नेपालका महत्वपूर्ण पर्याटकीय स्थलहरु

0
1142
नेपालमा केही त्यस्ता ठाउँ छन्, जुन विदेशी मात्र होइन नेपालीकै लागि पनि उत्तिकै आकर्षक छन् । ती गन्तव्यको उचित प्रचार गर्न सके एसियाका दुई ठूला मुलुक चीन र भारतबीच रहेको नेपाल पर्यटन क्षेत्रमा निकै अघि बढ्न सक्छ ।

१. रारा ताल

रङ फेरिरहने यो ताल मुगुमा जिल्लामा पर्छ । मुलुककै ठूलो यो ताल २ हजार ९ सय ७२ मिटर उचाइमा छ । यहाँ पुग्न सदरमुकाम गमगढीबाट करिब ३ घन्टा यात्रा गर्नुपर्छ । ताल्चा विमानस्थलबाट पनि तीन घन्टा हिँडेर यहाँ पुग्न सकिन्छ । १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको राराको सुन्दरतामा निख्खार थप्छन्, जेठदेखि असोजसम्म फुल्ने विभिन्न फूलहरूले । विश्वमा अन्यत्र नपाइने असला (हिमाली) माछा यहाँ पाइन्छ । तालमा सिस्ने र कान्जिरोवा हिमालको दृश्य देखिन्छ ।
२. फोक्सुन्डो ताल
से फोक्सुन्डो ताललाई गन्तव्य बनाएर कणर्ालीकै अर्को जिल्ला डोल्पाको यात्रा गर्न सकिन्छ । कर्णालीमा सबैभन्दा बढी पर्यटक पुग्ने जिल्ला हो डोल्पा । यो तालसम्म पुग्दा देखिने भौगोलिक तथा प्राकृतिक सुन्दरता बेजोडा मानिन्छ । यो ताल से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्छ जहाँ चर १ सय ९६, स्तनधारी जन्तु ३२ र जडीबुटी ४ सय ७ प्रजातिका पाइन्छन् ।
३ तिलिचो ताल
मनाङमा रहेको तिलिचो समुद्र सतहबाट ४ हजार ९ सय २० मिटर उचाइमा छ । मस्र्याङ्दी नदीको स्रोत यही ताल हो । मनाङका अन्य पर्यटकीय गन्तव्य थोराङपास, मुक्तिनाथ, जोमसोस यात्रालाई अझ रोमाञ्चक बनाउन यहाँ पुग्नैपर्छ । यस क्षेत्रमा वर्षको सात महिना हिउँले ढाक्छ । तिलिचो ताल घुम्न शरद याम उत्तम मानिन्छ ।
४. पुनहिल
अन्नपूर्ण आधारशिविर पुग्ने सपना धेरैको हुन्छ । तर साँच्चिकै सुन्दर स्थानको तस्बिर कैद गर्न पोखराबाट आधारशिविरतर्फको यात्रालाई पुनहिलको बाटोले जोड्नुपर्छ । पदयात्राका लागि पर्याप्त समय नहुनेहरू पुनहिल पुगेर मात्रै र्फकन सक्छन्, जसका लागि पाँच दिन लाग्छ । ३ हजार २ सय मिटर उचाइमा अवस्थित यस स्थानबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छे र नीलगिरीलगायत पन्ध्र हिमाल हेर्न सकिन्छ ।
५. अन्नपूर्ण आधारशिविर
यो पदयात्रा लागि ७ देखि ११ दिनको समयमा व्यवसायीहरूले ‘आइटेनरी’ तयार पारेका हुन्छन् । ७ देखि ८ हजार मिटर उचाइका हिमालसँग नजिक ल्याउने पदयात्रा भएकाले यसलाई धेरैले मन पराउँछन् । सन् २०१३ मा १ लाख १३ हजार ५ सयजनाले अन्नपूर्ण आधारशिविर पदयात्रा गरेका थिए ।
६. खप्तड राष्ट्रिय निकुन्ज
खप्तड राष्ट्रिय निकुन्जले बझाङ, बाजुरा, अछाम र डोटीले छोएको छ । २ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो सबैभन्दा सानो निकुन्ज हो । निकै कम मानिस पुग्ने यो क्षेत्रको धार्मिक महत्त्व पनि छ । रंगीबिरंगी फूलहरूले खप्तड पुग्नेलाई स्वागत गर्छन् ।
