काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीहरुलाई कारवाही गर्नु पर्ने र देशव्यापी रूपमा बढिरहेका हत्या, हिंसाका घटनाको विरोध गर्दै अखिल नेपाल महिला सङ्घले बुटवल र काठमाडौँमा विरोध सभा सम्पन्न गरेको छ ।
अखिल नेपाल महिला सङ्घ रुपन्देहीको आयोजनामा २०७५ असोज २२ गते बुटवलको ट्राफिकचोकमा आयोजित सो विरोध सभालाई सम्बोधन गर्दै वक्ताहरुले छानबिन समितिको प्रतिवेदनले प्रष्ट सङ्केत गर्दा पनि निर्मला पन्तका हत्यारालाई कारवाही गर्न नसक्नु सरकारको लाचारीपन भएको बताए । सभालाई सङ्घकी अध्यक्ष मीना पुन र राजमो ५ नं. प्रदेशकी सांसद तारा जिसीले सम्बोधन गर्नु भएको थियो । विरोध सभाको सञ्चालन सङ्घकी केन्द्रीय सचिव तथा रुपन्देही जिल्ला अध्यक्ष लक्ष्मी न्यौपानेले गर्नु भएको थियो । सभा अघि चाादमारीबाट ट्राफिक चोकसम्म र्याली प्रदर्शन गरिएको थियो ।
असोज २२ गते काठमाडौँको भोटाहिटी चोकमा महिला सङ्घ काठमाडौँको आयोजनामा विरोध सभा सम्पन्न गरिएको थियो । सभालाई सङ्घकी केन्द्रीय कोषाध्यक्ष मनु विक, काठमाडौँ जिल्ला अध्यक्ष कमला पौडेल, जिल्ला सहसचिव तथा राजमो काठमाडौँ महानगरकी अध्यक्ष ऋतु केसी र राजमो काठमाडौँका सचिव जगत रेग्मीले सम्बोधन गर्नु भएको थियो । सभाको सञ्चालन महिला सङ्घ काठमाडौँकी सदस्य तथा राजमो टोखा नगर समितिकी अध्यक्ष अजिता ढकालले गर्नु भएको थियो ।