- अपत्य शर्मा
विश्वमा औद्योगिक क्रान्तिपछि चौथो क्रान्तिको रूपमा सङ्ख्यामा सर्वहारा वर्गलाई बेरोजगार बनाई रहेकाले भविष्यमा रोबोट नै शासकमा फेरिने भविष्यवाणी गरिदै छ । मानिसले मानिस जन्माउनुको साटो मानव निर्मित यन्त्रमानव (रोबोट) ले रोबोट जन्माउने पनि दाबी गरिदै छ । रोबोटले ठुलो सङ्ख्यामा मजदुरलाई बेरोजगार बनाउने ठुलो परिमाणमा उत्पादन वृद्धि हुने, मजदुरका हडताल र तोडफोडका खतराबाट पनि जोगाउने छ । रोबोटलाई खाजा खान छुट्टी दिनु पर्दैन । अहिले विश्वमा रोबोटका मागहरुमा वृद्धि हुँदै छ । त्यस कारण अत्याधुनिक प्रविधि तथा रोबोटका विस्तारले गर्दा पुँजीवादी अर्थ राजनीतिका ठेकेदार तथा चिन्तकहरुले के प्रचार गर्दैछन् भने पुँजीवादको विकल्प साम्यवाद हुन सक्दैन र माक्र्सको सिद्धान्त गलत भएकाले विश्व मानचित्रमा विश्वका ठुला–साना मुलुकहरु सोभियत रुस, चीन, भियतनाम, कम्बोडिया, लाओस, क्युबा आदि मुलुकहरुमा पनि पुँजीवादी बजार अर्थतन्त्र विजयी भएको छ । त्यस कारण साम्यवादी सिद्धान्त जताततै असफलै असफल भएको भनेर खुशी मनाउँदै छन्, जबकि साम्यवादी पार्टीभित्र जन्मने पुँजीवादी नोकरशाही वर्गले शासन सत्तामा अधिकार जमाएर पुँजीवादी बाटो लिनु हो । कम्युनिस्ट पार्टीभित्रका पुँजीपन्थीहरुले सत्ता, व्यापार, उद्योग तथा सेवा क्षेत्रमा अधिकार जमाएपछि सर्वहारावादी सिद्धान्तलाई लत्याउँदै सामूहिकताका ठाउँमा व्यक्तिवादिता व्यक्ति विशेषलाई बढावा दिने पुँजीवादी बाटो लिनुको परिणाम हो । सर्वहारावादी सामूहिकताका ठाउँमा पुँजीवादी व्यक्तिवादका लागि पुँजीवादी शोषण, उत्पीडन र दमन गर्न पुँजीवादी प्रजातन्त्र समाजवादी बजार अर्थतन्त्र नाम दिएका छन् । पुँजीवादी बजार अर्थतन्त्रमा व्यक्तिगत लगानी उत्पादन जुन सामूहिक उत्पादन हो, त्यो नाफा सामूहिक नभएर व्यक्ति विशेषको खल्तीमा जान्छ र पुँजीपतिले पुँजी विस्तार गर्दै जान्छ । सर्वहारा वर्ग पुँजीवादी शोषण, उत्पीडन, दमन र पुँजीवादी दासताको दुश्चक्रमा पिसिदै जानु अनिवार्य हुन्छ ।
स्वचालित उद्योग हुन् वा रोबोटको संलग्नतामा मजदुरको ठाउँमा रोबोटले लिए पनि त्यसको मुख्य सञ्चालक मानव मस्तिष्क नै हुन्छ । कुनै पनि रोबोट सञ्चालक वा कम्प्युटरमा जडित सफ्टवेयरको निर्माता मानव मस्तिस्क हुन्छ, जुन मानव मस्तिकमा विवेक, संवेदनशीलता तथा मानव अधिकार प्राकृतिक गुणहरु रहेका हुन्छन् । तर मानव निर्मित रोबोटमा मानवीय विवेक, संवेदनशीलता र मानवीय गुणहरु हुँदैनन् । अवश्य पनि नरभक्षी फासिवादी