– शशिधर भण्डारी
भियतनामको राष्ट्रिय मुक्ति तथा कम्युनिस्ट आन्दोलनका नेता कमरेड हो ची मिन्ह विश्व राजनीतिमा अत्यन्त सरल, मृदुभाषी, मिलनसार, सहृदयी व्यक्ति थिए । ग्रामीण किसानको जस्तो पहिरनमा पनि हिड्ने ती महान् नेता राष्ट्रपति नियुक्त भएर उभिदा रफ्फु गरेको पाइन्ट लगाएका थिए । फ्रान्सेली साम्राज्यवाद विरोधी प्रथम भियतनाम युद्ध पश्चात् उनले भारतको भ्रमण गरेका थिए । सो भ्रमणमा हो ची मिन्हको सरलता, शालीनता र मृदुभाषी प्रस्तुतिबाट भारतका पत्रकारहरु प्रभावित भएर उनलाई सोधेका थिए– “तपाई मृदुभाषी, सरल र शालीन हुनु हुन्छ । किन गान्धीले जस्तो अहिंसात्मक आन्दोलनको सट्टा हतियारबन्द आन्दोलनमा होमिनु भयो ?” उनको छोटो वाक्यमा उत्तर थियो– “विपक्षमा को छ भन्ने कुराले आन्दोलनको स्वरूप निर्धारण गर्छ ।” १९५६ मा सोभियत सङ्घको कम्युनिस्ट पार्टी पुँजीवादी दिशामा पतन भएपछि अमेरिकाका राष्ट्रपति जोहन एफ केनेडीले हो ची मिन्हलाई इङ्गित गर्दै भनेका थिए रे– “हामी मोटो कम्युनिस्टसित होइन, पातलो कम्युनिस्टसित सतर्क रहनु पर्दछ ।” खु्रस्चेभ मोटा थिए, हो ची मिन्ह पातला थिए । नभन्दै हो ची मिन्हको नेतृत्वमा उठेको साम्राज्यवाद विरोधी मुक्तियुद्धमा भियतनामले अमेरिकालाई पछारेको थियो ।
केही दिन अगाडि नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाका प्रवक्ता कमरेड खड्ग बहादुर विश्वकर्माका विरुद्ध केपी ओली नेतृत्वको वर्तमान सरकारले गरेको अपमानजनक व्यवहारले इतिहासको त्यो वैचारिक धारणालाई आज स्मृतिमा ल्याइदिएको छ । यो सरकारले आजसम्म मूल रूपमा शान्तिपूर्ण आन्दोलनमै क्रियाशील नेकपा र त्यसका प्रवक्ता विश्वकर्मामाथि अपनाएको दमनको स्वरूप हेर्दा सरकारले नेकपालाई सिधा मुठभेडको दिशातिर धकेल्न चाहेको देखिन्छ । त्यसका पछाडि कुन राजनीतिक इगोले काम गरेका छ भन्न सकिन्न । सैद्धान्तिक वैचारिक हिसाबमा अमेरिकी राष्ट्रपति जोहन एफ केनेडीले भने जस्तै मोटा कम्युनिस्टहरुको भूमिका अथवा ख्रुस्चेभी भूमिकामा गएका वर्तमान सरकारका नेताहरुले कति पातला कम्युस्टिहरुलाई खड्ग बहादुर बनाउने हुन् ? मुलुकमा सन्देह पैदा भएको छ । यो इतिहासको दृष्टान्तको प्रस्तुतिको अर्थ पातलो कम्युनिस्टका रूपमा खड्ग बहादुर विश्वकर्मालाई हो ची मिन्हका स्तरमा उठाएको होइन, यो इतिहासको एउटा सिम्बोलिक मात्र हो ।
वर्तमान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कुन ध्रुवको प्रतिनिधित्व गर्दछ र कुन वर्गको पक्षपोषण गर्दछ भन्ने कुरा सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम, बजेट भाषण र यस्तो व्यवहारले प्रष्ट पारेको छ । अन्तर्राष्ट्रिय रूपमै दक्षिणपन्थी संशोधनवादले इतिहासमा काम पुँजीवादीहरुले जस्तै गर्ने तर भाषण कम्युनिस्टहरुले जस्तै गर्ने गर्दैछन् । वर्तमान सरकारको राज्य सञ्चालनको कलाले पनि यही नै देखाएको छ । तर पनि अझैसम्म सत्ता बाहिर रहेका कम्युनिस्टहरुले विविध कारणले यो सरकारलाई सिद्धान्त र व्यवहारमा पनि प्रधान शत्रुका रूपमा किटानी गरेर तदनुरूप कार्यक्रम बनाएका छैनन् । व्यवहारत: यो कुरा विप्लव नेतृत्वको नेकपाका लागि पनि सत्य हो । यदि सरकार यही शैलीमा दमनमा उत्रियो र उसको दमनको जवाफ प्रतिरोध पनि हो ची मिन्हले भने जस्तै त्यही स्वरूपमा गर्नु पर्यो भने त्यसको परिणति कस्तो होला ? यो सरकारको यस्तै स्वरूप प्रकट भइरहने हो भने प्रतिरोधको स्वरूप फेरि पनि हो ची मिन्हले भने जस्तो तदनुरूपकै हुन जान्छ । निश्चय नै यसको परिणाम त राम्रो अवश्य निस्कने छैन ।
