म बलत्कृत भएँ र मरे सरकार

0
916

सरकार मेरो लास
उखु बारीको बिचमा छ
शरिरको तल्लो भाग पानीले छिपछिप छ
अनि अर्ध नग्न अवस्थामा लम्पसार छ
मेरो निस्प्राण मृत शरीर ।

म जन्मिदा मसँग प्राण थियो
सास फेरेकै अवस्थामा
जन्माएकि थिइन मेरी आमाले
म ज्युँदो छु भनेर
रुँदै पाइला टेकेकी थिएँ यो धर्तीमा ।

को को खुसी भए ?
को कोले दुःख मनाए ?
त्यो त मैले थाहा पाइन ।
तर मेरी आमाको आँखामा
बगेका आँशु हर्षकै थिए
प्रसवका अनगिन्ती पिडाहरुलाई
आफ्नो काखमा मलाई च्यापेर
मुसुक्क मुस्कुराइकी थिइन मेरी आमा ।

जीवनका १३ बर्षहरु
हर्ष, उल्लास र खुसीमै बिते
बाल्य जीवनका अनगिन्ती यादहरु
साथी संगी र आफन्तहरु
सबै सबै सङका मायाहरु संहालेर
एउटा सुधुर भविष्यको मिठो काहानी बनाउन
हरदिन हररात तल्लीन थिएँ म ।

जिन्दगीको सुन्दर फूल फुलाउन
मलाई यो धर्ती र माटो निकै प्यारो लाग्थ्यो
खुल्ला निलो आकाशमा
निस्फिक्री पखेटा खोलेर उड्न
कयौं बेगहरु हानेर निकै माथी पुग्ने
मन भित्र अनगिन्ती सपनाहरु थिए ।

म फूल जिन्दगीको
क्षितिजको वरिपरि फुलाउँदै थिएँ
अनेकौं फूलहरुको बगैचामा
खोइ कसरी म माथी
ब्वासाको नजर प‍र्यो
मलाई निमोढ्न खोज्यो
मलाई चुड्न खोज्यो
मलाई टुक्राउन खोज्यो ।

म हार गुहार गरें
म क्रन्दन र चीत्कार गरें
मेरो शरीरले कुनै पनि पीडा थेगेन
हरेक पिडाहरुमा
एउटै कुरा मागी रहें
मेरो जीवनको भिक्षा
हरेक आर्तनादहरुमा भनें
मरो प्राण नलुट ।

मलाइ लुटे
मेरो शरिर लुटे
मेरो सर्वस्व लुटे
मेरो सब थोक लुटे
तर मैले एउटै कुरा जोगाउन खोजें
मेरो सास ।
अन्तिम सास फेर्नुअघि
मैले छोडे यो संसार
मैले त्यागें यो धर्ती ।

आमा मैले त्यागे यो संसार
तिमीले गरेको माया
बाबाले दिएको प्यार
आफन्तका अनगिन्ती संझनाहरु छाडेर
म उखु वारिमा लम्पसार छु
कसै गरेपनि मैले
तिम्रो सामु ज्युँदो मात्र पनि फर्कन
केही गरि सकिन आमा।

सरकार
म मरि सकें
मैले देह त्याग गरि सके
म बलत्कृत भएँ र मरे
सरकार एउटा पुलिस काम लागेन
म बाँच्नको लागि !
अब माग्नु केही छैन
तर मेरो प्राण लुट्ने ब्वांसोलाई
कहिले समात्छस सरकार ?
बांचेर पनि काँपिरहेका मेरा साथी र संगीलाई
बाच्न पाइन्छ चेलि भनेर
कहिले भन्छस् सरकार ?
काँपी रहेका उनीहरुलाई
हामी छौँ नडराउ भनेर
कहिले सम्झाउँछस् सरकार ?
सरकार मेरो लास माथी बलत्कार नहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here