पनि कट्टुमा तुर्क्याएका हुन् त ?” । शब्दचयन र वाक्य गठनका  सम्बन्धमा अप्ठ्यारो बोध हुने  यस्ता थुप्रै उदाहरणहरू छन् ।  विप्लवले प्रयोग गरेको भाषा, वाक्य गठन र रचनाको संरचना हेर्दा वैचारिक लेख लेख्ने उनमा बानी र क्षमता रहेनछ भन्नु पर्ने हुन्छ   । कतिपय शब्दहरूको प्रयोग र वाक्यगठनको रूपरङ्ग देख्दा टीठ लाग्दो स्थिति देखापर्छ ।

त्यस्तै पुस्तकमा उल्लेखित घटनासन्दर्भ तथा तथ्याङ्कहरू पनि सही छैनन् । जस्तो प्रचण्डको सन्दर्भमा “उनले जनकपुर पुगेर भैँसी पूजा गरे” भनिएको छ ।  तर यो चर्चित प्रसङ्ग सुनसरीको चतराको सन्दर्भ हो र पार्टीमा निकै विवादको विषय बनेको प्रसङ्ग हो । त्यस्तै उनले “संयुक्त सङ्घर्ष गर्न सहमत भएपछि भारतमा ८ बुँदे सहमति भयो” भनेका छन् । वास्तवमा यो आठबुँदे सहमति नभएर माओवादी पार्टीसहितका पार्टीहरूबीच २०६२ साल मङ्सिर ७ गते १२ बुँदै सहमति भएको थियो । त्यस्तै कतिपय शीर्षक रखाइ पनि अस्पष्ट र अर्थको अनर्थ हुने खालका छन् । उदाहरणका रूपमा ‘राष्ट्रिय स्वाधीनताको सोचमा पतन’ लाई लिन सकिन्छ । त्यस्तै पुस्तकमा “२०५९ सालमा दुम्ला बैठकले २१औँ शताब्दीको जनवाद पारित गर्यो ” लेखिएको छ । यो बैठक  २०५९ मा भएको नभएर २०६० मा रोल्पाको दुम्लामा जेठमा भएको  हो ।  यस्ता तिथिमिति अथवा शीर्षक रखाइ भन्दा विचार पक्ष प्रधान हो भनेर तर्क सकिन्छ तापनि यस्ता सन्दर्भहरूप्रति नेतृत्व तहमा रहेकाहरू सचेत हुनु आवश्यक हुन्छ । कार्यकर्ताले महावाणि बुझेर त्यसैलाई पछ्याउने हुन् ।

महापतनको अन्तर्वस्तु पक्ष

“हिजो क्रान्ति गर्छु भनेर नेपाली जनतालाई जनयुद्धमा होम्ने प्रचण्ड-बाबुरामहरू पतन भए, अब उनीहरूबाट केही हुँदैन,  किरण पनि संसदीय राजनीतिकै वरिपरि छन्, उनीबाट केही हुँदैन, क्रान्ति गर्ने भनेको हामीले हो, हाम्रो पार्टीले हो, एकीकृत क्रान्तिले हो”—सारमा यो पुस्तकमा विप्लवले भन्न खोजेको कुरा यही हो । यसैक्रममा जनयुद्धको तयारी, चौथो विस्तारित बैठक, पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन, ‘प्रचण्डपथ’, एक्काइसौँ शताब्दीको जनवाद, चुनवाङ बैठक, १२ बुँदे सहमति, लोकतान्त्रिक गणतन्त्र, शान्तिप्रक्रिया, जनसेना विघटन, पार्टी विभाजनदेखि यताका सबैजसो सन्दर्भहरू समेटिएका छन् ।

जनयुद्धको राजनीति युद्धको विस्तार तथा राजनीतिक घटनाहरूको शृङ्खला मात्र होइन र थिएन । योसित दर्शन र विचार, राजनीति र व्यवहार जोडिएका  छन् ।  जनयुद्ध नेपाली समाजको विशिष्टतामा मार्क्सवाद-लेनिनवाद-माओवादको वैचारिक तथा राजनीतिक प्रयोग थियो । त्यसैले प्रचण्ड-बाबुरामको कुरा गर्दा उनीहरू मात्र आउँदैनन्, सिङ्गो पार्टी, पार्टी नेतृत्वमा रहेकाहरू, पार्टीको नीति, योजना, कार्यक्रम, जनयुद्धको विस्तार, जनसेना, जनसत्ता, जनवर्गीय मोर्चाहरू सबै गाँसिएर आउँछन् । सिङ्गो आन्दोलनबाट प्रचण्ड-बाबुरामलाई छुट्याएर उनीहरूले यसो भनेका थिए, उसो भनेका थिए र  यसो गरे, उसो गरे भनेर आन्दोलनसित गाँसिएका अन्यहरू पर सर्न मिल्दैन । जिम्मेवारी अनुसार सबै अंशियार हुनु स्वाभाविक हुन्छ । आन्दोलनसित जोडिएको पात्र सकारात्मक र नकारात्मक अंशियार हुनुबाट भाग्न मिल्दैन ।   कुनै पत्रकारले अथवा बाहिर बसेको कुनै  पर्यवेक्षकले मात्र ‘तिनीहरूले’ यसो भने, उसो गरे भनेर लेख्न मिल्छ  । आन्दोलनको  नेता ‘उनीहरू’ भनेर भाग्न मिल्दैन, उसले  “हामी” को जिम्मेवारी लिनुपर्छ । विप्लवले जसरी घटनासन्दर्भलाई ‘उनीहरू’ र ‘हामीहरू’ मा विभाजन गरेका छन्, यो राजनीतिक इमानदारी होइन, यो यथार्थको सामना गर्न नसक्ने भगुवा प्रवृत्ति हो । सँगै हुँदाका हरेक कामकारवाही पार्टीका निर्णयहरू ‘हामी’ सित सम्बद्ध हुन्छन् । यहाँ हामीहरू कोही पनि पानीमाथिको ओभानो हुने स्थिति छैन । पानीमा चोबलिएर मेरो जीउमा पानी परेन भनेर टकटकिनु भनेको हाँस्यास्पद कुरा मात्र हो । आफ्नो हिस्साबाट हामी भाग्ने स्थिति हुँदैन ।

नेकपा (माआवादी) को निर्माणदेखि यता पार्टीभित्र देखिने र नदेखिने, आन्तरिक र बाह्य थुप्रै घटनासन्दर्भहरू छन् । जनयुद्धकै सन्दर्भमा पनि माथिल्लो तहमा रहेकाहरूका अनुभव, अनुभूति र भोगाइ र तलका कार्यकर्ताको भोगाइमा भिन्नता हुनु स्वाभाविक छ । कमरेड किरणहरूले आफ्नो पार्टी जीवन र भोगाइ लेखेमा सायद एउटा महाग्रन्थ नै तयार हुन्छ होला । उहाँसित पुष्पलाल, भक्तबहादुर श्रेष्ठ, मोहनविक्रम, प्रचण्ड, बादल र विप्लव सबैसित काम गर्दाको व्यावहारिक अनुभवका साथै वैचारिक सङ्घर्षको इतिहास छ ।

