पश्चिम भारत । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले स्याङ्जाकी विष्णु नेपालीलाई क्षतिपूर्ति दिलाइदिएको छ । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका वार्ड नं १ की विष्णु नेपालीका श्रीमानको भारतको एपिकल फिलामेन्ट कम्पनिमा काम गर्ने क्रममा मृत्यु भएको थियो । तर कानून बमोजिम पीडित पक्षलाई दिनुपर्ने क्षतिपूर्ति नदिएर कम्पनीले लामो समयसम्म पीडित विष्णु नेपालीलाई आलटाल गर्दै पटक पटक दु:ख दिएको भन्दै मूलप्रवाहलाई सहयोगको लागि अनुरोध गरेकी थिइन् ।
मूलप्रवाहले पीडित नेपालीलाई आवश्यक सहयोग पुर्याउन केन्द्रीय सचिव प्रेम पौडेलको नेतृत्वमा पश्चिम भारत क्षेत्रिय अध्यक्ष बेदबहादुर कार्की, सुरत सचिन नगर समितिका सचिव जङ्ग पल्ली र तेज ब दियाल लगायतको प्रतिनिधि मण्डललाई जिम्मेवारी दिएको थियो । उक्त प्रतिनिधि मण्डलको लागातारको प्रयत्न पछि कम्पनीले पीडित नेपालीलाई दुई लाख छत्तीस हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिन तयार भएको हो ।
यसैगरी मूलप्रवाह सचिन नगर समितिका जङ्ग पल्ली, तेज ब दियाल, हरि गिरि, राम ब साउद, योगेन्द्र थापा र दिल ब नेपाली लगायत सचिन सुरतमा रहेका नेपालीहरुबाट पीडित परिवारलाई भनि संकलन गरेको सहयोग राशी पचास हजार भारतीय रुपैयाँ र कम्पनीले क्षतिपूर्तिवापत उपलब्ध गराएको दुई लाख छत्तीस हजार भारतीय रुपैयाँ गरी जम्मा दुई लाख छयासी हजार भारतीय रुपैयाँ पीडित नेपालीलाई हस्तान्तरण गरेको छ ।
साथै सहयोग संकलन अभियानमा जुटेका र सहयोग गर्ने सम्पुर्णलाई मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ । विपत्तिमा परेका जो कोही नेपालीलाई सहयोग पुर्याउन मूलप्रवाह नेपाली एकता समाज अहोरात्र खटिइरहेको क्षेत्रिय अध्यक्ष बेदबहादुर कार्कीले जानकारी दिनुभयो।