नेपालको दुर्गम जिल्ला कालीकोटको गरिब र त्यसमा पनि उत्पीडित जातीय परिवारमा जन्मेका खड्ग बहादुर विश्वकर्मा नेपाली कम्युनिस्ट आन्दोलनका एक जना अथक योद्धा हुन । हिजोका दिनमा उनको स–परिवार जनवादी गणतन्त्र स्थापनाका खातिर भनेर “जनयुद्ध” मा होमिएको थियो । कमरेड खड्ग बहादुर विश्वकर्मासँग मेरो दोहोरो परिचय छैन । तर मैले सुने अनुसार विश्वकर्मा जनयुद्ध कालमा कर्णालीका सिनियर जनयोद्धा थिए । उनका सहोदर दुई भाइले प्रचण्ड–बादल नेतृत्वको सो जनयुद्धमा सहादत प्राप्त गरेका थिए । उनको सर्वस्व भएको थियो । कम्युनिस्ट क्रान्तिका लागि कमरेड खड्ग बहादुर विश्वकर्माले गरेको यो त्यागलाई सामान्य गजले नाप्न सकिदैन । दुर्गम जिल्लाको गरिब दलित परिवारबाट माथि उठ्न उनलाई थोरै साधनाले पुगेन होला । उनको राजनैतिक विश्व दृष्टिकोण, समर्पण, र बलिदानी भाव निश्चय नै हामीलाई भन्दा आजको व्यवस्थाका गृहमन्त्री राम बहादुर थापा बादललाई थाहा थियो । किनभने एउटा समय यस्तो थियो, बादल सैन्य कमान्डर थिए, खड्ग विश्वकर्मा रणभूमिमा डट्ने योद्धा ।
कर्णाली विशेषत: कालिकोटमा आज पनि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको साङगठनिक आधार अन्य जिल्लाहरुको तुलनामा मजबुत छ । यसका पछाडि खड्ग बहादुर विश्वकर्माकै प्रभाव र जनप्रियताले काम गरेको छ भन्ने कुरा सोझै अनुमान लगाउन सकिन्छ । यसो त उनी लोकतान्त्रिक गणतन्त्रमा भारी मतले निर्वाचित सभासद र मन्त्री समेत भइसकेका व्यक्ति हुन । सम्भवत: इतिहासको यो निकै उदेकलाग्दो मजाक हो । वर्तमान सरकारले उनलाई चन्दा उठाएको र राजनीति गरेको आरोपमा हत्कडी लगाएर कस्टडीमा कोच्यो । लोकतान्त्रिक गणतन्त्रमा शान्तिपूर्ण रूपबाट चन्दा उठाउने र आफ्ना राजनीतिक विचारहरु जनताका बीचमा लैजाने छुट सबै राजनीतिक दलहरुलाई छ । यही लोकतान्त्रिक गणतान्त्रिक प्रणाली स्थापना गर्ने आन्दोलनमा खड्ग बहादुर विश्वकर्मा र उनको परिवारको आाशु, पसिना र रगत खर्च भएको छ । बादल गृहमन्त्री भएको यही व्यवस्थाले खड्ग बहादुर विश्वकर्मालाई हत्कडी लगाएर अपमान गर्यो । यो देशमा घुस्याहा, विभिन्न निकायका तष्कर, माफिया, भ्रष्टाचारी, ठग, देशघाती, जनघाती राष्ट्रिय चोरहरुका विषयमा खोज–अनुसन्धान हुँदैन, भइहाले पनि देशमा दण्डहीनताको संस्कृति हावी भएका कारणले राजनीतिक पहुँचका आधारमा तिनीहरुलाई कसैले केही गर्न सक्दैन । खड्ग बहादुर विश्वकर्मामा धेरै मानवीय कमजोरीहरु होलान्, असीमित महत्त्वाकाङ्क्षा पनि चुलिएको होला । ती स्वाभाविक हुन् र आफ्नो ठाउँमा छन् । उनले हातमा हत्कडी नै भिरेर कस्टडीमा बस्नु पर्ने अपराध के गरे ? यो विचारणीय प्रश्न उठेपछि सरकारले उनलाई मुलुकमा सङ्गठित अपराध फैलाएको, निर्वाचनमा बम बिस्फोट गराएको, एनसेल कार्यालयमा आक्रमण गरेको भन्ने थप आरोपहरु पनि लगाएको थियो । एउट मात्र उदाहरण दिऊँ, राष्ट्रिय भ्रष्टाचारीका रूपमा परिचित चुडामणि शर्मालाई हत्कडी लगाउन नसक्ने सरकारले खड्ग बहादुर विश्वकर्मालाई हत्कडी लगाउनु राजनीतिक पूर्वाग्राह र सत्ताको आवेग भएको प्रस्ट छ । यो परिदृष्य हेर्दा वर्तमान सरकारलाई दलाल र पुँजीपति वर्ग, माफिया, तष्कर र राष्ट्रिय चोरहरुले खेलाइरहेका त छैनन् ? प्रश्न उठाउने आधारहरु छन् ।