अहिले फर्केर हेर्दा थुप्रै कुराहरू सतहमा आउँछन् । कतिपय कुराहरू अहिले आएर खुलेका छन् । यस्तो पो रहेछ, हामीलाई पनि अन्धकारमा राखिएको रहेछ भन्ने लाग्छ । माओवादी पार्टी  निर्माण कसरी भयो र जनयुद्धको तयारीको बैठकमा प्रचण्डको नेतृत्वको केन्द्रीकरणका कुरा कसले कसरी उठायो भन्ने कुरा पहिले नै आएका कुराहरू हुन् । ‘चौथो विस्तारित बैठक’ सित सम्बन्ध कुरा पनि ‘जनादेश’ र ‘जानआह्वान’ मा त्यतिबेर नै छताछुल्ल भएका हुन् । यसको विस्तृत विवरण नेपाली जनयुद्ध  पुस्तकले ल्याएको छ । पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा पारित गरिएका कतिपय प्रस्तापनाहरू ‘प्रचण्डपथ’ र ‘एक्काइसौँ शताब्दीको जनवाद’ जस्ता निर्णयहरू मिहिन पाराले विचलनतर्फका पाइला थिए । इतिहासको अनुभवबाट सिक्ने नाममा जनयुद्धलाई गलत दिशा दिने काम सारतः यहीँबाट भएको हो । बहसको थालनी यही बिन्दुबाट हुनु पर्छ । ‘प्रचण्डपथ’ ले प्रचण्डलाई माओको हाराहारीमा उभ्याउन खोज्यो, अति श्रद्धावाद र देवत्वकरणमा चुलियो ।  प्रचण्डको फोटो माओसँगै राखियो । यस्ता थुप्रै कुराहरू जोडिएर परिणाममा आएको थियो चुनवाङ बैठक । चुनवाङ बैठकको परिणाम थियो १२ बुँदे सहमति र लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता । चुनवाङ बैठकमा कमरेड किरण र गौरवको उपस्थिति नभए पनि पार्टीभित्र मिहिन पाराले विकसित हुँदै गएको विचलनको  शृङ्खलाकै परिणाम थियो  चुनवाङ बैठक । चुनवाङ बैठकका निर्णयहरूले विचलनको गुणात्मक स्तरलाई प्रतिनिधित्व गर्छन् । यो मोडमा को कसरी उभियो भन्ने कुराले अहम् महत्व राख्छ । ”चुनवाङ बैठक जिन्दावाद !”  भन्नेले क्रान्तिकारी हुनुको डिङ हाँक्नुको अर्थ छैन ।

प्रचण्ड-बाबुरामले योजनाबद्ध ढङ्गले अघि सारेको ”पछि फर्काइको योजना” लाई  विदेशी भाइचारा पार्टीहरूले समयमै बुझेर हामीलाई सचेत र सतर्क गराएका हुन्  । पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरूदेखि नै उनीहरूले प्रश्न उठाएका थिए । तर हाम्रो पार्टीका माथिल्ला नेताहरूले यसलाई गम्भीरतापूर्वक लिएनन् । तलका नेताकार्यकर्ताहरू युद्ध क्षेत्रमै व्यस्त रहे । पछिल्ला दिनमा त एउटा निर्णय तल पुग्न पाएको छैन, अर्को निर्णय आइपुग्थ्यो—सबै कुरा ”तीव्रतामा”  । बीचमा रहेका नेताहरू माथिल्ला तहका नेताहरूलाई खुसी पारेर पदोन्नतिको हिसाबकिताब मिलाउनतिर लागे । युवाहरूलाई स्थान र महत्व दिने, उनीहरूलाई  नेतृत्व तहमा अघि बढाउने  भन्दै हरेक गलत निर्णयहरू तिनै “युवा नेताहरू” लाई साक्षी राखेर प्रचण्ड-बाबुरामले गरे । दोस्रो राष्ट्रिय सम्मेलनबाट  कमरेड किरणलाई पार्टी हेडक्वाटरबाट हुत्याइयो, कमरेड गौरवलाई सम्मेलनमै अपमान गरियो र प्रचण्ड-बाबुरामहरू प्राधिकारपूर्ण  सर्वेसर्वा  भए ।  अनि  नेतृत्त्वले “हामीलाई महत्व दियो ”  भन्दै “युवा नेताहरू” प्रचण्डको हनुमान चालिसा लेख्नमा प्रतिस्पर्धा गर्न थाले ।

त्यतिबेर सबै ‘हामी’ थिए र थियौँ  । किरण र गौरवलाई महत्वपूर्ण जिम्मेवारी र भूमिकाबाट क्रमिक रूपमा पर सार्ने, बाबुरामलाई काखमा राख्ने र युवा नेताहरूलाई लौरो दिएर मन नपरेकाहरूलाई  कुट्न लगाउने काम दोस्रो राष्ट्रिय सम्मेलनको सेरोफेरोबाट  भएको हो । यो सबै “जडसुत्रीय संशोधनवाद” को विरोध गर्ने र क्रान्तिलाई अघि बढाउने नाममा भएको  थियो । सारमा मूल प्रहार कमरेड किरणमाथि नै थियो । यथार्थतः पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन विचलनको छद्म मोड थियो ।  क्षमता र योग्यता नपुगे पनि, सैद्धान्तिक स्तर नउक्सेको भए पनि खास क्षेत्रका नाममा, खास मोर्चाका नाममा रातारात, सिसिएम र पिबिएम हुनुको  उत्साहमा एक थरीहरू “युवा नेताहरू” रमाउँदै प्रचण्डको वरिपरि फन्का मार्न थाले । यो पनि जनयुद्धसित जोडिएको यथार्थ हो । प्रचण्ड-बाबुराम ‘महापतन’ को स्थितिमा पुगेको कुरामा कुनै विवाद छैन ।  तर, महापतनको यो शृङ्खलामा हामी कहाँनेर उभियौँ, कसको भूमिका के-कस्तो रह्यो भन्ने प्रश्नले पनि अहम् महत्व राख्दछ । फोहोर आहालमा डुबेर कसैले पनि आफूले ‘गङ्गास्नान’ मात्र गरेको भनेर शब्दजाल नबुने हुन्छ ।

‘महापतन’ मा सबैजसो क्षेत्र समेटेर लेखहरू राखिएका छन् ।  तर कतिपय लेखहरू सारै हलुका खालका छन् । उदाहरणका रूपमा पुस्तकका पृ. २१३ पछिका लेखहरूलाई लिन सकिन्छ । यस पुस्तकका दुइटा लेख ‘अन्तर्सङ्घर्ष र दुई लाइन सङ्घर्षको प्रश्न’ र ‘प्रचण्डका विचलनकारी कदमहरू’ अरू लेखका तुलनामा केही उल्लेख्य लेखहरू हुन् । एक हिसाबले यो पुस्तकको समग्र सार यी नै दुई लेखमा सङ्केन्द्रित छ भन्दा पनि हुन्छ ।

‘अन्तर्सङ्घर्ष र दुई लाइन सङ्घर्षको प्रश्न’ शीर्षकले नै केही प्रश्न उठाउँछ । विप्लव समूहले आठौँ महाधिवेशनपछि पार्टीभित्र दुई लाइन सङ्घर्ष नहुने निर्णय गरेर दार्शनिक तहमा मालेमावादी अझ माओले जोड दिनुभएको दुईलाइन सङ्घर्षको मान्यतालाई परित्याग गरेको छ । यसबारे कमरेड किरण र म स्वयंले  पनि लेखिसकेको हुँदा र अहिलेको सन्दर्भ फरक रहेकाले यसको चर्चा गर्नु आवश्यक छैन । विप्लवले चारवटा सङ्घर्षको कुरा गरेका छन् : ‘प्रचण्ड-बाबुरामबीचको सङ्घर्ष’, ‘प्रचण्ड र बादलबीचको सङ्घर्ष’, ‘प्रचण्ड र किरणबीचको सङ्घर्ष’ र ‘प्रचण्ड र आलोकबीचको सङ्घर्ष’ । यो सङ्घर्ष व्यक्तिव्यक्ति बीचको सङ्घर्ष हो अथवा विचारको भन्ने प्रश्न नै महत्त्वपूर्ण प्रश्न हो ।  दुई लाइन तथा अन्तर्संङ्घर्ष व्यक्तिका निजी मामिलामा नभएर ,  विचारमा हुन्छ । समाजमा विभिन्न वर्गको उपस्थिति हुन्छ र यसो हेर्दा साथै निजी मामिला जस्तो लागे पनि  पनि त्यसलाई व्यक्तिमा निहित विचारले नियन्त्रित र निर्देशित गरिरहेको हुन्छ । वैचारिक-राजनीतिक दृष्टिले माओवादी पार्टीभित्र क्रान्तिकारी, मध्यपन्थी र संशोधनवादी प्रवृत्ति देखिन्थे र लडाइँ यसैमा हुन्थ्यो । यो अन्तर्विरोध विचारको अन्तर्विरोध हो र सारतः क्रान्तिकारी र संशोधनवादी प्रवृत्तिबीचको अन्तर्विरोध हो ।

