नयाँ दिल्ली, चैत्र ३० । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले विदेशी शक्तिहरुको उक्साहटमा नेपालका विभिन्न जातिवादी संगठनहरुले देशलाई जातियता द्वन्द्वमा फसाउने कसरत गरेको बताउनु भएको छ । समाजको केन्द्रीय समिति अन्तर्गत जनजाति र समता केन्द्रीय विभागको संयुक्त दुई दिने प्रशिक्षण कार्यक्रममा उद्घाटन मन्तवय दिंदै “वर्गीय मुक्ति विना जातीय मुक्तिको सम्भावना रहँदैन ।” वहाँले अगाडि भन्नु भयो– “वर्गीय मुक्ति विनाको जातीय मुक्तिका नारा दिनेहरुले नै देशलाई सिरीया जस्तै द्वन्द्वमा फसाउने कसरत गरिरहेका छन् ।”
संगठनका सम्पूर्ण कार्यकर्ताहरुले देशको वर्तमान परिवेशमा जातिवाद विरुद्धको आन्दोलनका सशक्त रुपमा प्रशिक्षित हुनु पर्ने आवश्यकता रहेको बताउनु भयो । कुनै पनि जाति राष्ट्र र राष्ट्रियता भन्दा माथि नरहेको केसीको कथन थियोे ।
कार्यक्रमको अध्यक्षता शेर बहादुर थापाले गर्नुभएको थियो भने शेर बहादुर विकले कार्यक्रम सहजिकरण गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई पि भिम बहादुर थापाले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालय सदस्य मनोज भट्ट, जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विक, मूल प्रवाह केन्द्रीय समितिका सचिव ठाकुर खनाल, सदस्य नारायण शर्मा, नेपाली समाचार साप्ताहिकका सहसम्पादक धनवीर पुन लगायतको आतिथ्यता रहेको थियो ।