एकता समाजले युरोपमा दुई महिने संगठनात्मक अभियान आजबाट शुरु गर्दै

0
497

बेल्जियम । युरोप नेपाली एकता समाजले युरोपका विभिन्न देशहरुमा दुई महिने विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएको छ । अभियान ९ जनवरी २०१९ देखि सुरु हुनेछ । अभियान अन्तर्गत युरोपका विभिन्न देशहरुमा सङ्गठन निर्माण, बैठक, भेला र अन्तरक्रिया लगायतका कार्यक्रमहरु गरिने युरोप नेपाली एकता समाज केन्द्रीय समितिले जनाएको छ ।

सङ्गठनात्मक अभियानका लागि नेपालबाट राष्ट्रिय जनमोर्चाका युवा नेता कृष्ण अधिकारी युरोप आइसक्नु भएको छ । प्रत्येक देशका कार्यक्रमहरुमा नेता अधिकारी पुग्नु हुने समेत बताइएको छ । कार्यक्रम ९ जनवरीदेखि १३ सम्म पोर्तुगलमा, १४ देखि १९ सम्म स्पेनमा, २० देखि २३ डेनमार्कमा, २४ देखि २६ सम्म स्विडेन र फिनल्यान्डमा, जनवरीकै २९ र ३० मा बेल्जियममा, जनवरी ३१ देखि फेबु्रअरी २ सम्म लक्जमबर्गमा, फेबु्रअरी ३ मा जर्मनमा, १० फेबु्रअरीमा हल्यान्डमा र फेबु्रअरी १२ मा फ्रान्समा गरिने छ ।

स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्माले बताउनु भए अनुसार स्पेनमा १४ जनवरी २०१९ का दिन अन्तरक्रियात्मक भेला आयोजना गरिएको छ ।

दुई महिने विशेष सङ्गठनात्मक अभियानलाई सफल पार्न अनुरोध गर्दै युरोप नेपाली एकता समाजले एक अपिल समेत प्रकाशित गरेको छ । अपिलमा अगाडि भनिएको छ– “युरोप नेपाली एकता समाज सम्पूर्ण युरोप देशभित्रका नेपाली समुदायहरुलाई सङ्गठित गर्ने उद्देश्यबाट गठन भएको सामाजिक सङ्गठन हो । यो अन्तर्राष्ट्रिय नेपाली एकता समाजको शाखा सङ्गठनको रूपमा २०१६ देखि युरोपमा कार्यरत छ । यसले विदेशमा रहेका श्रमजीवी नेपालीहरुको बीचमा एकता र सदभाव कायम गर्दै उनीहरुको कल्याण र उत्थानका लागि काम गर्दै आएको छ ।

युरोपमा पनि नेपालीहरुको आर्थिक सामाजीक हक–हित र अधिकार रक्षाका लागि, नेपालीहरुका भाषा र संस्कृतिको विकासका लागि, नेपालीहरुका मानवीय, कानुनी हित रक्षा र कानुनी संरक्षण प्राप्त गर्नका लागि र प्रवासी नेपालीहरुलाई कार्यरत मुलुकबाट नै राष्ट्रिय चुनावहरुमा मताधिकारको अधिकार दिलाउनका लागि सङ्घर्ष गर्दै आएका छौँ । हालै नेपालको सर्वोच्च अदालतले प्रवासी नेपालीहरुलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । त्यसको स्वागत गर्दै त्यस निर्णयलाई तुरुन्त कार्यान्वयन गर्न माग गर्दछौँ ।

आफ्नो मातृभूमिदेखि हजारौँ किलोमिटर टाढा रहे पनि नेपालको राजनीतिक परिस्थितिदेखि हामी अनभिज्ञ रहन सक्दैनौँ । नेपालको लोकतन्त्र तथा गणतन्त्र प्राप्तिको आन्दोलनका साथै राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा चलेको आन्दोलनहरुमा प्रवासी नेपालीहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ । आज देशमा स्थिर सरकार गठन भएको छ तर देशले कुनै उपलब्धि हासिल गरेको छैन । महङ्गी, लुट, भ्रष्टाचार, कालोबजारी, बलत्कार र दण्डहीनता झनै बढेर गएको छ । देशको राष्ट्रियता दिन–प्रतिदिन झन् कमजोर बनेको छ । नयाँ संविधान निर्माणसँगै गणतन्त्र संस्थागत भए पनि नेपाली समाजको आधारभूत संरचनामा सामान्य परिवर्तन आए पनि आधारभूत संरचनामा परिवर्तन भएको छैन । मुलुकमा पुँजीवादी राजनीतिक क्रान्तिको चरण समाप्त भएको भन्दै दक्षिणपन्थी अवसरवाद तीव्र रूपमा हावी हँुदै गइरहेको छ । सङ्घीयता खारेजीको प्रश्न पेचिलो रूपमा अगाडि आएको छ । राष्ट्रियताको रक्षामा गम्भीर बाधाहरु उत्पन्न भएका छन् । देशको सार्वभौमिकता कमजोर पार्ने र जनतालाई अनावश्यक करको बोझ बोकाउने सङ्घीयता व्यावहारिक रूपमै असफल भइसकेको छ । एकातिर, प्रतिगामी शक्तिहरु जाति, भाषा, क्षेत्र, धर्म आदिका नाममा देशलाई अस्थिरतातर्फ धकेल्न ठुलो प्रयत्न गरिरहेका छन् भने अर्कातिर, स्वयं सत्ताधारी र सत्ता बाहिर रहेका सङ्घीयताका पक्षधर दलहरुबाट नै देशको राष्ट्रियता, सार्वमौमिकता र अखण्डतालाई कमजोर पार्न जिम्मेवार छन् । राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा बिना विकास र समृद्व केवल नारा मात्र हुनेछन् । तसर्थ राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको निम्ति देश तथा प्रवासमा रहेका सम्पूर्ण सचेत राष्ट्रप्रेमी जनसमुदायको एकता अपरिहार्य छ ।

युरोप नेपाली एकता समाजले युरोपका विभिन्न देशहरुमा दुई महिने साङ्गठनिक कार्ययोजना बनाएको छ र पोर्तुगल, स्पेन, डेनमार्क, स्विडेन, फिनल्यान्ड, बेल्जियम, लक्जमबर्ग, जर्मन, होल्यान्ड र फ्रान्स आदि देशहरुमा भेला, सम्मेलन र अन्तरक्रिया आदि कार्यक्रमहरु तय गरेको छ । उक्त कार्यक्रमहरुमा सहभागिता जनाउन र उक्त कार्यक्रमहरुमा आर्थिक, भौतिक, नैतिक सहयोग र समर्थन गर्न सम्पूर्ण युरोपवासी नेपालीहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here