साउन ३१, नयाँ दिल्ली । भारतको राजनीतिमा सदा महान हस्ती तथा एक लोकप्रिय चेहराको रुपमा चिनिने व्यत्तित्व पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको आज निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ९३ वर्षको उमेरमा निधन भएको हो ।
तीन पटक प्रधानमन्त्री बनेका बाजपेयी अस्वस्थताका कारण लामो समयदेखि सार्वजनिक जीवनबाट टाठा थिए । उनी डिमोंशिया नामको गम्भीर वीमारीबाट पिडीत थिए । सन २००९ बाट नै व्हीलचेयर मार्फत हिंडडुल गर्दैआएका पूर्व प्रधानमन्त्री पछिल्लो पटक दुई महिनादेखि एम्समा उपचाररत थिए । उनलाई पिशाव नलीमा संक्रमण भएपछि ११ जुनमा एम्समा भर्ना गरिएको थियो ।
२०१५ मार्च २७ तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीद्वारा भारत रत्न सम्मान गरिएको थियो । त्यतिवेला नै वाजपेयीलाई आम मानिसहरुले देख्ने अवसर पाएका थिए । भारतको प्रसिद्ध नारा “जय जवान, जय किसान” हो । त्यसमा बाजपेयीले “जय विज्ञान” भन्ने नारालाई जोडी देशलाई विज्ञान क्षेत्रमा पनि अगाडि बढाउनु पर्ने मान्यता दिएका थिए ।
बुधवार राति एम्सले मेडिकल बुलेटिन निकाल्दै अटलको स्वास्थ्य पछिल्लो २४ घण्टामा धेरै बिग्रिएको जनाएको थियो । त्यसपछि उनलाई “लाइफ सपोर्ट सिस्टम” मा राखिएको थियो । बिहीबार बिहान जारी बुलेटिनमाएम्सले अटलको स्थितिमा कुनै सुधार नभएको जनाएको थियो ।
अटल बिहारी वाजपेयी देशको सक्रिय राजनीतिमा पाँच दशक भन्दा धेरै समय सक्रिय रहे । उनी देशको पहिलो गैरकांग्रेसी प्रधानमन्त्री थिए । उनले आफ्नो पहिलो लोकसभा चुनाव १९५२ मा लडेका थिए । तर उनले जित भने १९५७ मा निकाले । त्यो बेलादेखि सन् २००९ सम्म उनी लगातार संसदीय राजनीतिमा सक्रिय रहे । सन् १९७७ मा उनी पहिलो पटक मन्त्री भए । त्यसपछी सन् १९९६ मा उनी १३ दिनका लागि प्रधानमन्त्री बने ।
सन् १९९८ मा फेरि उनलाई प्रम बन्ने मौका मिल्यो । त्यो बेला उनको सरकार केबल १३ महिना टिक्यो । त्यसपछी भएको लोकसभा चुनावमाएनडीए गठबन्धनको बहुमत सरकार बन्यो र वाजपेयीले प्रमका रुपमा आफ्नो कार्यकाल पूरा गरे । उनी सन् १९९१, १९९६, १९९८, १९९९ र २००४ मा लखनउबाट लगातार लोकसभा सदस्यमा निर्वा्चित भएका थिए ।
पछिल्लो पटक उनको केबल एउटा मात्रै मृगौलाले काम गरिरहेको थियो । ३० वर्षदेखि निजी चिकित्सक रहेका डा. रणदीप गुलेरियाको रेखदेखमा एम्समा उनको उपचार भइरहेको थियो ।
सन् १९२४ डिसेम्बर २५ तारिखमा जन्मिएका वाजपेयीको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएपछि श्रद्धाञ्जली दिन अस्पताल परिसरमा विशिष्ठ ब्यक्तिहरुको भिड लागेको छ ।