साम्राज्यवादी हिटलर, मुसोलिनी वा ट्रयुम्यान आदिमा पनि मानवीय संवदेनशीलता, विवेक र मानवीय गुणहरुको अभाव रहेको देखिन्छ । मानवीय संवदेनशीलता नभएका साम्राज्यवादी तथा विकसित पुँजीवादी मुलुकहरुले उत्पादन गरिने रोबोटमा कस्ता हार्डवेयर, सफ्टवेयर हाल्ने हुन् ? त्यो स्वत: प्रष्ट छ । एउटा रोबोट एउटै स्थिर र अर्को हिड्डुल गर्ने हुन्छ ।
बङ्गलादेशमा बहुराष्ट्रिय कम्पनीले तयारी पोशाकमा कारखानाहरुमा ठुलो लगानी गरेका छन् । बङ्गलादेशको एउटा गारमेन्टको एउटा तलामा मजदुरहरुले हातले सिउँछन् । अर्को तलामा मजदुर र मेसिनले काम गर्छन् । तेस्रो तलामा रोबोटहरुले मात्रै काम गर्छन् । यसले के देखाउँछ भने रोबोटले मजदुरलाई विस्थापित गर्नेछन् । तर बुद्धिमान रोबोटले सबै क्षेत्रबाट मजदुरलाई विस्थापित गर्न सक्दैनन् । के अनुमान गरिदै छ भने विकसित प्रविधिले गर्दा तीव्र रूपमा उद्योग र अर्थतन्त्रको बीचमा शारीरिक, डिजिटल र बायोलजिक विश्वको प्रष्ट चित्र देखिदैन । पुँजीवादी विश्लेषकहरु के भन्छन् भने रोबोटले ठुलो सङ्ख्यामा एसियामा बेरोजगारी निम्त्याउने छ । २०१४ मा चीनसँग गैर स्वचालित कारखानामा प्रति १०,००० मा एघार वटा रोबोट थिए भने स्वचालित पार्टपुर्जा जोड्ने कारखानामा प्रति १०,००० मजदुर भएको कारखानामा २१३ वटा रोबोट थिए । यो सङ्ख्या भनेको जापान, संयुक्त राज्य अमेरिका अथवा जर्मनीको भन्दा थोरै हो । चीनले रोबोटमा लगानी बढाउँदै लगेको छ । तर ज्यादै गरिब मुलुकहरुले नयाँ प्रविधि अपनाउन ठुला बाधा हटाउनु पर्छ । बङ्गलादेशका कारखानामा बिजुली बन्द हुँदा र मजदुरले हड्ताल गरे पनि स्वचालित यन्त्रहरुले काम गरी रहन्छन् ।
अक्सफोर्ड विश्व विद्यालयका कार्ल फ्रेक र माइकेल ओसबोर्नेले २०१३ मा अध्ययन गरेर के औल्याए भने आउँदा दशकमा अमेरिकाका कुल कामदारमध्ये ४७ प्रतिशत मजदुर स्वचालित यन्त्रले गर्दा बेरोजगार हुने खतरा छ । त्यस्तै, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले पनि के चेतावनी दिएको छ भने स्वचालित उच्च प्रविधिले गर्दा कम्बोडिया, इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड र भियतनाममा ५६ प्रतिशत मजदुरहरु एक वा दुई दशकमै विस्थापित हुनेछन् । तर यस्ता गम्भीर भविष्यवाणी सत्य होइनन् । किनभने धेरैजसो सबै कामहरु स्वचालित रोबोटले गर्न सक्दैन । तर ओ.ई.सी.डी. (अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट) ले २०१६ मा गरेको अध्ययन अनुसार त्यसको खण्डन गर्दै ओ.ई.सी.