बाढीपहिरोको क्षतिप्रति राष्ट्रिय जनमोर्चा स्तब्ध

0
263

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले २०७५ असार ११ राती परेको भिषण वर्षाका कारण आएको बाढीपहिरोद्वारा उत्पन्न जनधनको क्षतिप्रति आफ्नो सङ्गठन स्तब्ध रहेको जनाएको छ । राजमोले मृतकप्रति श्रद्धाञ्जलीका साथै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ ।

असार १२ गते राजमो बागलुङका सचवि धर्म बहादुर कुँवरले प्रेस वक्तव्य जारी गर्दै यस्तो धारणा सार्वजनिक गरिएको हो । वक्तव्यमा अगाडि भनिएको छ– “२०७५ असार ११ गते राती परेको भिषण वर्षाका कारण बाढीपहिरोबाट बरेङ गाउँपालिका वडा नं. १ र २ का साथै जैमुनी नगरपालिकाको पैयुँथन्थाप, राङखानी, गल्कोट नगरपालिकाको दुदिलाभाटी, हरीचौर लगायतका स्थानमा भएको धनजनको क्षतिप्रति राष्ट्रिय जनमोर्चा जिल्ला समिति स्तब्ध भएको छ र त्यसप्रति दु:ख ब्यक्त गर्दछ । साथै उक्त प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना प्रकट गर्दछ ।

घटना विवरण अनुसार बरेङ गाउँपालिका–१ लुरुङ निवासी बिष्णु बहादुर क्षेत्री, उनको श्रीमती बिष्णुमाया क्षेत्री र पाँच महिनाकी छोरी सोनिया क्षेत्रीको मृत्यु भएको छ । साथै तीन वटा घर, चार वटा गोठ, दुई वटा भैँसी पहिरोले पुरिएको र मकै तथा धानवाली पहिरोले पुरिएर लाखौँको क्षति भएको छ । सोही गाउँपालिकाको वडा नं. २ हुग्दीशिरमा हुग्दीखोलामा आएको बाढीले कुमार श्रीस र लिल बहादुर श्रीसको बङ्गुर फार्म बगाएर लैजानुका साथै खोला आसपासका जग्गा तथा धानवालीमा लाखौँको क्षति पुगेको छ । जैमुनी नगरपालिका–९ पैयुँथन्थापमा पहिरोका कारण विजुवा माविको भवन तथा मौरीभिर, विजुवा, सावली, लामखोरियाका बस्तीहरू जोखिममा रहेका छन । साथै ठेउलेखोलामा आएको बाढीले लाखौँको धानवालीमा क्षति पुगेको छ । जैमुनी नगरपालिका–१० राङखानी, गलकोट नगरपालिकाको दुदिलाभाटी, हरिचौर लगायतका स्थानमा बाढीपहिरोले बालीनालीमा ठुलो क्षति पुगेको छ ।

उक्त प्राकृतिक प्रकोपबाट पीडितलाई यथाशीघ्र उद्धार तथा राहत उपलब्ध गराउन सम्बन्धित सबैले ध्यान पुराउन आग्रह गर्दछौँ । भर्खरै वर्षायाम सुरु हुन लागेको र आगामी दिनमा यस्ता घटनाबाट धनजनको थप क्षति हुन सक्ने सम्भावनालाई मध्येनजर गरी सजगता अपनाउन समेत अनुरोध गर्दछौँ ।”

त्यसैगरी, राष्ट्रिय जनमोर्चाकातर्फबाट प्रदेश नं. ४ का सांसद कृष्ण थापाले पनि बागलुङमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दु:ख प्रकट गर्नु भएको छ । सांसद थापाले पनि असार १२ गते प्रेस वक्तव्य जारी गर्दै दु:ख प्रकट गर्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here