काठमाडौँ । विभिन्न विषयविज्ञ तथा राजनेताहरुले नेपाली राष्ट्रियतालाई बचाउनका निम्ति सशक्त देशभक्तिपूर्ण आन्दोलन उठान गर्न अब विलम्ब गर्न नहुने बताएका छन् । नेपाली शासकहरुले विगतमा विभिन्न देशहरुसँग सन्धि–सम्झौता गर्दा नेपाली स्वाधीनता र सार्वभौमिकताको ख्याल गर्न नसकेको बताउँदै उनीहरुले विगतका ती राष्ट्रघाती सन्धि–सम्झौताहरुको खारेजीमा विशेष जोड दिएका छन् । विगतका राष्ट्रघाती सबै सन्धि–सम्झौताहरु खारेज गरी पञ्चशीलका आधारमा नेपाली स्वाधीनता र सार्वभौमिकतालाई प्राथमिकतामा राखेर भारतसँग नयाँ सन्धि–सम्झौता गरिनु पर्ने उनीहरुको सुझाव छ ।
नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) र नेकपाको संयुक्त आयोजनामा काठमाडौँको बागबजारस्थित होटल हार्दिकको सभालमा २०७५ वैशाख ४ गते आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न विषयका विज्ञ तथा राजनेताहरुले उक्त कुरा बताएका हुन् । “भारतसँगका असमान सन्धि–सम्झौता र राष्ट्रियताको प्रश्न” विषयक सो अन्तरक्रियामा बोल्दै उनीहरुले सत्तासिन प्रमुख भनिने दलहरुको आत्मसमर्पणवादी चरित्रका कारण नेपाली राष्ट्रियता दिन–प्रतिदिन सङ्कटको भुमरीमा पर्दै गइरहेको बताए । भारतले कैयौँ स्थानहरुमा नेपाली सिमाना र भूमि मिचेको दृष्टान्त प्रस्तुत गर्दै उनीहरुले मिचिएका ती सिमाना र भूमि राजनीतिक र कूटनीतिक माध्यमबाट फिर्ता गर्न पहल गर्नु पर्नेमा समेत जोड दिए ।
अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता राम प्रकाश पुरीले नेपाली राष्ट्रियताको रक्षाका लागि देशभक्त तथा जनतान्त्रिक शक्तिहरुले मोर्चाबन्दी गरेर आन्दोलनको उठान गर्न अब विलम्ब गर्न नहुने बताउनु भयो । भारतले नेपालसँग सधैँ स्वार्थको सम्बन्ध राख्ने गरेको स्मरण गराउँदै प्रवक्ता पुरीले सत्तासिन दलहरुमा आत्मसर्मपणवादी चरित्र दोहोरिई रहँदा नेपाली राष्ट्रियता दिन–प्रतिदिन सङ्कटको भुमरीमा फस्दै गएको बताउनु भयो । “सन्धि–सम्झौता हुँदा विगतमा राष्ट्रघात हुने गरेका छन् । त्यसको विरोध पनि भएको छ । त्यो विरोध हुँदा हुँदै फेरि पनि राष्ट्रघात हुनु निकै दु:खद कुरा हो” प्रवक्ता पुरीले भन्नु भयो– “देशभक्त तथा जनतान्त्रिक शक्तिहरु मिलेर देशभक्तिपूर्ण सशक्त आन्दोलन उठाउन अब विलम्ब गरिनु हँुदैन ।” सम्बोधनको क्रममा उहाँले अन्तर्राष्ट्रिय रूपमा कूटनीतिको महत्त्व निकै बढेर गएको बताउँदै कैयौँ विषयहरुलाई कूटनीतिक तवरले पनि मिलाउन सकिने भए पनि सत्तासिन दलहरुमा कूटनीतिक चातुर्यता नहुँदा नेपाली राष्ट्रियता थप सङ्कटमा पर्दै गएको यथार्थता प्रष्ट्याउनु भएको थियो ।
अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी–माओवादी) का स्थायी समिति सदस्य सी.पी. गजुरेलले नेपाली राष्ट्रियताको रक्षाका लागि क्रान्ति आवश्यक रहेको बताउनु भयो । अहिले भारत भ्रमणमा गएर आएपछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष के.पी. शर्मा ओलीको राष्ट्रवादी मुकुण्डो उघारिएको उहाँले बताउनु भयो । देशका युवाहरुलाई विदेश पठाएर उनीहरुले पठाउने रेमिट्यान्सबाट अर्थतन्त्र चलाउनेहरुले देशलाई विकास र समृद्धिको मार्गमा हिडाउन नसक्ने उहाँको दावी थियो । एमाले र माओवादी केन्द्रले वाम गठबन्धनको नाममा भ्रम छरिरहेको भन्दै सम्बोधनको क्रममा उहाँले त्यसलाई चिर्नका लागि पनि क्रान्तिकारी कम्युनिस्टहरु एक हुनु पर्नेमा जोड दिनु भएको थियो ।
