पूर्वसभामुख महरालाई अदालतबाट सफाइ

0
90

काठमाडौँ ।   जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको अदालतका श्रेस्तेदारले जानकारी दिए ।

प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मक रुपमा नमिलेकाले महरा निर्दोष ठहर भएको श्रेष्तेदार श्रेष्ठले जानकारी दिए ।

महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।

पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए।

गत कार्तिक १८ गते जिल्ला अदालत काठमाडौंले सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here