बागलुङ । अखिल नेपाल युवक सङ्घ बागलुङको आयोजनामा दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । २०७५ कार्तिक ११ गते बुर्तिवाङमा प्रशिक्षण सम्पन्न भएको थियो ।
कार्यक्रममा युवक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुनले युवाहरु रचनात्मक बन्नु पर्ने आवश्यकतामा जोड दिनु भयो । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पुनले युवाहरु प्रतिक्रियात्मकभन्दा पनि रचनात्मक बन्नु पर्ने बताउनु भयो । उहाँले मुलुकको विकासका लागि युवा पुस्ताप्रति ज्यादा भरोसा रहेको बताउँदै युवा पुस्तामा राजनीतिक चेत हुनु पर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाका साथै धन बहादुर कुँवर, तारा कुमारी पुन, थम्मन घर्तीले कार्यक्रममा शुभकामना दिनु भएको थियो ।
प्रशिक्षणमा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले विकास निर्माण र युवाको भूमिका, राजमो जिल्ला अध्यक्ष अमर थापाले समसामयिक राजनीति, राजमो जिल्ला सदस्य गौरीश्वर पाण्डेले अनुशासन, युवक सङ्घका सल्लाहकार तिलक थापाले युवा आन्दोलन, युवा नेता भीमसेन वनले युवाका तात्कालिक कार्यक्रम र प्रगति बुढाले युवाको समसामयिक भूमिकाको विषयमा प्रशिक्षण दिनु भएको थियो ।
युवक सङ्घका जुनविक्रम शाहीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तव्य सञ्जाल शर्माले र सञ्चालन वीरेन्द्र थापाले गर्नु भएको थियो ।