७. सगरमाथा आधारशिविर
बेलायतको डेली मेलले सगरमाथा आधाशिविरलाई उत्कृष्ट पदयात्रा मार्गको रूपमा घोषणा गरेको छ । यो मार्ग हुँदै आधारशिविर र कालापत्थरसम्म पुग्न सकिन्छ । यो पदयात्राका लागि काठमाडौंबाट लुक्लासम्म हवाई यात्रा सकेर पैदल हिँड्नुपर्छ । पदयात्रा पूरा गर्न १७ दिन लाग्छ ।
८. गोसाइँकुण्ड
रसुवामा एक सय ८ कुण्ड छन्, तीमध्ये निकै चर्चित छ गोसाइँकुण्ड । काठमाडौंको रानीपौवा हुँदै १ सय १८ किमि यात्रापछि रसुवाको धुन्चे र त्यहाँबाट लौरीविनायक-तेरपैलो-चोलाङपाटी हुँदै पुग्न सकिन्छ । समुद्र सतहबाट १४ हजार फिट उचाइमा रहेको गोसाइँकुण्डमा दसैं र जनैपूणिर्मामा मेला लाग्छ ।
९. चितवन राष्ट्रिय निकुन्ज
हात्ति चढेर गैंडा हेर्नका लागि चितवन राष्ट्रिय निकुञ्ज उत्तम ठाउँ हो । खोलाको छेउमा बसी सूर्यास्तको दृश्यावलोकनको रमाइलो बेग्लै हुन्छ । निकुन्ज घुम्न सडकमार्ग हुँदै टाँडीबाट भित्र पस्न सकिन्छ । भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन् ।
१०. बडीमालिका (बाजुरा)
जेठदेखि साउनसम्म बडीमालिका पुग्दाको रमाइलो बेग्लै हुन्छ । करिब १५ हजार फिट उचाइमा रहेको यस क्षेत्रको संस्कृति, भूबनावट र वातावरणले जो कोहीलाई लोभ्याउँछ । धनगढी भएर डडेलधुरा हुँदै दिपायल, साफेँबगरबाट बाजुरा पुगेपछि बडिमालिका जाने बाटो भेटिन्छ । जिल्ला सदरमुकाम मार्तडीबाट पनि जान सकिन्छ । ११ दिनमा काठमाडौंबाट बडिमालिका पुगेर फर्किन सकिन्छ । उक्त क्षेत्रमा होटेल तथा आवास प्रबन्ध नभएकाले टेन्ट, ‘स्लिपिङ ब्याग’ व्यवस्था गरेर जानुपर्छ ।
११. पोखरा
पोखरा यस्तो सहर हो, जहाँ अग्लो हिमाल आफैं सतहमा रहेको तालसँग मिसिन्छ । साहसिक गतिविधि मन पराउनेका लागि स्काई डाइभिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट उडान र र्‍याफ्टिङ यहाँ उपलब्ध छन् । पोखरा पुग्न छोटो पदयात्रा गर्न मन लागे नजिकको दूरीमा १८ वटा पदयात्रा मार्ग छन् । यहाँबाट धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमशंृखला देख्न सकिन्छ । घुम्नका लागि सेतो गुम्बा, पाताले छाँगो, महेन्द्र गुफा र गुप्तेश्वर गुफा मुख्य स्थल हुन् । पोखरा र आसपासमा विभिन्न आठ ताल घुम्न सकिन्छ ।
१२. लुम्बिनी
धार्मिक पर्यटकका लागि मात्र होइन, पुरातात्त्विक सम्पदामा रुचि राख्नेहरू एकपल्ट पुग्नैपर्ने स्थान हो लुम्बिनी । गौतम बुद्धको जन्मस्थल क्षेत्रमा थुप्रै स्तुपा तथा गुम्बा छन् ।
१३. खोकना
