लगाउनलाई दृढतापूर्वक लागू गर्न मसालको आग्रह

0
101

काठमाडौं । नेकपा मसालले  सरकारले घोषणा गरेको लगडाउनलाई दृढतापूर्वक लागू गर्न सबैलाई आग्रह गरेको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले शनिबार एक वक्तव्य जारी गर्दै कोरोना भाइरसको रोकथामको लागि लकडाउन नै  सबभन्दा प्रभावशाली माध्यम भएको उल्लेख गर्दै त्यसको  प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको हो ।

“चिनले कोरोनालाई परास्त गर्न  उच्च प्रकारको चिकित्सा प्रणाली  भएर  मात्र होइन, त्यसका विरुद्ध सरकार, प्रशासन र जनतालाई व्यापक रूपले परिचालन, एकताबद्ध वा अनुशासित बनाएर नै त्यसमाथि विजय प्राप्त गर्न सकेको हो”  भन्दै महामन्त्री सिंहले कोरोनाको नियन्त्रणमा चिनले अपनाएका उपायहरुबाट पाठ सिक्नु पर्ने बताानु भएको छ ।

वक्तव्यको पूर्ण पाठ-

  • देशभरि नै ‘लकडाउन’ लगाएको छ । सम्भवतः कोरोना भाइरसमाथिको रोकथामको लागि त्यो एउटा सबभन्दा प्रभावशाली माध्यम हो । त्यसकारण त्यसलाई दृढतापूर्वक लागू गर्नुपर्ने आवश्यकता छ ।
  •  आज विश्वव्यापी रूपमा नै कोरोना भाइरसको खतरा देखापरेको भएपनि अहिलेसम्म नेपालमा स्थिति सामान्य नै छ । दुईचार जना मानिसहरूलाई त्यसको सङ्क्रमण हुनुलाई हामीले स्थिति गम्भीर भएको ठान्न हुँदैन । तर स्थिति अहिले जस्तै सामान्य रहिरहने छ भनेर ढुक्क रहनु पनि सही हुन ेछैन । त्यसकारण त्यो खतराको सामना गर्नको लागि हामीले गम्भीरतापूर्वक र उच्च स्तरीय तयारी गर्नुपर्दछ ।
  • अहिले इटली, स्पेन वा अमेरिका जस्ता विकसित देशहरूलाई पनि त्यसमाथि नियन्त्रण गर्न कठिन भइरहेको छ र स्थिति एकप्रकारले उनीहरूको वशभन्दा बाहिर हुँदै गइरहेको देखिन्छ । त्यो अवस्थामा नेपालमा कोरोना भाइरसको गम्भीर खतराका रूपमा सङ्क्रमण भयो भने त्यसको सामना गर्नु इटाली, स्पेन वा अमेरिका जस्ता देशहरूभन्दा कैयौँ गुणा बढी कठिन हुने छ । त्यसकारण त्यसलाई प्रवेश गर्न नदिनेतर्फ नै हामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने आवश्यकता छ र त्यसको लागि सबैभन्दा प्रभावशाली उपाय भनेको लकडाउन नै हो ।
  • अहिलेसम्म नेपालमा कोरोना भाइरसको जे–जति सङ्क्रमण भएको छ, त्यो विदेशबाट आएका व्यक्तिहरूबाट नै भएको छ । खास गरेर भारतबाट आउने मानिसहरू, जसमा ठूलो सङ्ख्यामा नेपालीहरू नै हुन्छन्, बाट आउने मानिसहरूमाथि नियन्त्रण वा स्वास्थ्य परीक्षण पनि एउटा अत्यन्त आवश्यक कार्य भएको छ । त्यसकारण त्यहाँबाट आउने मानिसहरू बिना स्वास्थ्य परीक्षण वा क्बारेन्टाइनमा नबसीकन आफ्नो गाउँघरमा जान्छन् । त्यसबाट पनि कोरोना भाइरसको जोखिम धेरै नै बढ्ने सम्भावना छ । त्यसकारण भारतसितका सीमाबाट हुने आवागमनलाई रोक्न विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । सरकारले चिनियाँ मोडेलबाट कोरोना भाइरसका विरुद्ध लड्ने घोषणा गरेको छ । निश्चय नै चीनले त्यसमाथि जसरी विजय प्राप्त गर्‍यो, त्यो विश्वभरका लागि अनुकरणीय छ र त्यसको आधारमा त्यसमाथि (कोरोना भाइरस)माथि काफी हदसम्म नियन्त्रण गर्ने सम्भावना रहने छ । तर त्यसलाई सही अर्थमा बुझ्नुपर्ने र लागू गर्नुपर्ने आवश्यकता छ ।
