प्रतिनिधि सभा : पहिलो बैठकमै हँगामा, बैठक २६ गतेसम्मका लागि स्थगित

2
115
सुरक्षाकर्मीबाट सुरक्षा काठमाडौँ, २३ फागुन । सरकारले पुनःस्थापित प्रतिनिधिसभाको सातौँ अधिवेशनको बैठकमा आइतबार पेश गरेको संवैधानिक अध्यादेशको बिरोधका क्रममा प्रमुख प्रतिपक्ष दलका सांसदले नाराबाजी गरेपछि सुरक्षाकर्मीबाट सुरक्षा । तस्वीरः प्रदीपराज वन्त, रासस

काठमाडौं । पुर्स्थापित प्रतिनिधिसभाको सातौं अधिवेशन आइतबारबाट सुरु भएको छ  । आइतबार पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो ।

तर पहिलो बैठक नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण अवरुद्ध बन्यो । कांग्रेस सांसदहरुको नाराबाजीका कारण १० मिनेटका लागि स्थगित भएको बैठक बस्दै नबसी सूचना टाँसेर आगामी २६ गते अपरान्ह १ बजे सम्मका लागि स्थगित गरिएको छ । आईतबारको बैठकको सूरुमा नै सभामुख अग्नि प्रसाद सापकोटाले अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

बैठकमा नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीका बीच प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले संबैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ पेश गर्नुभएको छ ।

यसअघि सत्तारुढ दल प्रचण्ड माधव समूहका सांसदहरुले सर्वोच्च अदालतको आदेशसँगै सरकारको वैधतामाथि प्रश्न उठेको भन्दै त्यसको निक्र्योलबिना अध्यादेश पेश हुन नसक्ने भन्दै बैठक बहिष्कार गरेर बाहिरीएका थिए । सभामुख सापकोटा कार्यसुचीमा प्रवेश गरेपछि प्रचण्ड माधव समुहका सांसद भीम रावलले उभिएर सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । सभामुखबाट समय लिएर बोल्दै उहाँले शोक प्रस्ताव पारित गर्ने सूची राखेपछि अन्य सूचीमा प्रवेश गर्न नमिल्ने धारणा राख्नुभयो । त्यसैगरी सर्वोच्च अदालतको फैसलाले सरकारको बैधतामाथि प्रश्न उब्जाएकाले त्यसको निक्र्योल नभई अध्यादेश पेश हुन नसक्ने भन्दै कार्यसूची परिर्वतन गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुस १७ गते संघीय संसदको राष्ट्रियसभाको अधिवेशन मात्रै सुरु भएको थियो । राष्ट्रियसभाको अधिवेशन पुस २६ गते अन्त्य गरिएको थियो । यसैबीच सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय खारेज गरि १३ दिनभित्र संसदको अधिवेशन बोलाउन परमादेश जारी गरेपछि आइतबार बैठक बसेको हो । प्रतिनिधिसभाको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here