सङ्घर्षका सन्दर्भमा आलोकको सन्दर्भ पनि जोडिएको छ । यो जटिल प्रश्न हो । हरेक युवालाई उकास्तै आफ्नो स्वार्थका लागि प्रयोग गर्ने पात्र हुन् प्रचण्ड ।  प्रचण्डले आलोकमा रहेको क्रान्तिकारी स्पिरिट र जुझारुपनलाई आफ्ना विरोधीका विरुद्ध प्रयोग गरे । उनले बाबुराम र कमरेड गौरव विरुद्ध पनि आलोकको प्रयोग गरे । आलोकका कारण बाबुरामसित सम्बन्ध बिग्रिन थालेपछि उनले  आलोकको लगाम खिच्न खोजे र निसाना कमरेड किरणतिर सोझ्याए ।   आलोक प्रचण्ड स्वयंका लागि चुनौती बन्ने देखेपछि उनलाई अनेक चाल गरेर  सिध्याइयो ।  आलोकको बारेमा थप अध्ययन आवश्यक छ । कमरेड शेरमान त सहिद हुनुभयो, तर त्यसबेला उपत्यकाको पार्टी र  मोर्चामा जिम्मेवारी लिएका कमरेड दिनेश शर्मा, महेश्वर दाहाल र ऋषिराज बराल यसका भुक्तभोगी छन् । प्रचण्ड-बाबुराम र रवीन्द्रका दृष्टिमा आलोकसित जोडिनु हाम्रो ठूलो अपराध थियो । यी सबै सन्दर्भ र अनुभव नसमेटी आलोक-प्रकरणको सही अभिलेख तयार हुन सक्तैन । उनी रोल्पाको उवामाथिको श्रीनगर भन्ने ठाउँमा शाही सेनाद्वारा मारिए भन्ने गरिएको छ (उनको हत्या विवाद र रहस्यको विषय बनेको छ ) ।   यथार्थमा उनका मूल हत्यारा प्रचण्ड  हुन् । आलोकका केही कमजोरी थिए, तर उनमा रहेको क्रान्तिप्रतिको स्पिरिट र क्षमतालाई सही दिशा नदिएर उनलाई सिध्याइयो । आलोकभन्दा ‘महाआलोकहरू’ त्यतिबेर पनि प्रचण्डको वरिपरि फन्का मारिरहेका थिए र अहिले पनि फन्का मारिरहेका छन् ।

सरसरती हेर्दा बाबुराम र प्रचण्ड  भिन्न लागे पनि दुवै  एउटै  मानसिकता र प्रवृत्तिका उपज हुन् । दुवै व्यक्तिवादी प्रवृत्तिका र  आफूलाई केन्द्रमा राखेर पार्टीमा भूमिका  खोज्ने व्यक्ति हुन् । प्रचण्ड जालीझेली, षड्यन्त्रकारी, सामन्ती र खुराफाती मनोवृत्तिका पात्र हुन् भने बाबुराम भारतीय विस्तारवादद्वारा निर्देशित तीव्र महत्वाकाङ्क्षी व्यक्तिवादी र माओवादका नाममा ‘सोसल डेमोक्रेसी’ प्रति प्रतिबद्ध पात्र हुन् । प्रचण्ड र बाबुरामबीचको लडाइँ रूपमा फरक, सारमा एउटै खाले प्रवृत्तिबीचको लडाइँ थियो र हो ।

दुई लाइन सङ्घर्षका कुरा विप्लवले उठाए पनि उनको लेखले समग्र पक्षलाई समेटेको छैन, थुप्रै कुराहरू त्यसमा छुटेका छन्  । वास्तवमा ‘अन्तर्सङ्घर्ष र दुई लाइन सङ्घर्षको प्रश्न’ र  ‘प्रचण्डका विचलनकारी कदमहरू’ लाई  जोडेपछि मात्र विषयवस्तुले पूर्णता पाउँछ ।

पार्टीमा विचलनका स्वरूपहरूको चर्चा गर्दा ‘नेतृत्वको केन्द्रीकरण’ बाट आरम्भ गर्नुपर्छ भन्ने पनि कतिपयको भनाइ छ । वास्तवमा क्रान्तिको विशिष्ट चरणमा त्यसमा पनि दुस्मनले चोतर्फी रूपमा आक्रमण गरिहेको समयमा नेतृत्वको केन्द्रीकरण आवश्यक छ र हुन्छ । तर नेतृत्वको केन्द्रीकरण भनेको विश्वास र जिम्मेवारीको केन्द्रीकरण हो र यो सामूहिकताको नेतृत्वमार्फत हुने अभिव्यक्ति हो । यो व्यक्तिवादको प्रतिबिम्बन हुन सक्तैन  र खास व्यक्तिलाई तानाशाह हुन दिइएको छुट पनि होइन । खास अवस्थामा केन्द्रीकरण आवश्यक छ र यसमा नेतृत्वको परख पनि हुन्छ । तर, जनयुद्ध अघि बढ्दै गएपछि नेतृत्वलाई स्थापित गर्ने भन्ने नाममा प्रचण्डलाई देवत्वकरण गर्ने, अति श्रद्धावाद र अन्धभक्ततामा प्रस्तुत  गर्ने, एक हिसाबले माओ नै ठान्ने किसिमका गलत कामहरू भए । यसले पार्टीमा व्यक्तिवादी प्रवृत्ति र एकमनावादी प्रवृत्तिको विकास भयो ।  पार्टीभित्र सामन्तवादी चिन्तनले  तलदेखि माथिसम्म मौलाउने अवसर पायो  ।

विचलनको अर्को रूप प्रचण्डपथ थियो । कुन सन्दर्भमा यो प्रस्ताव कसरी आयो अथवा कसले प्रस्ताव राख्यो भन्ने  कुरा प्रधान होइन ।  राष्ट्रिय सम्मेलनले पास गरेका हुनाले यसमा सबै बराबर जिम्मेवार छन्  र छौं  । सबैलाई थाहा छ कमरेड भक्तबहादुर श्रेष्ठलगायत थुप्रैको यसमा असमति थियो । कमरेड गौरवबाट त असहमति जाहेर हुने किसिमले लेख नै आएको थियो । सांस्कृतिक मोर्चाले  करिब एक वर्षसम्म यसबारे लेखेन  । यसलाई लिएर भाइचारा पार्टीहरूले गम्भीर प्रश्न  उठाए । यसमा पनि हामीले इतिहासबाट  शिक्षा लिएनौँ । वास्तवमा यो निकै ठूलो गल्ती थियो । यसमा बाबुरामले यसो गरे, बादलले यसो भने, यसरी उनीहरू एक-अर्काको स्वार्थ मिलेर एक ठाउँमा आए भन्ने कुरा भन्दा पनि यो सम्मेलनले गरेको निर्णय हो र यसलाई ‘प्रचण्डका विचलनकारी कदमहरू’ भनेर निरपेक्ष रूपमा प्रचण्डसित जोड्नुको अर्थ छैन । यी सबै हाम्रा विचलनकारी निर्णयहरू  हुन् ।