  • चीनले खाली उच्च प्रकारको चिकित्सा प्रणालीका आधारमा मात्र होइन, त्यसका विरुद्ध सरकार, प्रशासन र जनतालाई व्यापक रूपले परिचालन, एकताबद्ध वा अनुशासित बनाएर नै त्यसमाथि विजय प्राप्त गर्न सकेको हो । चिनियाँ मोडलको सारतत्व त्यही हो । तर त्यो पक्षलाई कुशलतापूर्वक लागू गर्न विकसित पश्चिमी देशहरू पनि पछाडि परेको देखिन्छ । त्यही कारण हो कि ती देशहरूमा उच्च प्रकारको चिकित्सा प्रणाली र प्राविधिक विकासका बाबजुद चीनले जस्तै सफलतापूर्वक कोरोना भाइरसमाथि नियन्त्रण गर्न उनीहरूलाई अप्ठ्यारो परेको छ । प्रश्न यो छ कि नेपालले त्यो चिनियाँ पद्धतिलाई लागू गर्न सक्ने छ । त्यसबारे गम्भीर हुनका लागि हामीले सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।
  • सरकार, सत्तारूढ दल वा प्रशासनको सम्पूर्ण कार्यप्रणाली तथा जनताको चेतना र अनुशासनको स्तर समेतमाथि विचार गर्दा नेपालमा चिनियाँ पद्धति लागू गर्ने वा त्यसद्वारा कोरोना भाइरसमाथि नियन्त्रण गर्न देश सफल हुनेछ भन्ने कुरामा विश्वास गर्न मुस्किल पर्दछ । तैपनि निराश हुनुपर्ने आवश्यकता छैन । हामीले आशा गर्नुपर्दछ, त्यो खतराले नै हाम्रो एकता र अनुशासनको स्तर उठाउँदै जानेछ, किनभने त्यसको अभावमा त्यसको (कोरोना भाइरसको) खतराबाट बचाउन हाम्रो लागि सम्भव हुनेछैन ।
  • कैयौँ देशहरूले कोरोना भाइरसबाट पीडित निम्नवर्गीय जनताका लागि विभिन्न प्रकारका प्याकेज कार्यक्रमहरूको घोषणा गरेका छन् । विश्वभर र नेपालमा पनि त्यो खतरा कति समयसम्म लम्बिने छ, निश्चित रूपले केही भन्नु सम्भव छैन । त्यसकारण निम्नवर्गीय जनताको राहतको लागि सरकारले प्याकेज कार्यक्रमहरू ल्याउनुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौँ ।
  • वास्तवमा त्यसप्रकारको राहत कार्यक्रम राष्ट्रिय स्तरमा नेपाल सरकारले मात्र चलाएर पुग्ने छैन । सार्क र संयुक्त राष्ट्रसङ्घले पनि कोरोनाद्वारा पीडित जनताको मद्दतका लागि कैयौँ कोषहरू संचालन गर्ने घोषणा गरेका छन् । त्यसप्रकारका अन्तर्राष्ट्रिय कोषहरूबाट पनि नेपालका उत्पीडित जनतालाई राहत पुर्‍याउनको लागि सरकारले कुटनीतिक स्तरमा पहल गर्नुपर्ने आवश्यकता छ ।
  • वास्तवमा अहिलेको कोरोना भाइरसको समस्या कुनै देशको राष्ट्रिय समस्या नभएर अन्तर्राष्ट्रिय समस्या हो । त्यसले पुर्‍याउने क्षति अन्तर्राष्ट्रिय, दीर्घकालिन र दुरगामी प्रकारको हुनेछ । त्यसकारण संसारका सबै देशहरूले आफ्नो देशको मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा नै एकतावद्ध भएर त्यसमाथि विजय प्राप्त गर्न सङ्गठित योजनावद्ध प्रकारले प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय स्तरमा नै पहल गर्नुपर्ने आवश्यकता छ ।
  • नेपालमा सम्भावित कोरोना भाइरसको खतरामाथि ध्यान दिंदै चीनले औषधी र अन्य विभिन्न सामाग्रीहरू पठाउने जुन निर्णय गरेको छ, त्यसले चीनको नेपालप्रतिको उच्च मैत्रीपूर्ण भावनालाई बताउँछ । त्यसका लागि हामीले चीनको सरकारलाई धन्यवाद दिनुपर्दछ ।
  • आज राष्ट्रिय रूपमा नै देखापरेको सङ्कटको बेलामा को सरकरमा छ र को विपक्षमा छ वा विभिन्न राजनीतिक शक्तिहरूका बिचमा कुन प्रकारको मतभेदहरू छन्, तीमाथि ध्यान नदिइकन वा तिनीहरूबाटमाथि उठेर यो सङ्कटमाथि विजय प्राप्त गर्नका लागि एकतावद्ध हुनुपर्ने आवश्यकता छ ।
