प्रदेश नं. ५ को बजेट विनियोजन पक्षपातपूर्ण : सांसद जिसी

0
1109
बुटवल । राष्ट्रिय जनमोर्चा प्रदेश नं. ५ की सांसद तारा जिसीले प्रदेश सरकारको बजटे विनियोजन असन्तुलित र पक्षपातपूर्ण रहेको बताउनु भएको छ । “प्रदेश सरकारले बजेट विनियोजन गर्दा भेदभावपूर्ण व्यवहार अपनाएको छ, बजेट विनियोजन भौगोलिक हिसाबले असन्तुलित र पक्षपातपूर्ण छ” सांसद जिसीले भन्नु भएको छ– “पहुँचवाला माननीयहरूको क्षेत्रमा करिब चार दर्जन योजनामा बजेट विनियोजित गरिएको छ, जबकि प्युठान र कपिलवस्तु लगायत सरकारले नै सबैभन्दा बढी गरिबी रहेको औल्याएका जिल्लाहरूमा निकै सीमित बजेट छुट्याइएको छ । नारा ‘समृद्ध प्रदेश सुखी प्रदेश’ को दिने, नीति यस्तो भेदभावपूर्ण लिने ? यो त सरासर हात्तीको देखाउने दाँत एउटा र खाने दाँत अर्को भने झैँ भएको छ ।”
      प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलद्वारा प्रदेश संसदमा प्रस्तुत आर्थिक वर्ष २०७५/७६ को बजेटको विनियोजन विधेयकमाथिको छलफलमा २०७५ असार ११ गते भाग लिंदै सांसद जिसीले उक्त कुरा बताउनु भएको हो । छलफलमा भाग लिंदै सांसद जिसीले विपक्षी सांसदलाई निरुत्साहित पार्ने किसिमबाट प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनु भयो । “प्रत्येक सदस्यहरूलाई २–२ वटा मात्र योजना छान्न निर्देशन गरी आफ्नो पोल्टामा दर्जनौँ योजना राख्दा अरू सबैका अति आवश्यक योजना पनि छुट्न गएका छन् । जस्तै– प्युठानको मल्लरानी गाउँपालिकाको वडा नं. १, २ र ४ जहाँ जिल्लाको सदरमुकाम खलङ्गा बजार समेत पर्दछ, खानेपानीको गम्भीर समस्या छ र यही प्रदेशमा पर्दछ भन्ने कसैको दृष्टि पुगेन । राजमोले खानेपानी योजनाको प्रस्ताव सुरुमा राखेको थियो, पूर्वाग्रहका कारणले विनियोजन गरिएन” सांसद जिसीले भन्नु भयो– “विकासमा पिछडिएका जिल्लाहरूमा पक्कीपुल निर्माण सडक सञ्जाल विकासमा गम्भीर अवरोध बनेका छन् । फाँटेखोला चुँजाठाँटी जस्ता अति आवश्यक पुलमा त बजेट विनियोजन गरिएन नै, ढाड–सेउलीघारी पुल निर्माणको केही हिस्सा पुरा भइसकेपछि पनि कम्पनीले विभिन्न बहानामा कार्य रोकेको छ । साविकका ४–५ गाविसको जीवनरेखा यो पुलमा केही रकम प्रदेशबाट विनियोजनको ठुलो आशा राखेका त्यहाँका जनताको आशामाथि पनि विश्वासघात गरिएको छ ।”
         सांसद जिसीले बनावटी नाराले सत्तामा टिक्न नसकिनेतर्फ ध्यान दिन प्रदेश सरकारको ध्यान आकर्षित गर्दै समान र सन्तुलित विकासका लागि विधेयकमा तत्काल सुधारको माग गर्नु भयो । “सत्तामा कोही पनि अजम्बरी रहन नसक्ने इतिहास यहाँहरूले स्मरण गर्नु आवश्यक छ” उहाँले भन्नु भयो– “यो विनियोजन विधेयक पक्षपातपूर्ण, असन्तुलित र विभेदकारी भएकाले यसमा सुधार गरी छुटेका महत्वपूर्ण योजनाहरू थप गर्नु पर्दछ ।” प्रदेश नं. ५ संसदको बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा सङ्घीय समाजवादी फोरमका सांसद सन्तोष कुमार पाण्डे र सत्तापक्षीय सांसदहरू तुलाराम घर्ती मगर, दामा शर्मा, इन्द्र प्रसाद खरेल र दिपेश थारू लगायतले पनि बोल्नु भएको थियो ।