यही कुरा २१ औँ शताब्दीको जनवादका सन्दर्भमा पनि भन्न सकिन्छ । वास्तवमा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्वाल बनाउँदै पसेको संशोधनवादले ‘२१ औँ शताब्दीको जनवाद’ मा पुग्दा निकै ठूलो प्वाल पारेको थियो र कमरेड किरण, कमरेड गौरव अनि पटनामा अन्य कमरेडहरू पक्राउ गराउँदै रुकुमको भेडेडाँडा (मगर उच्चारणमा भेरेडाँडा) मा एउटा कलाहीन नाटक मञ्चन भएको थियो ।  ‘चुनवाङ बैठक’ नामले चर्चित यो नाटकमार्फत पतनका सबै तारतम्य मिलाइएको थियो । त्यसपछि नै १२ बुँदे सहमति बनेको थियो ।  यी पनि प्रचण्डका व्यक्तिगत कदम होइनन्, पार्टीका, तपाईं-हाम्रा विचलनकारी कदम हुन् । ‘रोल्पा’ ले समर्थनमा हात उठाएपछि सबै कदमहरू अनुमोदित हुन्थे  । रुकुमेली नेताहरूले अलिअलि असन्तुष्टि देखाएको भनिए पनि त्यो खुलेर र योजनाबद्ध किसिमले बाहिर आएन । पुरस्कृत र पदोन्नतिमा परेकाहरूले त झन् यसको विरोध गर्ने कुरै भएन ।  खासखास पात्रहरूबाहेक अरूहरू ‘चुनवाङ बैठकको स्पिरिटअनुसार एक तह तल झर्ने भनियो’  । यो पनि षड्यन्त्र नै थियो । तर, टोपबहादुर रायमाझी र विप्लव भने पदोन्नति हुनेमा परेका थिए—आआफ्ना कोटाबाट  । विप्लवको पुस्तकमा यसबारे पनि केही टिपोट पाइंदैन ।

चुनवाङ बैठक दार्शनिक, वैचारिक र राजनीतिक हरेक क्षेत्रमा विचलनको गुणात्मक स्वरूप थियो । यताका दिनमा सबै क्रान्तिकारीहरूले यो यथार्थलाई आत्मसात गरेर चुनवाङ बैठकका निर्णयहरू गलत थिए भन्ने निष्कर्ष निकालेका छन् । तर विप्लवले यसलाई सही भनेका छन् । नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गरेपछिको दाङ भेलाको दस्ताबेज तथा आठौँ महाधिवेशनको दस्ताबेजमा पनि चुनवाङ बैठकको विरोध गरिएको पाइंदैन । यसबारे व्यापक रूपमा प्रश्न उठेपछि भने उनी अहिले खुलेर आएका छन् । अक्सर गरेर चुनवाङ बैठक र विचलनको कुरा आउँदा  विप्लव उत्तेजित हुने गर्छन् । त्यसो त उनी कसैले उनको आलोचना गर्यो  भने एकदमै  उत्तेजित भएर भाषाको अनुशासन पनि बिर्सेर बर्बराउन थाल्छन् । “ऋषिराज बराल भनेको जनताको भात खाएर जनताको विरोध गर्ने लेखक हो” भनेर उनले आफ्ना सेनामेनालाई आठौँ महाधिवेशनमा प्रशिक्षण दिएको कुरा सार्वजनिक भैसकेको कुरा हो । ‘महापतन’ भित्र रहेको  ‘प्रचण्डका विचलनकारी कदमहरू’ शीर्षक लेखमा उनले यसै प्रवृत्तिको पुनरावृत्ति गरेका छन् । उनी भन्छन्  “चुनवाङको कार्यनीति दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको संविधानसभाको कार्यनीति हो । मूल पक्ष भनेको दोस्रो राष्ट्रिय सम्मेलनको संविधानसभाको  कार्यनीति नै हो । किरणले चुनवाङलाई बढी जोड दिनु भनेको आफ्नो लुतो अर्कोलाई सार्ने व्यर्थको अवसरवाद मात्र हो । ” यो क्रान्तिकारीहरूले बोल्ने भाषा र विचार होइन, विश्लेषणको तरिका पनि होइन, उत्तरको तरिका पनि यो होइन । यो प्रचण्ड-बाबुराम त्यसमा पनि बाबुरामले बोल्दैआएको  भाषा र  विचार हो । त्यतिखेर केही अन्योल भए पनि अब  सबै कुरा प्रस्ट भएका छन् ।  विप्लवले कमरेड किरणलाई “ आफ्नो लुतो अर्कोलाई सार्ने व्यर्थको अवसरवाद” भनेका छन् । यही कुरा यस पुस्तकका सम्बन्धमा उनका बारेमा पनि भन्न सकिन्छ ।  वास्तवमा चुनवाङ बैठकका निर्णयहरू सही थिए भन्नेहरू रूपमा वाम र सारमा दक्षिणपन्थी नै हुन् ।  चुनवाङ बैठकको  आलोचना नगर्नेलाई प्रचण्ड-बाबुरामलाई  महापतनको विशेषण दिने नैतिक अधिकार पनि छैन । यो त उपल्लो दर्जाको अवसरवाद हो ।

पुस्तकले केही महत्वपूर्ण कुराहरूको सूचना दिएको छ ।  भाकपा (माओवादी) सित सम्बद्ध कमरेडहरूको कामीडाँडा बैठकमा भएको भेटघाटको फोटो र टेप सबै भारतीय दुस्मनसम्म  पुगेको कुरा पुस्तकमा उल्लेख छ । यसै घटनापछि भारतमा कमरेडहरू पक्राउ परेको र हत्याको शृङ्खला चलेको थियो । यो भाइचारा पार्टीहरूप्रति ठूलो गद्दारी थियो । त्यो फोटो र टेप प्रचण्ड र बाबुरामसित मात्र थियो भनेपछि कोबाट र कसरी गयो भनेर धेरै खोतलखाताल पार्नु  आवश्यक छैन । यो पनि प्रचण्ड-बाबुरामको महाअपराधको अर्को उदाहरण हो ।

देशीविदेशी प्रतिक्रियावादी गठबन्धनले एकैचोटि दरवार र माओवादी शक्तिलाई  दुवैलाई सिध्याएको प्रसङ्गप्रति विप्लवको  टिप्पणी सान्दर्भिक र सारगर्भित छ । उनी लेख्छन् : सत्तायुद्धमा मुख्य भूमिका पूरा नगरेको संसदवादी तत्वहरूको हातमा गयो  ।  राजतन्त्र पछि हटेपछि उसको सत्ता त गयो नै, सँगै जनयुद्धद्वारा रगतको मूल्यमा स्थापना भएको जनताको सत्ता पनि समाप्त गरियो । यो वास्तवमै एक अभूतपूर्व राजनीतिक परिणाम थियो ।”

सही हो, यो बडो नाटकीय ढङ्गको परिणाम थियो ।

संश्लेषण

‘महापतन’ को संश्लेषण गर्दा मूलरूपमा  चारओटा कुरा अगाडि आउँछन् : जनयुद्ध र प्रचण्ड बाबुरामको भूमिका, कमरेड किरणको सन्दर्भ,  विप्लव उभिएको ठाउँ र गन्तव्य ।

१. प्रचण्ड-बाबुराम  सम्बद्ध घटनासन्दर्भहरू आन्दोलनका लागि शिक्षा  भएका  छन् । विश्वभरि नै कम्युनिस्ट आन्दोलनले धक्का खाएको अवस्था र उत्तरआधुनिकतावादलाई अघि सारेर साम्राज्यवादी शक्तिहरूले मार्क्सवाद र समाजवादको अन्त्यको घोषणा अभियान चलाइरहेको अवस्थामा नेपालमा चलेको जनयुद्धले विश्वभरिका उत्पीडित राष्ट्र र जनतामा जुन किसिमको आशा र विश्वासको ऊर्जा  दिएको थियो, त्यो साँच्चिकै ऐतिहासिक र गरिमामय थियो । प्रचण्डहरूको गद्दारी र जनयुद्धको विसर्जनले नेपाललाई मात्र नभएर विश्वकम्युनिस्ट आन्दोलनलाई पनि निकै ठूलो नोक्सान पुर्यायो  । जनयुद्धले उचाइ प्राप्त गर्दै जाँदा विस्तारवादी र साम्राज्यवादी शक्तिसित मिलेर प्रचण्ड-बाबुरामहरूले जसरी जनयुद्धको विसर्जन गरे, त्यो महाअपराध  थियो । उनीहरूको गद्दारी र नवप्रतिक्रियावादमा पुग्नुको प्रक्रिया घृणित पतनको नयाँ नमुना हो । युद्ध नै नहारी उनीहरूले नेपाली जनतालाई जुन स्थितिमा पुर्याए, यो गद्दारी र पतनको पराकाष्ठा थियो ।

