तौलिहवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा जनप्रिय नेता चित्र बहादुर केसीले वर्तमान व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुनै नसक्ने बताउनु भएको छ । “यही व्यवस्थाबाट जनताका आधारभूत समस्या समाधान हुनै सक्दैनन्” –अध्यक्ष केसीले भन्नु भएको छ– “तपाईले काङ्ग्रेस, एमाले लगायतका पार्टीलाई सोध्नु भयो भने यै व्यवस्थाबाट समाधान हुन्छ भन्छन् । तर हामीले त्यस्तो झुट कुरा गर्दैनौँ । जनताका आधारभूत समस्याहरुको समाधान यो व्यवस्थाबाट हुनै सक्दैन । त्यसका निम्ति त देशमा अझै ठुलो क्रान्ति गर्नु पर्ने आवश्यकता हुन्छ । नयाँ जनवादी क्रान्ति सम्पन्न नगरी ती समस्याहरुको आधारभूत रूपमा समाधान गर्न सकिदैन ।”
अध्यक्ष केसीले उक्त कुरा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा २०७५ वैशाख २५ गते आयोजित राजमो कपिलवस्तुको छैटौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै बताउनु भएको हो । सम्बोधनको क्रममा अध्यक्ष केसीले आफूहरु सङ्घीय प्रणालीकै विरोधी नभएको प्रष्ट पार्नु भयो । “सङ्घीयता एउटा प्रणाली हो । हामी त्यो प्रणालीकै विरोधी होइनौँ । जर्मनीमा त्यो प्रणाली सफल भएको छ, अमेरिकामा सफल भएको छ । तर नेपालमा त्यो सफल हुन सक्दैन । किनकि नेपाल जस्तो मुलुकका लागि सङ्घीयता उपयुक्त प्रणाली होइन” उहाँले भन्नु भयो– “सङ्घीयता नेपालको आर्थिक अवस्थाले धान्न सक्दैन । सङ्घीयता नेपाली जनताको आवश्यकता र माग दुवै होइन । नेपालमा त हाम्रो राष्ट्रिय अखण्डता र जातीय सद्भावलाई तहसनहस पार्ने बद्नियतबाट जबर्जस्ती लादिएको हो सङ्घीयता । अहिले ठुला भनिने दलका ठुला नेतालाई नै यो सङ्घीयताको घाँडो कसरी पन्छाउने भन्ने भएको छ ।” एउटा सरकार चलाउन धौ–धौ भएको देशले सात/सात वटा सरकार धान्नै नसक्ने उहाँको दावी थियो । “पहिले ६०१ सांसद हुँदा यो भेडिगोठ जनताले कसरी पाल्न सक्छन् भनेर तपाईहरुले नै विरोध गर्नु भएको थियो । अहिले त सांसदहरुको सङ्ख्या नै आठ सय ८४ पुर्याएका छन् । पहिले केन्द्रमा एउटा सरकार थियो, अहिले प्रदेशहरुमा समेत गरी आठ वटा सरकार छन् । डेढ/दुई सय त मन्त्रीहरु बन्ने भए । अब भन्नुस्, यो सबै खर्च देशको अर्थतन्त्रले कसरी धान्न सक्छ ?” अध्यक्ष केसीले भन्नु भयो–“ त्यसैले हामीले सुरुदेखि भन्दै आएका हौँ– सङ्घीयता चाहिदैन देश टुक्राउन पाइँदैन । अहिले पनि हामीले सङ्घीयता खारेजीको माग गर्दै केन्द्र र प्रदेश समेत ज्ञापन पत्र बुझाएका छौँ । सङ्घीयता विरुद्धको हाम्रो सङ्घर्ष निरन्तर जारी रहने छ ।” भारतीय प्रधानमन्त्री मोदीलाई नेपालमा नागरिक अभिनन्दन र स्वागत गर्नु दासताको पराकाष्ठा हुने उहाँको भनाइ थियो । नेपालका ठुला भनिने दल र नेताहरुमा दास मनोवृत्ति रहेकै कारण देशले प्रगति गर्न नसकेको उहाँले बताउनु भयो । यातायातमा रहेको सिन्डिकेट अन्त्य गर्न पहल गर्नु सरकारको सकारात्मक कदम भएको जनाउँदै अध्यक्ष केसीले शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा रहेको सिन्डिकेट पनि तोड्नु पर्नेमा जोड दिनु भएको थियो ।
राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आचार्यको अध्यक्षता र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय सदस्य माधव भाट क्षेत्रीको सञ्चालनमा अघि बढेको सो उद्घाटन समारोहमा स्वागत मन्तव्य राजमो कपिलवस्तुका उपाध्यक्ष हरि प्रसाद बेलबासेले राख्नु भएको थियो । सम्मेलनलाई तराई मधेश जनवादी मोर्चाका केन्द्रीय अध्यक्ष बद्रे आलम, अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राजमो ५ नम्बर प्रदेशका सदस्य हिमलाल वाग्ले, नेकपा (मसाल) का कपिलवस्तु जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार शशि सापकोटा, जातीय समता समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विक, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य चन्द्र बदन श्रेष्ठ र अखिल नेपाल ट्ेरड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केयर सिंह अदैले समेत शुभकामना दिनु भएको थियो ।