राष्ट्रिय जागरण अभियानको संयोजकमा नेपाली

0
1285

काठमाडौं । विगतमा नेकपा (मसाल) र त्यसको चुनावी मोर्चा तथा विभिन्न जनवर्गीय संगठनहरुमा रहेर काम गरेका व्यक्तिहरुको भेलाले राष्ट्रिय जागरण अभियान नामक संस्था गठन गरेको छ ।

भेलाले पूर्व सभासद सन्तबहादुर नेपालीको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरेको छ । अभियानको सदस्यहरुमा शशिधर भण्डारी, सुर्या थापा, नारायण शर्मा, सागर कुँवर, बाबुराम आचार्य र गौरीलाल कार्की रहेका छन् ।

अहिले देशमा देखिएको भ्रष्टाचार, कमिशनखोरी सीमा अतिक्रमण, मानव अधिकारको हनन, वैदेशिक हस्तक्षेप, महंगी, कालो बजारी, करछली लगायत समाजमा भैरहेको जातीय, वर्गीय, लैंगिक उत्पीडनका विरुद्ध सांस्कृतिक जागरण ल्याउनका लागि यसप्रकारको अभियान आवश्यक रहेको अभियानका सदस्य गौरीलाल कार्कीले बताउनु भयो ।

राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा निरन्तर आवाज उठाउने, दलित, जनजाति, महिला लगायत उत्पीडित वर्गका बीचमा सचेतनामूलक अभियान संचालन गर्ने, समाजमा व्याप्त रहेको आर्थिक शोषण तथा सामाजिक उत्पीडनका विरुद्ध जनताबीच भण्डाफोर गर्दै जनतासित सुमधुर सम्बन्ध स्थापित गर्ने यस अभियानको उद्देश्य रहेको कार्कीले बताउनुभयो ।

राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको लागि आम जागरणको खाँचो औंल्याउँदै अहिले नौ दलले सञ्चालन गरेको संघर्षलाई सशक्त र दबाबमूलक बनाउनका लागि हरसम्भव प्रयत्न गर्ने र जनतामा व्यापक जागरण ल्याउनका लागि सांस्कृतिक जागरणका कार्यक्रमहरु समेत संचालन गर्ने अभियानले जनाएको छ ।

उता नेकपा मसालले भने राष्ट्रिय जागरण अभियानलाई पार्टीबाट निक्काष्ति केही व्यक्तिहरुको खेल रहेको बताएको छ । मसालका प्रवक्ता रामप्रकाश पुरीले विहिबार एक विज्ञप्ती जारी गर्दै जागरण अभियानको गठन पार्टी फुटाउने षडयन्त्र भएको बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here