  • कोरोना भाइरस वा त्यसबाट सम्भावित खतरामाथि नियन्त्रण गर्नका लागि सरकारले ज–ेजति पहलकदमी गरिरहेको छ, ती सकारात्मक छन् र सरकारका त्यसप्रकारका कार्यहरूलाई समर्थन गर्ने र तिनीहरूको कार्यान्वयनका लागि सम्भव भए जति वा सबै सम्भव तरिकाले मद्दत गर्ने हाम्रो प्रयत्न हुनुपर्दछ । साधन र स्रोतहरूको कमी तथा प्रशासनको पिछडिएको अवस्था, अस्पताल र उपचारको सीमित साधनहरू समेतमाथि ध्यान दिंदा हाम्रो देशमा कोरोना भाइरसले महामारीको रूप लियो भने त्यसको सामना गर्नु सजिलो हुनेछैन । त्यसकारण सम्भावित खतरामाथि ध्यान दिंदै हामीले उच्च स्तरमा आफ्नो तयारी गर्दै जानुपर्ने आवश्यकता छ । सरकारले त्यसका लागि बढीभन्दा बढी प्रयत्न गर्नुका साथै जनतालाई पनि व्यापक रूपले गोलबन्द गर्नुपर्ने आवश्यकता छ ।
  • अहिले विश्वमा कोरोना भाइरसले जति गम्भीर र व्यापक रूप लिएको भएपनि त्यो अस्थायी कुरा हो र अन्तम ाहाम्रो त्यसमाथि विजय हुनेछ भन्ने कुरामा हामीलाई पूर्ण विश्वास छ र सबैले यो कुरामाथि विश्वास गर्नुपर्दछ । मानवजातिले यसभन्दा पहिले पनि कैयौँ ठूलाठूला खतराहरूको सामना गर्दै र तिनीहरूमाथि विजय प्राप्त गर्दै आएको छ । त्यसकारण तत्कालीन रूपमा यो खतरा जति ठूलो देखिएपनि अन्तमा मानवजातिले त्यसमाथि विजय प्राप्त गर्ने कुरा निश्चित र अवश्यम्भावी छ ।
  • कोरोना भाइरसमाथि विजय प्राप्त भएपनि आफ्ना पछाडि त्यसले दीर्घकालीन प्रकारका राजनीतिक, आर्थिक वा सामाजिक असरहरू छाडेर जानेछ । त्यसकारण कोरोना भाइरसको समस्याको समाधान भएपछि पनि त्यसले पुर्‍याएको क्षति पूरा गर्नको लागि लामो सङ्घर्ष वा पुर्ननिर्माण गर्नुपर्नेछ ।
  • अहिले कोरोना भाइरसको उपरी प्रकारले छायाँ पर्दा पनि हाम्रो देश कतिकमजोर रहेछ, त्यो कुरा छर्लङ्ग भएको छ । एकातिर अन्य देशहरूबाट आयात बन्द हुँदा हाम्रो सम्पूर्ण अर्थतन्त्र वा जीवन नै धरापमा पर्ने जस्तो स्थिति उत्पन्न भएको छ । नेपालका शिक्षण संस्थाहरूले पैदा गर्ने शिक्षित समुदायले नेपालको उन्नतीमा जोड दिनुभन्दा विदेश गएर आफ्नो ‘क्यारियर’ बनाउनेतर्फ नै जोड दिन्छन् । नेपालको युवाशक्तिको पनि बढी जोड विदेशमा जाने नै हुन्छ । तर अहिले कोरोना भाइरसले देखाएको छ कि अन्तमा काम लाग्ने आफ्नै देश हो । त्यसकारण नेपालभित्रका र संसारभरका नेपालीहरूले त्यो कुरा बुझ्नुपर्ने आवश्यकता छ र कोरोना भाइरसको कारणले हामीले त्यो शिक्षा ग्रहण गर्‍यौँ भने पनि त्यो ठूलो उपलब्धी हुनेछ ।
  • कोरोना भाइरसले हामीलाई यो पनि शिक्षा दिएको छ कि सधै आयातमाथि भर परेर होइन, आत्मनिर्भर भएपछि नै हाम्रो जीवनमा स्थायित्व र स्थिरता आउन सक्दछ । त्यसैले देशलाई आत्मनिर्भर बनाउनेतर्फ हाम्रो सबैभन्दा बढी जोड हुनुपर्दछ ।
  • कोरोना भाइरसको पहिलो झोक्कामा नै हाम्रो देश जसरी धर्मराएको छ, त्यसले गतकालका सरकारहरूले देशको विकासका लागि सही नीति नअपनाएको कुरा प्रष्ट हुन्छ । आखिरमा कुनै देशको विकासमा निर्णयात्मक भूमिका सरकारको नै हुन्छ । तर सरकारलाई सही नीति अपनाउन र सही प्रकारले काम गर्न बाध्य गर्ने जिम्मेवारी बहुसङ्ख्यक जनताको नै हुन्छ । त्यसकारण हामीले आगामी दिनहरूमा सरकारको भूमिका गतकालकोभन्दा राम्रो होस् र त्यसले देशलाई आत्मनिर्भर बन्नको लागि सही भूमिका खेल्न सकोस् भन्नेतर्फ पनि विशेष जोड दिनुपर्ने आवश्यकता छ । अन्तमा विदेशबाट प्राप्त हुने सहायता वा आयातमाथि आश्रित भएर नै हामीले आफ्नो अस्तित्व बचाउन सक्दैनौँ भन्ने कुरामा हामी प्रष्ट हुनुपर्दछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here