असौज ९, बाग्लुङ । यतिवेला अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) बाग्लुङ जिल्ला सम्मेलनको भव्यताका साथ सफल पार्ने तयारीमा जुटेको छ । युनियनले विभिन्न स्थानीय निकायका विद्यालयहरुमा संगठन विस्तार, सदस्यता वितरण, प्रचार पसार एवं जनचेतना मुलक कार्यक्रमहरु सम्पन्न पश्चात सम्मेलनमा जुटेको हो ।
“सर्वशुलभ र जनवादी शिक्षाको लागि हाम्रो आन्दोलन, सामाजिक न्याय र समाज शिक्षाको लागि २३ औं बाग्लुङ जिल्ला सम्मेलन” भन्ने मूल नाराका तहत सम्पन्न हुने उक्त जिल्ला सम्मेलन यूनियनका महासचिव भिमलाल पोखरेलको प्रमुख आतिथ्यता तथा उद्घाटनमा सम्पन्न हुने हामीलाई हाम्रा सहयोगी सञ्जाल शर्माले मोबाइल सम्पर्कबाट जानकारी गराउनु भएको छ ।
सम्मेलनमा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा बाग्लुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना र राष्ट्रिय जनमोर्चा बाग्लुङ जिल्ला अध्यक्ष अम्मर थापाको विशिष्ट आतिथ्यता रहने छ ।
गलकोट नगरपालिकाको ८ नम्बर काडेबासस्थित शिव माविको प्राङगणमा असौज ११ गतेबाट शुरु हुने उक्त सम्मेलनमा जिल्लाका १० वटै स्थानीय निकाय गाउँपालिका/नगरपालिका, क्याम्पस, स्कूलहरुबाट करिब ३२५ प्रतिनिधि, पर्यवेक्षकहरुको सहभागिता रहने छ ।
सम्मेलन दुई दिनसम्म चल्ने छ । १२ असौजका दिन घोषणा सभामा नयाँ जिल्ला समितिको घोषणा गरिनेछ ।