डी. का मुलुकमा मोटामोटी रूपले २१ प्रतिशत मजदुर बेरोजगार हुने खतरा छ । यही तर्क नै एसियामा पनि लागु हुन्छ । उदाहरणका लागि आई.एल.ओ. ले के भविष्यवाणी गरेको थियो भने भियतनाममा ७० प्रतिशत मजदुरले कामबाट हट्नु पर्छ भनेकोमा भियतनामको समग्र ठुलो अनौपचारिक अर्थतन्त्रको हिसाब गर्दा १५ प्रतिशतले मात्र रोजगारी गुमाउने खतरामा रहेको जनायो । विकासोन्मुख मुलुकमा सडक बढार्नेहरुलाई थोरै ज्याला दिइने हुनाले उनीहरुलाई स्वचालित महङ्गो प्रविधिले कुनै विशेष असर गर्दैन भने विकसित पुँजीवादी मुलुकहरुमा जति रोजगारी गुमाउनु पर्दैन ।
एसियामा रोबोटको व्यापक माग भई रहेछ, विशेष गरेर चीन र दक्षिण कोरियामा । विकासोन्मुख मुलुकहरुले पनि स्वचालित रोबोट प्रविधि भित्राए पनि श्रमजीवी वर्गलाई बेरोजगारी हुनबाट जोगाउन प्राविधिक सिपमूलक छोटा अवधिका तालिमको व्यवस्था गर्न सक्नेतिर ध्यान केन्द्रित गर्न सक्छन् । विकसित पुँजीवादी मुलुकका मजदुरले स्वचालित उद्योग वा रोबोटद्वारा कार्य सम्पादन गरेका अवस्थाबारे चर्चा गरौँ ।
स्वेडेनको न्यू बोलिडिन खानीमा आधा माइल जमिनमुनि एउटा रोबोट खानीमा काम गर्न जाँदै छ र यो दृश्य मिका पर्सोनले एउटा कोठामा बसेर चार वटा कम्प्युटरको सहायताले हेर्दै छ । रोबोटले भर्खरै विस्फोट गरिएका चट्टानका टुक्राहरु उचाल्दै छ, जुन चट्टानका टुक्रामा चाँदी जस्ता र सिसा रहेका छन् । यदि मजदुर त्यहाँभित्र हुने हो भने धुलाम्य भएर थकित भएर लामो सास फेर्दै हुन्थ्यो । ऊ सचेत छ कि रोबोटहरु स्वाभाविकै रूपले काम गर्नेछन् । बोलिडिनले ट्रक ड्राइभरलाई कामबाट हटाउन स्वचालित ट्रकको परीक्षण गर्दै छ । तर परसोन के विश्वास गर्छन् भने जनता मेसिन चली रहोस् भन्छन् र स्विडिस आर्थिक मोडेल र यसको शारीरिक र मानसिक कष्टबाट रक्षा गर्ने नीति छ । उनी के भन्छन् भने “म साँच्चिकै चिन्तित छैन, त्यस खानीमा थुप्रै कामहरु छन्, यदि कामहरु यहाँ भएनन् भने कम्पनीले उनीहरुको हेरविचार गर्ने छ ।”
विश्वका अधिकांश सर्वहारा वर्गको जीवन पेचेकमा अडेको छ । उनीहरुको रोजगारी स्वचालित यन्त्रले गर्दा बेरोजगारीको तरवार लट्केकाले चिन्तित छन् । भूमण्डलीकरणले गर्दा उत्तर अमेरिका र युरोपका सर्वहारा वर्गले एसिया र ल्याटिन अमेरिकीस मजदुरहरुसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नु परेकाले बेरोजगारी बढ्दो छ । अहिले रोबोट आई रहेछ, जसले मानव जातिकै अस्तित्व समाप्त पार्ने खतरा आएको छ । तर यस्ता कुराले स्वीडेन र उसका स्केन्डिनेभियन (स्विडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क र आइसल्यान्ड) छिमेकी मुलुकरुमा मजदुर युनियन शक्तिशाली भएकाले सरकारले ठुलो परिणाममा समर्थन गर्छ र मजदुर र रोजगारदाताका बीचमा विश्वास र गहिरो सम्बन्ध छ । यी स्केन्डिनेभियन मुलुकमा रोजगारदाता सम्पन्न हुँदै गए भने त्यसको केही अंश मजदुरलाई दिने व्यवस्था छ, जबकि संयुक्त राज्य अमेरिका र बेलायतमा जति ठुलो नाफा भए पनि मजदुरलाई दिइदैन । ८० प्रतिशत स्विडिसहरु रोबोट र कृत्रिम तेज दिमागको पक्षमा छन् भन्ने तथ्य यस वर्ष (२०१७) युरोपेली कमिसनले गरेको सर्भेले जनाएको छ, जबकि पी रिसर्च सेन्टरले ७२ प्रतिशत अमेरिकी भने रोबोट र कम्प्युटरले स्थान लिनेमा चिन्तित छन् ।
कुनै पनि मुलुकमा जबसम्म पुँजीवादी व्यवस्था अर्थात् ठुला पुँजीपतिको सत्ता हुन्छ, तबसम्म त्यहाँ सर्वहारा वर्ग शोषित, पीडित नै हुन्छ । माथि उल्लेख गरे जस्तै स्केन्डिनेभियन मुलुकहरुले नि:शुल्क शिक्षा, स्वास्थ्य सुरक्षा र पुँजीपतिले नाफा बढे अनुसार त्यसको केही अंश मजदुरलाई दिन्छन् । अर्को शब्दमा भन्दा मजदुरलाई हडताल र विरोधका कार्यक्रम गर्न नै नदिने व्यवस्था गरेका छन् । जब अन्य विकसित पुँजीवादी मुलुकमा त्यस्तो व्यवस्था लागु भएको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले त ओबामा केयरलाई नै खारेज गरेर ठुला धनीलाई कर कटौती र मजदुर र मध्यम वर्गलाई कर भार थपेका छन् । जहाँसम्म नाफाको प्रश्न छ, उन्नत प्रविधि, स्वचालित उद्योगदेखि उन्नत बुद्धिमान रोबोटले निर्माण गरे पनि त्यसलाई सञ्चालन गर्ने मानव मस्तिष्क नै हुन्छ । उच्च कोटीका सफ्टवेयर निर्माण गर्ने मानसिक श्रम गर्ने जो अहोरात्र वा श्रम खर्चने अठार, बिस, बाइस घण्टा घोटिनेहरुलाई थोरै तलब दिएर शोषण नगर्ने हो भने रूपन्ट मर्डोक बिलगेट जस्ता विश्वका ठुला धनी हुने थिएनन् । यी सफ्टवेयर निर्माता हुन वा अन्य उत्पादन तथा सेवा क्षेत्रमा मोटो रकम लिने श्रमिक हुन्, सबै नै सबै क्षेत्रमा शोषित भई रहेका छन् । तर ती शोषित चाहे शारीरिक श्रम गरुन्, चाहे मानसिक श्रम शोषित छन्, तापनि आफू शोषित, पीडित भएको र पुँजीको दास भएको अनुभव गर्दैनन् । त्यस कारण उनीहरु सन्तुष्ट दास बनाइएका छन्, विशेष सुविधा दिएर विशेष गरेर स्केन्डेभियन मुलुकमा । जब दास तथा सन्तुष्ट दासहरुमा आफूहरु दासताको सिक्रीले बाँधिएर शोषित भएको वर्ग चेतना आउँछ, तब उनीहरुले दासताको सिक्रीलाई चुँडाल्ने छन् र पृथ्वीमा शोषण, दमन र दासताको अन्त्य भएको दिन सुनौलो बिहानको प्रारम्भ हुने छ ।