अन्तरक्रियामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य सन्तोष बुढा मगरले विगतमा भएका सबै राष्ट्रघाती सन्धि–सम्झौताहरु खारेज गरिनु पर्नेमा जोड दिनु भएको थियो । क्रान्ति सम्पन्न नभई वास्तविक स्वतन्त्रता प्राप्त नहुने भन्दै नेता बुढा मगरले प्रचण्ड र बाबुरामले भारतीय विस्तारवादकै डिजाइनमा नेपाली क्रान्तिलाई धोका दिएको बताउनु भयो । विगतका असमान र राष्ट्रघाती सन्धि–सम्झौताहरु खारेज गरी नयाँ सन्धि–सम्झौताहरु नयाँ परिवेश अनुसार गर्नु पर्नेमा उहाँले विशेष जोड दिनु भएको थियो ।
नेकपाका अध्यक्ष ऋषि कट्टेलले अन्तरक्रियालाई सम्बोधन गर्दै वर्तमान प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी रहेको प्रष्ट भएको बताउनु भयो । महाकाली सन्धिको प्रसङ्ग उठाउँदै उहाँले मध्यरातमा महाकाली सन्धि गर्दा ओलीले खेलेको खलनायकी भूमिका देशभक्त नेपाली जनताले कहिल्यै बिर्सन नसक्ने बताउनु भयो ।
अन्तरक्रियामा आफ्ना विचार राख्दै पूर्व मन्त्री एवं परराष्ट्रविद हिरण्य लाल श्रेष्ठले विदेशी थिचोमिचोलाई पराजित गर्न सके मात्र राष्ट्रियता बलियो हुने बताउनु भयो । नयाँ सन्धि–सम्झौताहरु गर्दा स्पष्ट रूपमा पञ्चशीलका आधारमा भनेर उल्लेख गर्न सक्नु पर्ने र हाम्रो स्वाधीनता र सार्वभौमिकतामाथि ध्यान दिन सक्नु पर्ने उहाँको सुझाव थियो ।
सीमाविद बुद्धि नारायण श्रेष्ठले भारतले मिचेको सिमाना राजनीतिक र कूटनीतिक माध्यमबाट पहल गरी फिर्ता गर्नु पर्ने बताउनु भयो । सन् १९५० को भारतसँगको सन्धिका धेरै धाराहरु कार्यान्वयन नै नभएको बताउँदै उहाँले त्यसलाई पूर्ण रूपमा खारेज गरी नयाँ मैत्री सन्धि गर्नु पर्नेमा जोड दिनु भएको थियो । नेपाली सीमा मिच्ने काम दक्षिणबाट मात्र नभई उत्तरी छिमेकीले पनि बेलाबेलामा बलमिच्याइ गर्ने गरेको उहाँको थप भनाइ थियो ।
अन्तरक्रियामा बोल्दै पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले नेपाली नेताहरु भारत भ्रमणमा जाँदा आगो बनेर जाने र फर्किदा निभेको अगुल्टो बनेर आउने गरेको बताउनु भयो । हाम्रा नीति र नियमहरुमाथि नै विदेशीहरुले हमला गरिरहेको बताउँदै पूर्व गभर्नर क्षेत्रीले जसले हामीलाई पीडा दिन्छ, त्यसको विरोध गर्नु पर्ने बताउनु भयो । आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जनस्तरबाट पनि त्यति जाँगर नचलाइएकोप्रति उहाँले गुनासो व्यक्त गर्नु भयो । विदेशी संस्थाहरुले विकास र समृद्धिमा भन्दा विग्रह र विखण्डनमा बढी सहयोग गरिरहेको उहाँको दावी थियो ।
पूर्व मन्त्री एवं जलश्रोतविद दिपक ज्ञवालीले अन्तरक्रियामा आफ्ना विचार राख्दै महाकाली, गण्डकी, कोशी सम्झौताको अवधि सक्किई सकेकाले ती सबै सन्धि–सम्झौताहरु खारेज गरेर नेपालको हित हुने गरी नयाँ सन्धि–सम्झौता गरिनु पर्ने बताउनु भयो । भारतको मुख्य चासो बिजुली नभई नेपालको पानीमाथि कब्जा जमाउनु रहेको उहाँले प्रष्ट पार्नु भयो । विगतमा संसदलाई छलेर भारतसँग सन्धि–सम्झौताहरु गरिने गरेको प्रसङ्ग उठाउँदै उहाँले आउने दिनमा त्यो गल्ती दोहोर्याउन नहुने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी–माओवादी) का स्थायी समिति सदस्य रामसिंह श्रीसले गर्नु भएको थियो भने स्वागत मन्तव्य नेकपा (मसाल) का प्रतिनिधि हिमलाल पुरीले राख्नु भएको थियो । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका केन्द्रीय सदस्य आजादले अन्तरक्रिया कार्यक्रमको सञ्चालन गर्नु भएको थियो भने ऋषि कट्टेल नेतृत्वको नेकपाका पोलिट ब्युरो सदस्य रत्न प्रसाद जोशीले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।