काठमाडौं । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको निष्कर्षसहित प्रहरीले दिनेश भट्टलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । दिनेश स्वयंले अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार हालसम्मको अनुसन्धानका क्रममा प्राप्त आधार र प्रमाणहरुका आधारमा दिनेश नै अभियुक्त रहेको बताईएको छ । दिनेशलाई नै अभियुक्तको रुपमा पेश गर्नुका मुख्यतः तीन आधारलाई प्रहरीले अघि सारेको छ ।
जसमा अभियुक्तको बयान, परिस्थितिजन्य प्रमाण र मोबाइल कल डिटेल, लोकेसन लगायत प्राविधिक प्रमाणलाई प्राथमिक आधारको रुपमा लिएको र सोही आधारमा दिनेश नै उक्त घटनामा संलग्न रहेको निष्कर्षमा पुगिएको ती प्रहरी अधिकृतले बताए ।
जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आरोपीले भागरथीलाई घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएको सुदूरपश्चिमका प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताउनुभयो ।
डीआईजी सुवेदीका अनुसार दिनेशले शुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उहाँको भनाइ छ ।
डीआईजी उत्तमराज सुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको बताउनुभयो । घटनामा दिनेशको मात्रै संलग्नता पाइएको उहाँको भनाई छ । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी छ । अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि थप तथ्यहरु बाहिर ल्याउने सुवेदीले बताउनुभयो ।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी गएको माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्केकी थिइनन् । उनी २२ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।