नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यबहाक अध्यक्ष ठाकुर खनालले नेपाली संरचना ध्वस्त पार्ने उद्देश्यका साथ देशमा एमसीसी भित्रिएको बताउनुभएको छ । समाजको पश्चिम भारत क्षेत्रीय समितिले वापी पश्चिममा आयोजना गरेको विरोध सभामा बोल्दै कार्यबहाक अध्यक्ष ठाकुरले देशभक्त नेपालीले साम्राज्यवादी सर्तसहितको एमसीसी परियोजना स्वीकार गर्नै नसक्ने बताउनुभयो ।
‘इण्डो प्यासिफिक रणनीति अन्तरगत एमसीसी देशमा भित्रिएको प्रष्ट छ । एमसीसीकै माध्यमबाट नेपाललाई अमेरिकी साम्राज्यवादको गुलाम बनाउन खोजिँदैछ’ खनालले भन्नुभयो, ‘विगतमा नेपाली विरहरु आफ्नो शिर कटाउन तयार भए तर नेपाल र नेपालीहरुको स्वाभिमान झुक्न दिनन् । पुर्खाले रगतसँग साटेर स्वाभिमान बचाएर राखेको देशलाई साम्राज्यवादीको गुलाम बन्न कदापी दिन हुन्न ।’
उहाँले विदेशी सहयोगका नाममा एमसीसी जस्तो विदेशीको गुलाम बनाउने पोको स्वीकार गर्ने तर भ्रष्टाचार नरोक्ने भन्दै सरकारप्रति आपत्ति पनि जनाउनुभयो । खनालले प्रवासी नेपालीहरुले पठाएको रेमिटेन्सबाट राष्ट्र चलेको बताउँदै सरकार चलाउनेहरु नै सबैभन्दा बढी भ्रष्ट भएको आरोप पनि लगाउनु भयो ।
कार्यक्रममा वरिष्ठ सल्लाहाकार धनवीर पुन, केन्द्रीय सदस्य गोविन्द थापा, केन्द्रीय सल्लाहाकार श्रीधर शर्मा,दमन नगर अध्यक्ष शेरबहादुर विक, वापी पश्चिम उपाध्यक्ष जगत जोशी, वापी पूर्वका अध्यक्ष भुवन सिंह धामी, शीलभासा अध्यक्ष राजु भुजेल, सरीगाम अध्यक्ष एम बहादुर कार्की, सचीन अध्यक्ष हरी कुमार गिरी, क्षेत्रिय महिला विभाग शोभा धामी, क्षेत्रीय वरिष्ठ सल्लाहाकार पवन गुरुङ, वापी पश्चिम नगर सस्थापक कृष्ण कुवँर वोहरा, मध्यपश्चिम भारत क्षेत्रीय उपाध्यक्ष टंक कुवँर, मध्यपश्चिम भारत क्षेत्रीय सचिव मोहन ठकुल्ला, रक्तिमबाट सबिना कुन्वरको आतिथ्यता रहेको थियो । बेदबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न विरोध सभाको सञ्चालन विन बहादुर रेग्मी तथा स्वागत धुर्व न्याउपानेले गर्नुभएको थियो ।
एक हप्ता पहिला मूलप्रवाहको सिङ्गो वापी पश्चिम नगर समिती प्रवासी संघ भारतमा प्रवेश गरेको भनेर हल्ला चलाइएको स्थानमा नै अाफूहरूले बृहत आम सभा सम्पन्न गरेको मूलप्रवाहले जनाएको छ ।