प्रचण्डको समग्र इतिहास, व्यवहार र जीवनशैली हेर्दा उनी घोर सामन्ती प्रवृत्तिका पात्रका रूपमा उभिन्छन् । जालीझेली, कुटिल, रकमी, षड्यन्त्रकारी र युद्धसरदारीय मानसिकता बोकेका पात्र हुन् प्रचण्ड  । आफूले भनेअनुसार नचले भौतिकरूपमै सिध्याउन पनि पछि नपर्ने खालका पात्रका रूपमा देखिन्छन् उनी । अहिले किरण-गौरवले सेक्टर कान्डपछि प्रचण्डलाई नेतृत्व दिनु गल्ती थियो भनेर स्वीकार गरे पनि इतिहासको निश्चित कालखण्डमा गरेको गल्तीको परिणाम थियो प्रचण्ड-बाबुरामहरूको उदय । अब पुर्पुरोमा हात राख्नेभन्दा पनि इतिहासबाट शिक्षा लिने कुरा प्रमुख रह्यो ।

भारतीय स्वार्थमा काम गर्ने भनिएका ऋषिकेश साहका प्रिय पात्र, आरम्भमा काङ्ग्रेस पार्टीका कार्यकर्ता बाबुराम विभिन्न क्रियाप्रतिक्रियापछि वाम आन्दोलनसित गाँसिएका थिए  । नेकपा (मशाल) ले मोहनविक्रममाथि कारवाही गरेपछि उनी मोहनविक्रमको मसालसित जोडिए । मोहनविक्रमको पार्टीमा कारबाहीमा परेपछि उनी २०४६ सालको आन्दोलनको हुलमुलमा  ह्वात्तै अगाडि आए । युवा र पढेलेखेको भनेर प्रचण्डकै तत्परतामा नेकपा (मशाल) का अनुभवी र जुझारु नेता र कार्यकर्तालाई बेवास्ता गर्दै बाबुरामलाई माथिमाथि पुर्याइयो—लुँडो खेलमा भर्यांग चढेर गोटी टाउकामा पुगेझैँ  । त्यतिबेर पनि गाइँगुइँ कुरा हुन्थ्यो । जनमोर्चा कालमा पनि उनको ‘लैनचौर’ सितको सम्बन्धका कुरा  हुन्थे । युद्धकालमा त भारतीय विस्तारवादसितको उनको सम्बन्ध सबैका सामु प्रस्ट भयो ।   वास्तवमा उनी निर्देशित पात्र नै रहेछन् । उनी जेका लागि आएका थिए, जेका लागि उनलाई माओवादी पार्टी र जनयुद्धको राजनीतिसित जोडिएको थियो, त्यो काम सम्पन्न गरेर, दिइएको जिम्मेवारी पूरा गरेर उनी गए । उनले यो काम एक्लै गरेनन्, प्रचण्डको साथ लिएर र विधिविधान मिलाएर गरे, यही नै उनको विशेषता रह्यो  । जनयुद्धको विसर्जन र माओवादी आन्दोलनलाई तहसनहस पार्ने जिम्मेवारी पूरा गरेपछि अहिले उनी मार्क्सवाद विरोधी बनेर  कहिले नेपाली कांग्रेस र कहिले विदेशी राजदूतावासको ढोका चाहर्दै हिंडेका छन् ।

वास्तवमा बाबुरामजस्तो चिन्तप्रवृत्तिको मान्छे कम्युनिस्ट हुनै सक्तैनथ्यो ।  त्यसमा पनि जनयुद्धको बलिदानको लाइनमा लामबद्ध हुने कुरै थिएन । उनी निर्देशित थिए । दम्स्याउने  र घुर्क्याउने गर्दै उनी गौरव, बादललगायतका कमरेडहरूलाई समेत हुत्याएर पार्टीको नीतिनिर्माणको पनि माथिल्लो तहमा पुगे । हुँदाहुँदा कमरेड किरणलाई समेत हुत्याउन सफल भए । भारतमा बसेर ‘र’ र  साउथ ब्लकका मान्छेसित चियापान गर्न पाउँदासम्म सबै ठीक भने र  जब जनयुद्धको भूगोलक्षेत्रमा जानुपर्ने अवस्था आयो उनले बबन्डर मच्चाए । उनी नेपालको कम्युनिस्ट आन्दोलनमा कुनै लगानी नभएका, तर वैदेशिक शक्तिको बलमा कमरेड किरण र कमरेड गौरवलाई समेत घचेँड्दै माथि पुगेका धुन्धुकारी हुन् । जे थिए, अन्त्यमा उनी सर्वाङ्ग नाङ्गो भए । वास्तवमा बाबुरामको पलायनतालाई पतन भन्नु भन्दा विदेशी शक्तिको निर्देशनमा नेपालको जनयुद्ध सिध्याउने महाअपराधीको संज्ञा दिनु  सही हुन्छ ।

यथार्थ कुरा के हो भने जनयुद्धलाई सकारात्मक रूपबाट अघि  बढाउने सन्दर्भमा बाबुरामको  कुनै पनि ठोस योगदान छैन । प्रयोजित किसिमले वैदेशिक शक्तिकेन्द्र र तिनबाट सञ्चालित सञ्चारमाध्यमहरूले उनलाई  महत्व दिएर प्रचारप्रसारमा ल्याएर  ठूलो नेता बनाएका मात्र हुन्  । जनयुद्ध विसजर्न गराउने कारक पक्षमा बाबुरामको भूमिका छ, तर सिङ्गो जनयुद्धको राजनीति र व्यवहारिक गतिशीलतामा उनको भूमिका छदैं छैन भने हुन्छ । उनले जिम्मा लिएको भूगोल क्षेत्रमा पनि पलायनता र आत्मसमर्पणका साथै नोक्सानी पनि धेरै भएको छ र आर्थिक पक्षमा पनि थुप्रै प्रश्न उठेको अवस्था हो ।

स्वतन्त्र खालका विदेशी लेखक तथा अनुसन्धानकर्ताहरूले मात्र नभएर नेपालको माओवादी आन्दोलनबारे लेख्ने कतिपयले बाबुरामलाई  प्रचण्डपछिका  नेता भनेर दोस्रो तहमा राखेको पाइन्छ । यो पनि योजनाबद्धताकै उपज हो । यथार्थमा उनी दोस्रा त के पाचौँ-छैटौँ नम्बरमा पनि नपर्ने नेता हुन् । विप्लवले पनि यस पुस्तकमा बाबुरामलाई अत्यधिक  महत्व दिएर प्रचण्डपछिका दोस्रा नेताको हैसियत दिएका छन् ।  उनले  बाबुरामलाई प्रचण्डकै हाराहारीमा  महत्व दिएर चर्चा गरेका छन्  । ‘महापतन’ भनेर विप्लवले  बाबुरामको भन्डाफोर गरेको जस्तो देखिए पनि यसले बाबुरामलाई अनावश्यक महत्व दिएको छ  । ‘महापतन’ का  रचनाहरू पढेपछि जनयुद्ध हाँक्ने त प्रचण्ड र बाबुराम मात्र रहेछन्,  यी नै पार्टीका सर्वोच्च रहेछन्, पार्टीमा अरूको भूमिका केही  रहेनछ, किरण, गौरव, बादल त नाम मात्रका नेता रहेछन्, यी दुइटाले चाहेपछि पार्टीमा जे पनि हुँदो रहेछ, पार्टी जता पनि जाँदो रहेछ भन्ने बुझिन्छ ।

