प्रदेशमा दोस्रो कार्यकालका लागि चुनाव गर्नै पर्दैन: चित्रबहादुर केसी

0
3233

काठमाडौं । संघीयताको विरोध गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेशका लागि अर्कोपटक चुनाव गर्नु नपर्ने दाबी गरेका छन् । विदेशीको आडमा एकाध वर्ष संघीयता टिके पनि यसको विरोधमा जनता सडकमा आउने उनको दाबी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबालु राउतले दिएको अभिव्यक्तिले केन्द्र र प्रदेशबीच विवाद शुरु भएको र यो विस्फोटक अवस्थामा पुग्ने केसीको विश्लेषण छ ।

‘संघीयतालाई डाँडो कटाउनुपर्छ भनेर मैले भन्दा मलाई गिज्जाइयो, अब यसको फल देख्न लागिएको छ,’ केसीले भने, ‘विदेशीले एकदुई वर्ष अड्याउलान्, तर पर्दा खुलिसकेको छ ।’

राष्ट्रिय जनमोर्चाले केहीदिन पहिले प्रधानमन्त्रीको कार्यालयमा संघीयता खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । ‘मुख्यमन्त्री र मन्त्रीका लागि यस्तो तामझाम गर्नु परेपछि संघीयता आर्थिक रूपले धान्न सक्ने कुरा भएन, जनताले पनि विस्तारै कुरा बुझ्दै छन्,’ मधेसमा समेत संघीयताको विपक्षमा जनमत रहेको उनको दावी छ ।

जनकपुरमा लैनचौर हावी भयो :-

पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले मोदीको अभिनन्दनको क्रममा जनकपुरमा नेपाल सरकारभन्दा भारतीय दूतावास हावी भएको आरोप लगाए । ‘नेपालका राष्ट्रपति जाँदा ढुङ्गामुढा गर्ने, भारतीय प्रधानमन्त्री आउँदा त्यस्तो तामझामपूर्ण अभिनन्दन गर्नुको नियत के हो ?’ केसीले प्रश्न गरे ।

उनले भारतीय जनता पार्टीका नेता कीर्ति आजादले भनेजस्तै भारत प्रदेश नम्बर २ लाई अलग्याउने षड्यन्त्रमा लागेको आरोप लगाए ।

सत्ताधारीहरू मोदी समक्ष नतमस्तक भए :-

नेता केसीले सत्तारुढ दलहरू भारतीय प्रधानमन्त्री मोदीसँग नतमस्तक भएको आरोप समेत लगाए । ‘मोदीले पहिला संविधान जारी गर्न नदिन विशेष दूत पठाए, त्यो रोकिएन । खारेजीका लागि अन्तर्राष्ट्रियकरण गरे, असफल भए । अहिले आफू अनुकूल संशोधन गराउन दबाब दिँदैछन,’ केसीले भने ।

नेपालका दलहरूलाई ललाइफकाइ संशोधन मार्फत् आफ्नो उदेश्य पूरा गर्ने उनीहरूको सोच रहेको केसीले बताए ।

लोकान्तर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here