- सुमन थापा
वास्तबिक मन दुख्छ
कि मस्तिष्क ?
देख्ने नजर, सुन्ने यी कानहरु
वास्तविक के हुन ?
म हिँड्ने गोरेटो, मैले छुने माटो
यी शाश्वत सत्य हुन भने
खै कहाँ बिलायो न्याय ?
मलाइ छोएर बेग सङ्गै बग्ने पवन
निलगगनमा बरालिदै उड्ने बादल
खै कसलाई सोधुँ म
कहाँ सम्म छ तिम्रो गन्तव्य ?
तिमी त
कसैले छेकेर नछेकिने
रोकेर नरोकिने
तिमिले छोयौ होला पवन
तिमिले देख्यौ होला बादल
अबोध बालिकाको चिर हरण
उसका अङ्ग अङ्गका मासु लुछिँदा
उसका चित्कारका स्वरहरु
भनिदेउ ए घाम
तिमी साक्षी छौ भने
म जस्तो मुकदर्शक नबनिदेउ
श्रवण बिहिन आवाज
अनि रक्त मिश्रित आँसु
स्वाभिमानि देश हाँक्ने सामु पुर्याइदेउ
बन्द गरिएका मुखहरु
खोल्ने साहस थपिदेउ
न्याय का निम्ति
सडक सडक बरालिएका
बाबू आमाका ती पाइलाहरु
लज्जित छु म
स्वाभिमान देशको
नागरिक हुँ भन्न पनि
मैले सुन्ने धुनहरु
म रुँदा बग्ने आँसु
बगैंचामा फुलेका फुलहरु
कसलाई सोधुँ म
खै कहाँ लुकेको छ न्याय ?
मन दुखेको छ
मस्तिष्क चड्किएको छ
भनिदेउ मलाई
वास्तविक मन दुख्छ कि मस्तिष्क?
वास्तविक मन दुख्छ कि मस्तिष्क ??