विप्लवको उद्देश्य उनीहरूको राष्ट्रघाती- जनघाती कामकारबाहीलाई  उदाङ्गो पार्ने रहेको कुरामा विवाद छैन, तर जसरी बाबुराम हिजो क्रान्तिकारी थिए र अहिले पतन भए भनिएको छ, यो जनयुद्ध र बाबुरामको भूमिकासित मेल नखाने कुरा हो । वास्तवमा बाबुराम हिजो पनि क्रान्तिकारी थिएनन् ।  उनका हरेक लेख विवादास्पद र अन्तर्विरोधी चरित्रका र ‘काइते’ प्रवृत्तिका छन् । विप्लवले अंश टिपेर बाबुरामलाई क्रान्तिकारी बनाएका छन् । विप्लवको लेखाइले प्रचण्ड र बाबुराम नै जनयुद्धका  प्रमुख नेता हुन् भन्ने सन्देश दिने हुनाले यसले पाठकमा गलत सन्देश जान्छ र उल्टै प्रचण्ड-बाबुरामको भूमिकालाई जनयुद्धका उच्च नेताका रूपमा स्थापित गर्छ । बाबुराम नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न जनयुद्धमा सामेल भएका नै थिएनन्, उनी नुनको सोझो गर्न मात्र आएका थिए भन्ने कुरा समयले प्रस्ट पारिसकेको छ । सबै कुरा प्रस्ट हुँदाहुँदै पनि बाबुरामलाई त्यति सारो महत्व दिनुको अर्थ चाहिँ बुझी नसक्नु छ ।

२. ‘महापतन’ मा विप्लवले  जनयुद्धकाल र पछिको ‘शान्तिप्रक्रिया’ काल कतै पनि पार्टीका अनुभवी र वरिष्ठ नेता  कमरेड किरणलाई महत्व दिएका छैनन्, उल्टै किरणको भूमिकालाई न्यूनीकरण गरेका छन् । त्यति मात्र नभएर ‘महापतन’ मार्फत उनले किरणको दृष्टिकोण दक्षिणपन्थी संसदवादी प्रकृतिको भएकाले उनीबाट क्रान्तिको नेतृत्व पनि हुन सक्तैन र क्रान्ति सम्पन्न पनि हुन सक्तैन भन्ने सन्देश दिएका छन् । सिङ्गो पुस्तकमा उनले किरणप्रति नकारात्मक भाव नै सञ्चार गरेका छन्, किरणप्रति वितृष्णा जगाउन खोजेका छन् । खास गरेर चुनवाङ बैठकको सन्दर्भमा र यता प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछिको समयमा उनी कमरेड किरणप्रति निकै नै आक्रामक बनेका छन् । यो एउटा गम्भीर प्रश्न हो  ।

यो कुरा तलको भनाइबाट पनि थाहा हुन्छ ।  उनले लेखेका छन् :

किरणको नेतृत्वले वैचारिक-राजनीतिक धारको नेतृत्व गरे पनि क्रान्तिको ठोस तयारीसहितको नेतृत्व दिन सकेन । जुन आशा क्रान्तिबारे गरिएको थियो, त्यो संसदीय घेराभन्दा बाहिर जान नसक्ने देखापर्यो  । किरणलाई त्यहाँ तान्नेमा देव गुरुङ, पम्फा, हितमानहरू सक्रिय भए । यसको अर्थ हुन्थ्यो या चुनावबाट ठूलो पार्टी भएर सरकारमा भाग लिने मोहनविक्रमको धारजस्तो, या फर्किएर प्रचण्डसँगै जाने र भागबन्डा लगाएर संसदीय राजनीतिमै  दिन काट्ने । यसमा बादल तानिए । हामीले यो कुरा किरणलाई भन्यौँ पनि, तर किरणको दृष्टिकोण दक्षिणपन्थी संसदवादी प्रकृतिको देखेपछि हामीले किरणसँग विद्रोह गरेर पार्टी पुनर्गठन गर्यौं ।”

त्यस्तै अर्को ठाउँमा उनी लेख्छन् : “प्रचण्ड आफ्नो विचलनको पराकाष्ठामा पुगेर एमालेसँग एकता गरेर जीवन धान्नेमा पुगेका छन् भने किरण विचारको दृष्टिले क्रान्तिकारी धारमा बसे पनि कार्यनीतिका दृष्टिले टाउको संसदवादी उपयोगवादको दुलाभित्र घुसारिरहेका छन् ।”

अर्को ठाउँ लेख्छन् : “जुन नेतृत्वमा क्रान्तिप्रति आफ्नै आत्मविश्वास हुँदैन, त्यहाँ तीव्रता र गतिशीलता हुँदैन । यो समस्या किरण, गुरुङ सिपीहरूमा देखिन्थ्यो । सबैभन्दा लिच्चड त गुरुङ नै थिए ।”

त्यस्तै अर्का ठाउँमा  उनी लेख्छन् : “ भेलाबाट केन्दीय समिति र नेपाल कम्युनिस्ट पार्टी -माओवादी गठन भयो । किरण पार्टीको अध्यक्ष बने । पार्टीको अन्य नेतृत्व निर्माणमा भने किरण नै घोर अकर्मण्यताको सिकार बने, उनका रूढिवादी र अकमयण्र्यतावादी रोगमा पार्टीका अवसरवादीहरूले खेलेर विषयलाई गिजोलेका थिए र क्रान्तिकारीहरूलाई भेलाको सुरुमै दाँतमा ढुङ्गा लागेको महसुस भएको थियो ।”

किरणहरू भन्दा आफूहरू क्रान्तिकारी भएको जिकिर विप्लवले गरेका छन् र उनले आफ्नो समूह अलग्गै रहेको सङ्केत पनि गरेका छन् । यसबाट उनमा रहेको  व्यक्तिवाद र गुटबन्दीवादको जानकारी पाउन सकिन्छ  ।

चुनवाङ बैठकबारे माथि प्रस्ट पारिएको छ । विप्लव र उनका केही आसेपासेबाहेक माओवादी आन्दोलनभित्रका सबै क्रान्तिकारी नेता तथा कार्यकर्ताले चुनवाङ बैठकबाट नै  पार्टीले  विचलनको दिशा र गतिलाई गुणात्मक स्वरूप दियो र त्यहीँबाट पार्टीले देखिने गरी नै गलत मोड लियो भनेर संश्लेषण गरेका छन् । कमरेड किरणको यो विचारलाई विप्लवले “आफ्नो लुतो अर्कोलाई सार्ने व्यर्थको अवसरवाद” भनेका छन् । सत्य के हो भने, विप्लवले सिङ्गो जनयुद्ध कालभरि प्रचण्ड-बाबुरामकै धारामा आफूलाई उभ्याए । पछि ‘शान्तिप्रक्रिया’ मा आफूले खोजेजस्तो र चाहेजस्तो भूमिका नपाएपछि र प्रचण्डले वर्षमानलाई च्यापेपछि उनी प्रचण्डको विरोधी भए र बाबुरामतिर लहसिए । प्रचण्डसित सम्बन्ध विच्छेद पछि कमरेड किरणको नेतृत्वमा सामेल भए । उनले बौद्ध भेला र सातौँ महाधिवेशनमा के चाहेका थिए भन्ने कुरा पनि प्रस्ट थियो ।  ‘शान्तिप्रक्रिया’ मा सहर र काठमाडौँ प्रधान हुनु स्वाभाविक थियो । यहाँ विप्लव आउनुअघि वर्षमानले काठमाडौँमा कब्जा कायम गरिसकेका थिए । यसले विप्लवको अति महत्त्वाकांक्षी प्रवृत्ति र क्यरियारिस्ट चरित्रलाई ठेस पुर्याएको थियो । अन्तर्विरोधको जड यो पनि थियो ।