राजनीतिक दलहरुलाई सरकारले पैसा नदिने देशहरुमा राजनीतिक दलहरु चन्दा, लेबी आदि सहयोगबाट नै चलेका हुन्छन् । स्वयं नेपाल कम्युनिस्ट पार्टी पनि जन प्रतिनिधिबाट आउने प्रतिशत, चन्दा र लेबीबाटै चल्दछ । तर चन्दा उठाउने प्रकृतिका विषयमा प्रश्न उठ्नु स्वाभाविक हो । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले पूर्व नेकपा (माओवादी) ले चन्दा उठाउँदा अपनाउने गरेको विधि प्रक्रियालाई एक हदमा निरन्तरता दिएको देखिन्छ । यस्तो संस्कार स्थापित गराउने व्यक्तिमा एकजना महत्त्वपूर्ण व्यक्ति आजका गृहमन्त्री स्वयं बादल पनि हुन् । त्यसमा पनि द्वन्द्वकालमा चन्दाको मारबाट सर्वसाधारण जनता पनि पीडित भएका थिए, बरु आज विश्वकर्माहरुले सर्वसाधारण जनताका बीचमा चन्दा आतङ्क सिर्जना गरेको देखिन्न । खड्ग विश्वकर्माले चन्दा आतङ्क सिर्जना गरेकै भए पनि अनुसन्धान नगरिकनै कसैको चुक्लीको भरमा एउटा देशको मन्त्रीसम्म भइसकेको व्यक्तिलाई हत्कडी लगाएर अपमान गर्नु सरकारको गैर न्यायिक कार्य भएको कारणले नै अदालतले उनलाई रिहा गर्ने आदेश दियो । यसले सरकारकै खिल्ली उडाएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सैद्धान्तिक राजनीतिक कार्यनीति र व्यावहारिक राजनीतिमा समेत हाम्रा मतभेदहरु छन् । तर पनि राष्ट्रियता लगायतका कैयन् प्रश्नहरुमा हाम्रा सहमतिका पक्षहरु पनि छन् । लोकतान्त्रिक गणतन्त्रमा निर्वाचनबाट गठन भएको आफूलाई कम्युनिस्ट भन्ने सरकारले विरोधी पक्षलाई देखाउने जुन कार्यशैलीको प्रयोग गरिएको छ, यो कार्यशैलीले नेपाली काङ्ग्रेसको कम्युनिस्ट अधिनायकवाद भन्ने आरोपलाई मल हालेको छ । भनिन्छ, राजनीतिमा स्थायी शत्रु हुादैन, तर राजनीतिक आन्दोलनमा क्रियाशील व्यक्तिमाथि सत्ताले अन्यायपूर्ण ढङ्गले अपमान गर्यो भने प्रतिशोध पनि त्यही रूपको हुन्छ भन्ने कुरा मलाई पनि अनुभव छ । २०४८ मा नेपाली काङ्ग्रेसको बहुमतको सरकार बनेपछि मैले शिक्षक पेशाबाट अवकास लिन पर्यो । झुटा मुद्दाको सामना गर्नु पर्यो । रोल्पामा राष्ट्रिय जनमोर्चाको कार्यालय स्थापना गर्ने भनेर सामान सहित जाादा जादै बाटोमा समातेर तत्कालिन नेपाली काङ्ग्रेसको सरकारले २०५२ फागुन २० गते म लगाएत अन्य ३ जना साथीहरुलाई हत्कडी लगाइदिएर केही दिन प्रहरी हिरासतमा कोचेको थियो र यातना दिएको थियो । हाम्रो शान्तिपूर्ण राजनीतिक गतिविधिमा त्यो तत्कालीन नेपाली काङ्ग्रेस सरकारको तानाशाही दमन थियो । यो दमन पश्चात् र अन्य धेरै प्रतिनिधि घटनाका कारण आज पनि म नेपाली काङ्ग्रेसको बहुमतको सरकार बन्यो भने एउटा भरपर्दाे बुर्जुवा प्रजातान्त्रिक सरकारका रूपमा रहन्छ भन्ने कुरामा आज पनि विश्वास लाग्दैन । यसो त आजको ओली सरकारलाई प्रधान दुश्मन नमानेका सत्ता बाहिरका कम्युनिस्टहरुलाई प्रधान शत्रुलाई जस्तो व्यवहार सरकारबाट भयो भने तदनुरूपको प्रतिरोध अनिवार्य बन्न जान्छ । यसबेला बादलको सम्पत्ति जस्तो भएको हत्कडी भोलि अर्काको हातमा पनि जान सक्छ । सरकारले गर्न थालेको लोकतन्त्रमा हत्कडीको राजनीतिले देशलाई शत्रुको जय होस्, मित्रको नास होस् भन्ने राजनीतिको दिशातिर धकेल्दैछ । यो वाम आन्दोलनभित्रको राष्ट्रिय चिन्ताको विषय हो ।