देशमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको दुई महिना बित्न लाग्दा पनि अझै नयाँ सरकारको गठन हुन नसक्नु विडम्बनापूर्ण स्थिति हो । जनादेश गुमाई सकेको कामचलाउ देउवा सरकार आफ्नो हैसियत बिर्सिएर दीर्घकालीन असर पार्ने खालका निर्णयहरु गर्दै अघि बढी रहेको छ । नयाँ सरकार गठनको जनादेश पाएको एमाले–माओवादी केन्द्र सहितको “वाम” गठबन्धनले देउवा सरकारका स्वेच्छाचारी निर्णयहरुलाई लगाम लगाउन जुन प्रकारले प्रभावकारी कदम उठाउनु पर्ने हो, त्यसरी अघि बढ्न सकी रहेको छैन । ‘वाम’ गठबन्धनले आफूलाई झनै दरिलो, कसिलो र भरोसायोग्य शक्तिका रूपमा अघि बढाउनु अति आवश्यक देखिन्छ ।
‘वाम’ गठबन्धनलाई जनताले निश्चित आशा र विश्वासका साथ निर्वाचनमा नयाँ सरकार गठनको अभिमत दिएका हुन् । ‘वाम’ गठबन्धनका दलहरुले यो तथ्यलाई बिर्सनु हुँदैन कि राष्ट्रियताको रक्षा गर्दै देशको स्वाधीनता र स्वाभिमानलाई उचो राख्न तुलनात्मक रूपले भरोसायोग्य शक्तिका रूपमा जनताले ‘वाम’ गठबन्धनलाई छानेका हुन् । गणतन्त्र र धर्म निरपेक्षता लगायतका संविधानका उपलब्धिहरु नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धनले निर्वाचनमा बहुमत हासिल गरेमा जोगिन सक्ने छैनन् भनेर नै जनताले निर्वाचनमा ‘वाम’ गठबन्धनलाई नयाँ सरकार गठनको म्यान्डेट दिएका हुन् । संविधानमा देशलाई ‘समाजवाद उन्मुख’ राष्ट्र भनेर जसरी उल्लेख गरिएको छ, त्यो दिशामा देशलाई अघि बढाउनका लागि केही मात्रामा भए पनि ‘वाम’ गठबन्धनले आधार तयार गर्न सक्ने छ भनेर नै जनताले ‘वाम’ गठबन्धनप्रति विश्वास गरेका हुन् । एमाले र माओवादी केन्द्रले निर्वाचनपछि पार्टी एकता गर्ने घोषणाका साथ जुन ‘वाम’ गठबन्धनको निर्माण गरे, त्यसबाट देशले स्थिर सरकार पाउने आशाका साथ नै जनताले ‘वाम’ गठबन्धनका पक्षमा भोट दिएका हुन् । एमाले र माओवादी–केन्द्रले जनताको त्यो आशा र विश्वासलाई ध्यानमा राखेर अघि बढ्नु जरुरी छ ।
‘वाम’ गठबन्धनलाई अझै कसिलो, दरिलो र भरोसायोग्य बनाउन जसरी खुल्ला हृदयका साथ अघि बढ्नु पर्ने आवश्यकता थियो, एमाले–माओवादी केन्द्र त्यो रूपमा जान नसकेको प्रतित हुन थालेको छ । उनीहरुमा पनि सङ्कुचित, सङ्कीर्ण र अहमतापूर्ण प्रवृत्तिले डेरा गर्न थालेको छनक राष्ट्रिय सभा निर्वाचनको क्रममा देखिदै छ । राष्ट्रिय जनमोर्चा जस्तो स्वच्छ छवि र स्पष्ट विचार बोकेको जनप्रिय पार्टीलाई राष्ट्रिय सभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले ‘वाम’ गठबन्धनमा सामेल गर्न सकेनन् । उनीहरु गणितीय हिसाबले जोडघटाउ गरेर अघि बढे । राजनीतिमा गणितीय सङ्ख्याभन्दा राजनैतिक विचार र व्यवहारको धेरै ठुलो अर्थ र महत्त्व रहन्छ भन्ने तथ्यलाई एमाले–माओवादी केन्द्रले मनन गर्न सकेको देखिएन । राष्ट्रिय जनमोर्चा जस्तो राजनैतिक