नारायणकाजीसितको एकता पार्टीको क्रान्तिकारी धारमाथिको अर्को प्रहार थियो । प्राविधिक र वैचारिक दुवै दृष्टिले पार्टीलाई कमजोर बनाएको थियो । त्यसै गरी प्रचण्डको एकमनावादका विरुद्ध लड्ने नाममा गोँगबु डिनर र  धोबीघाट अभियान अर्को महान् गल्ती थियो । त्यसमा कमरेड किरणलगायत हामी सबै चुकेकै हौँ । विचारले त सकिएकै थियो, सङ्गठनात्मक रूपबाट पनि सिद्धिने काम यहीँबाट आरम्भ भएको थियो । धोबीघाट प्रकरण पनि निर्देशित र प्रायोजित योजनाबद्धताको उपज थियो । विप्लव, सोनाम, हितमान पम्फाको डफ्फाको योजनाबद्धतामा कमरेड किरणलगायतका कमरेडहरू पनि पर्नु ठूलो  गल्ती थियो । ‘धोबीघाट प्रकरण’  विचार र दीर्घकालीन सोचाइ र बुझाइले भन्दा भावना, आक्रोस र आवेग र प्रतिशोधी भावनाद्वारा निर्देशित प्रकरण  थियो ।

माओवादी पार्टीको इतिहासमा “गोँगबु डिनर र धोबीघाट सन्दर्भ” ले विशेष अर्थ राख्दछन् । तर विप्लवजीको पुस्तकमा गोँगबु डिनर र धोबीघाटको सन्दर्भ छैन, पाइँदैन । सबैलाई थाहा छ, विप्लव नै ‘धोबीघाट प्रकरण’ को प्रमुख अभियन्ता थिए, जसमा बाबुरामजस्तो अपराधीलाई टाउकामा बोकिएको थियो । मा यसलाई महाभूल भन्छु । यो सिङ्गो माओवादी आन्दोलनलाई तहसनहस पार्ने योजनाबद्धताको उपज थियो । यसमा किरण कमरेधरूको ठूलो गल्ति भयो । ‘धोबीघाट प्रकरण’, बाबुरामसितको लसपस, पार्टीविभाजन यस्ता थुप्रै कुराहरू अझै रहस्यमा छन्, जसको खोतलखातल गर्नु आवश्यक छ । तर विप्लवको ‘महापतन’ यसबारे केही बोल्दैन । किन बोल्दैन, त्यो पनि प्रस्ट छ  ।

आफ्नै क्रियाशीलता समेतमा पार्टी विभाजन भएर बनेको नेकपा-माओवादीमा विप्लव विशेष भूमिका चाहन्थे  ।  सातौँ महाधिवेशनमा यो चाहना झन् तीव्र बनेको थियो । उनी भरिसक्के पार्टी कब्जा गर्ने, नसके  आफूले चाहेअनुसार पार्टी परिचालन गर्न चाहन्थे । आफूले चाहेअनुसारको  रीतिस्थिति नमिलेपछि अनेक बखेडा निकालेर अन्ततः पार्टीसित विप्लव समूहले सम्बन्ध विच्छेद गरेको कुरा सबैलाई थाहा छ । आफ्नो रहस्यमय सम्बन्ध विच्छेदलाई सैद्धान्तिक जामा पहिर्याएर अहिले उनले “ किरणको दृष्टिकोण दक्षिणपन्थी संसदवादी प्रकृतिको देखेपछि हामीले किरणसँग विद्रोह गरेर पार्टी पुनर्गठन गर्यौं”  भनेर लेखेका छन्  । यसमा इमान्दारीको सर्वथा अभाव छ । यो राजनीतिक बेइमानी हो  ।  अवश्य पनि प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछि मुलुकभित्रबाट मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रले पनि कमरेड किरणबाट नयाँ आशा गरेको थियो । त्यस किसिमको अवसर पनि थियो ।  वैचारिक-राजनीतिक दृष्टिले सही हुँदाहुँदै पनि, क्रान्तिप्रति विश्वास र दृढता हुँदाहुँदै पनि व्यवहारमा जान नसक्नु,  ‘सही मान्छे सही ठाउँ’ को सङ्गठनात्मक तारतम्य मिलाउन नसक्नु र उदारतावाद र कतिपय सन्दर्भमा पुच्छरवादमा फस्नु कमरेड किरणका कमजोरी रहे । तर विप्लवले  “ किरणको दृष्टिकोण दषिणपन्थी संसदवादी प्रकृतिको”, “किरणको दृष्टिकोणमा  क्षिणपन्थी संसदवादी प्रकृतिको रोग”, “विचारको दृष्टिले क्रान्तिकारी धारमा बसे पनि कार्यनीतिका दृष्टिले संसदवादी” भनेर  जसरी किरणको वैचारिक पक्षमा  प्रश्न उठाएका छन्,  यसमा पुर्वाग्रह र आक्रोसको मात्रा बढी छ ।

कमरेड किरण सबैका सामु उपस्थित हुनुहुन्छ, उहाँबाट यसबारे प्रस्ट्याउने काम होला नै । विप्लवको यस किसिमको लेखनले किरण र विप्लवबीचको दूरी बढाउने कुरा चाहिं  प्रस्ट छ  । कमरेड किरण नहुनु भएको भए जनयुद्ध दस वर्षसम्मको यात्रासम्म पुग्थ्यो  होला भन्ने मलाई लाग्दैन । पार्टीलाई संसदीय आहालमा पुर्याउनकै लागि अन्ततः कमरेड किरणलाई पक्राउ गर्नु/गराउनु परेको कुरा जगजाहेर छ । केही कमजोरी र सीमा रहे पनि अनुभव र विचारले खारिएको मोहन बैद्य ‘किरण’ को आवश्यकता नेपाली क्रान्तिलाई अपरिहार्य रूपमा छ र क्रान्ति चाहनेले वहाँलाई साझा सम्पति बनाउनु आवश्यक छ ।  विप्लवजीको अभिव्यक्तिमा तार्किकता भन्दा आक्रोस, आवेग, उपेक्षा र अहङ्कारको भाव बढी छ । यस अर्थमा ‘महापतन’ ले प्रचण्ड-बामुरामको पतनको टिपोट मात्र नगरेर   किरणप्रति  वितृष्णा जगाउने काम पनि गरेको छ  । यो  शुभसंकेत  होइन ।

३. कथावाचक विप्लव ‘महापतन’ बाहिरका पात्र होइनन् । उनले यो महापतनको आरम्भदेखि अन्तसम्म हेरेका छन्, देखेका छन् । ‘महापतन’ को पोखरीमा उनले पनि डुबुल्की मारेका छन् । उनी आरम्भदेखि नै निरन्तर पार्टीभित्रका ‘अन्तर्सङ्घर्ष र दुई लाइन सङ्घर्ष’ मा साक्षी मात्र नभएर सहभागी पनि छन् । सुदर्शनले ‘बाकुनिनको घोडा’ लेख्दा बाबुरामलाई खुसी पार्न प्रचण्डले सुदर्शनलाई हप्कीदप्की गरेकै हुन्  । पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनको सेरोफेरोमा लेखिएको कमरेड गौरवको रचना ‘जनादेश’ मा नछापिएर ‘महिमा’ मा छाप्नु परेको कुराको साक्षी हामी छौँ । चित्त नबुझ्नेहरू सबैले आआफनो ठाउँबाट आआफ्नो किसिमले बोलेकै हुन्  । भक्तबहादुर श्रेष्ठले “प्रचण्डपथ’ नमान्दा केकस्तो मानसिक तनाव भोगे भन्ने कुरा पनि हामीलाई थाहा छ । प्रचण्डले रोल्पालाई च्यापेर रुकुममाथि बन्चरो उज्याएकै हुन् । पार्टीभित्रको दुई लाइन सङ्घर्षमा विप्लव कुन ठाउँमा उभिए भन्ने कुराको साक्षी थुप्रै कमरेडहरू छन् । समयले सबैको कथागाथा बाहिर ल्याउला  । कसैले पनि अहिले पानीमाथिको ओभानो नबने हुन्छ ।

विप्लवले एउटा पत्रकारले लेखेजस्तो, आफू आन्दोलन भन्दा बाहिरको मान्छेको जस्तो पर्यवेक्षको शैलीमा जनयुद्ध र ‘पतन’ को इतिहासलाई जसरी लेखेका छन् यो शैली नै बेठीक छ । बैठकमा सहभागी भएर सहीछाप  पनि ठोक्ने, ताली पनि पिट्ने र अनि ‘उनीहरूले’ सबै थोक गरे भनेर आफू टकटकिने कुरा हुँदैन ।  समयले,   हामीले यहाँनेरी गल्ती गर्यौं,  हाम्रा कमजोरीहरू यस्तायस्ता रहे भनेर इमानदारीपूर्वक खुलासा गर्नुको माग गरेको छ । यत्रो ‘महापतन’ भित्र आत्मालोचना र आत्मसमीक्षाको एउटा पनि पन्ना  छैन  ।  यसो भएको भए पो मार्क्सवादी इमानदारी हुन्थ्यो ।‘महापतन’ ले  प्रचण्ड-बाबुराम महापतनमा गए मात्र भन्दैन  । यसले  किरण पनि संसदवादी धारमा गए, उनीबाट अब क्रान्ति हुँदैन, हामी चाहिँ जनयुद्धकाल देखिकै  क्रान्तिकारी हौँ, जे छौँ हामी मात्रै छौँ  भन्ने निष्कर्ष दिन खोजेको छ   ।  यो यथार्थसित मेल नखाने निष्कर्ष हो ।

‘महामपतन’ मा उनले “सशस्त्र क्रान्तिको तयारी गर्दैछौँ”, ”… नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा लड्ने जनमुक्ति सेना बन्दै गएको छ”,  भनेका छन् । उनको  यस किसिमको क्रान्तिकारी स्पिरिट र आशावादको स्वागत गर्नुपर्छ । परन्तु, लडाइँ आवेग, आक्रोस, कुण्ठा, प्रचारबाजी र गालीगलौजले लडिँदैन, सही विचार, सही कार्यदिशा, सही नीति, योजना र कार्यक्रमले लडाइँ लडिन्छ ।  जसरी यो संविधान नमान्दैमा सबै प्रगतिशील र क्रान्तिकारी हुँदैनन्, त्यसै गरी सशस्त्र क्रान्तिको कुरा गर्दैमा कोही पनि क्रान्तिकारी हुन सक्तैन ।  नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गरेर ‘एकीकृत क्रान्ति’ गर्ने भनेर घोषणा गरेदेखि नै “एकीकृत क्रान्ति कार्यदिशा हो या क्रान्तिको स्वरूप” भन्ने बारेमा प्रश्न उठेको हो । पछि विप्लव समूहको आठौँ महाधिवेशनले ‘उत्तर-साम्राज्यवाद’ अर्थात् साम्राज्यवादको अन्त्य भयो भन्ने धारणा अघि सार्यो  । क्रान्ति गर्छु भन्ने स्पिरिटको स्वागत गर्न सकिए पनि जोसित सही कार्यदिशा नै छैन, (यथार्थमा  ‘एकीकृत क्रान्ति’ कार्यदिशा नै होइन ।), जसले साम्राज्यवादको अन्त्यको घोषणा गर्छ, उसबाट हुने क्रान्ति, अझ सशस्त्र क्रान्तिको स्वरूपका  बारेमा प्रस्न उठ्नु स्वाभाविक छ । ‘महापतन’ मा प्रचण्ड-बाबुरामप्रति आक्रोस छ, पीडा छ,  क्रान्तिको चिन्ता पनि छ, तर  चिन्तन पक्षको अभाव छ, जे-जति छ, त्यो पनि एकदमै कमजोर छ । यही नै हो ‘महापतन’ । प्रचण्ड-बाबुरामप्रति आक्रोस, किरणप्रति उपेक्षाभाव र आफू दिशाविहीन, यही हो ‘महापतन’ । यसले त उल्टै निराशा र शून्यताबोधतिर प्रवृत्त गराउँछ  ।

यो पुस्तकले कतै पनि खुला हृदयले आत्मालोचनाको स्पिरिट देखाउँदैन र क्रान्तिकारीहरूबीचको एकताबद्धताप्रति पनि बोल्दैन । एक हिसाबले यसले क्रान्तिकारीहरूको अस्तित्वलाई नै स्वीकारेको छैन । आफूलाई श्रेष्ठ साबित गर्न कमरेड किरणमाथि जसरी संशोधनवादी, संसदवादी र अवसरवादी बिल्ला भिराइएको छ, यसले पुस्तकको सान्दर्भिकता र उदेश्यमाथि नै प्रश्न उठेको छ  ।  साथै  यसले नेकपाका महासचिव विप्लवको आकार, आयतन र उचाइको पनि राम्रो जानकारी दिएको छ । ‘महापतन’ बाट विप्लव उभिएको धरातलको पनि राम्रो जानकारी मिल्छ । यो पनि ‘महापतन’ को विशेषता हो ।

४. हामीले जनयुद्धका यात्रामा निकै ठूलो इतिहास रच्यौँ, नेपालजस्तो सानो मुलुकबाट विश्वलाई नयाँ र उदाहरणीय सन्देश दिन सकिन्छ भन्ने दृष्टान्त  प्रस्तुत गर्यौं ।  तर  जनयुद्धका प्राप्तिको रक्षा गर्न सकेनौँ । हाम्रो सबैभन्दा ठूलो भूल, गल्ति यही नै भयो । उपलब्धि  र  विसर्जन दुवैमा सहभागी भएर हामी साक्षी किनाराका सदर मात्र  भयोँ । यस अर्थमा प्रचण्ड-बाबुरामको महाअपराधको हामी पनि अंशियार हौँ ।   प्रचण्ड-बाबुरामको नियत र प्रवृत्तिलाई समयमै बुझ्न नसक्नु र बुझेर पनि समयमै कदम नचाल्नु हाम्रो ठूलो गल्ती भयो । सत्य यही हो । हैसियत र जिम्मेवारीअनुसार हामी सबै यसको भागिदार छौँ ।  यस अर्थमा हामी सबै आत्मसमीक्षा र आत्मालोचनाको कठघरामा उभिएका छौं , यो र त्यो भन्ने कुरा छैन ।

अमुकअमुक पतन भए, अमुक अवसरवादी र संसदवादी र हामी मात्रै क्रान्तिकारी भनेर घोषणा गर्न गारो छैन, भनिदिनु न हो  । माटोको  ढिस्कोमा उभिएर म सगरमाथाको चुचुरोमा उभिएको छु भन्ने स्वतन्त्रता सबैलाई छ । हावाहुरी चलेको बेला रुखमा बसेको फिस्टोले ओहो, मेलै कसरी रुख हल्लाएँ भनेर फर्याकफुरुक गर्न सक्छ, यो पनि उसको खुसीको कुरा हो  ।  तर  सत्य त यो  होइन । कसैले पनि अनुहार लुकाउन नखोजे हुन्छ, ‘महापतन’ भित्र सबैको अनुहार  झलझली देखिन्छ, खुलस्त । प्रचण्ड-बाबुरामको ‘महापतन’ बाट शिक्षा लिने हो भने अहम्, अहङ्कार र एक्लेवीर प्रवृत्ति त्यागेर हामी आफैँले पहिले आफू उभिएको धरातल नियाल्नु आवश्यक छ ।

जनदिशाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here