शक्तिलाई राष्ट्रिय सभा निर्वाचनमा तालमेलमा समेट्न सकेको भए, त्यसबाट राजनैतिक रूपमा ‘वाम’ गठबन्धनलाई नै फाइदा पुग्दथ्यो । तर एमाले र माओवादी केन्द्रले त्यसरी सोच्न सकेको देखिएन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गरेर वाम गठबन्धनको निर्माण गरेका एमाले र माओवादी केन्द्रले निर्वाचन सकिएको दुई महिना हुँदा पनि अझै पार्टी एकताको घोषणा गर्न सकेका छैनन्, बरु राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार प्रमुखबारे पनि आपसी भागवण्डामा सिट बाँडफाँड गरेका छन् उनीहरुले । जब दुवै पार्टी एक हुनु छ भने तेरो पार्टीलाई यति सिट मेरो पार्टीलाई यति सिट भनेर भागवण्डा किन ? यसबाट उनीहरुको पार्टी एकताको घोषणा निर्वाचनमा कतै भोट बटुल्ने बहाना मात्र त थिएन ? भन्ने आशङ्का पनि जन्मिएको छ । जनमानसमा देखिएका यस्ता आशङ्काहरुलाई एमाले र माओवादी केन्द्रले छिट्टै निवारण गर्न सक्नु पर्दछ ।
‘वाम’ गठबन्धनलाई टुटाउनका लागि देशी–विदेशी प्रतिक्रियावादीहरु दिलोज्यानले लागि परी रहेका छन् । संविधानलाई कार्यान्वयन हुन नदिन र नेपालको राष्ट्रिय स्वाधीनता एवं अखण्डतालाई खण्डित गरी आफ्नो स्वार्थसिद्ध गर्न विभिन्न वैदेशिक शक्तिकेन्द्रहरु ‘वाम’ गठबन्धनभित्र फुट पार्ने खेलमा लागी रहेका छन् । एमाले र माओवादी केन्द्रभित्रका विभिन्न गुट–उपगुटहरुभित्र खेलेर हुन्छ कि एमाले र माओवादी केन्द्रबीच नै फाटो पारेर हुन्छ, जसरी पनि ती दुई पार्टीलाई मिल्न नदिने प्रयत्न उनीहरुले गरी रहने छन् । काङ्ग्रेसले, प्रचण्डलाई प्रधानमन्त्रीको ललिपप देखाई रहेको छ भने एमालेले पनि फोरम र राजपालाई लिएर माओवादी केन्द्र बिनै सरकार बनाउने आन्तरिक विकल्प पनि अघि बढाई रहेको चर्चा पनि चल्न थालेको छ ।
यदि त्यसो भयो भने त्यसबाट एमाले–माओवादी केन्द्र, देश र जनता कसैको पनि हित हुने छैन । आफूहरुबीच फुट पार्न कुन शक्ति कसरी खेली रहेको छ ? भन्ने कुराको पहिचान एमाले र माओवादी केन्द्रले बेलैमा गर्नु जरुरी छ । यो अवस्थामा आएर यदि ‘वाम’ गठबन्धनभित्र फुट हुन्छ र काँग्रेस सहितको नयाँ सरकार बन्छ भने त्यो जनादेश विपरीतको कार्य हुने छ । देशमा त्यसका दूरगामी असरहरु हुनेछन् । तसर्थ त्यस्तो अवस्थाको सिर्जना हुन नदिन एमाले र माओवादी केन्द्रले विशेष सजगता अपनाउनु आवश्यक देखिन्छ । आफूभित्र हुर्की रहेका गुटगत र व्यक्तिगत स्वार्थहरु अहम्ता र सङ्कीर्णतावादी प्रवृत्तिहरुलाई त्याग्दै एमाले र माओवादी केन्द्रका नेताहरुले ‘वाम’ गठबन्धनलाई अझ दरिलो, कसिलो र भरोसायोग्य बनाउँदै लैजानु पर्छ । जातिवादी, पृथकतावादी र गणतन्त्र विरोधी शक्तिहरुसँगको घनिष्टतालाई एमाले–माओवादी दुवैले त्याग्नु पर्दछ र दुवै पार्टी एक भई देशलाई जनादेश मुताविकको स्थिर सरकार दिने दिशामा अघि बढ्नु पर्दछ ।