ललितपुरको जावलाखेलबाट ८ किलोमिटर दक्षण्िामा एउटा पुरानो बस्ती छ, खोकना । तोरीको तेलका लागि प्रख्यात यस स्थानमा हुने जात्राहरू विशेष मानिन्छन् । काठमाडौंबाट नजिक भएकाले सहरको हल्लाबाट छुट्कारा लिई प्रकृतिसँग नजिकिन खोकना राम्रो विकल्प हो । मल्लकाल सम्झाउने पुराना घर, पुराना कथा सुनाउन तम्तयार गल्लीभित्रबाट गाला खुम्चाउँदै हाँस्ने वृद्धवृद्धाले यहाँ पुग्नेलाई लोभ्याउँछन् ।
१४. नमोबुद्ध
डाडाको टुप्पोमा गुम्बा अनि बौद्ध कलाले सजिएका घरहरू । हेर्दा तिब्बती सहरजस्तो । काभ्रेपलाञ्चोकको नमोबुद्धबाट डाँडाबाट पनौती, बनेपा र धुलिखेलसँगै हिमाली रेन्ज र पूर्वउत्तरमा भकुण्डेबेसी तथा पाँचखालको फाँटको सुन्दर दृश्य देखिन्छ ।
१५. स्वर्गद्वारी
२ हजार १ सय २१ मिटर उचाइमा रहेको प्यूठानको स्वर्गद्वारीबाट तीनवटा हिमशंृखला देख्न सकिन्छ । स्वर्गद्वारी धार्मिक सम्पदा, इतिहास र प्राकृतिक सौन्दर्यको खानी हो । गर्मीबाट छुट्कारा पाउन पनि स्वर्गद्वारी पुग्न सकिन्छ, अन्य स्थानमा चर्को गर्मीले सताइरहँदा स्वर्गद्वारीको हावापानीले स्वर्गै पुगेजस्तो अनुभव गराउँछ ।
१६. कोसी टप्पु आरक्ष
‘चरा अवलोकनका लागि नेपाल सबैभन्दा राम्रो ठाउँ हो । पूर्वी नेपालमा अवस्थित कोसी टापु र कोसी ब्यारेज क्षेत्रमा प्रवासी पानी कुखुरा र चराहरू हेर्न जाडो मौसम उपयुक्त हुन्छ । अन्यत्र नपाइने प्रजातिका चराहरू यहाँ देखिन्छ,’ विश्वभरका गन्तव्यलाई ‘र्‍याङकिङ’ गर्ने ‘वेभपोर्टल टि्रप एडभाइजर’ले लेखेको छ । जनवरी र फेब्रुअरीको महिनामा यहाँ हजारौं चरा भेला हुन्छन् ।
१७. पाल्पा
तानसेनको श्रीनगर डाँडा र १ सय १३ वर्ष पुरानो रानीमहलकै कारण यो पाल्पालाई पहाडकी रानी भनिँदै आएको छ । मौसमका हिसाबले पाल्पा बाह्रै महिना सुन्दर मानिन्छ । कालीगण्डकी किनारामा रहेको रानीमहलले जो कोहीको मन लोभ्याउँछ ।
१८. ककनी
स्ट्रबेरी खेतीका लागि प्रख्यात ककनी पछिल्लो चार/पाँच वर्षयता ट्राउट माछाले पनि परिचित छ । ‘रक क्लाइम्बिङ वाल’ र पार्कले पनि नुवाकोट जिल्लामा पर्ने ककनीको आकर्षण थपेका छन् । ककनीबाट गणेश, गौरीशंकर, मनास्लु, चोबा भामरे, हिमचुली, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । लोन्ली प्लानेटले धुलिखेल र नगरकोटभन्दा शान्त गन्तव्यको रूपमा यसलाई व्याख्या गरेको छ ।
१९. बन्दीपुर
नेवारी संस्कृतिको संग्रहालयका रूपमा चिनिने बन्दीपुर नेपालकै ठूलो गुफा (सिद्ध गुफा) भएको स्थान हो । यहाँ ‘प्याराग्लाइडिङ’ समेत सुरु भएको छ । बन्दीपुरबाट जुगल, लाङटाङ, गणेश, मनास्लु, हिमचुली, अन्नपूर्ण, धौलागिरी र कान्जिरोवा हिमाल देखिन्छन् । मध्यजेठदेखि मध्य-असारसम्म बन्दीपुर पुग्नेलाई बाटैभरि चौबीस जातिका सुनगाभाले स्वागत गर्छन् ।
२०. लोमान्थाङ
मुस्ताङको निकै रोमाञ्चक र विकट गन्तव्यको रूपमा लिइन्छ, लोमान्थाङलाई । यहाँको भौगोलिक बनावट तिब्बती परिवेशसँग मिल्छ । हिमाली मरुभूमि नै भनिन्छ यस क्षेत्रलाई । लोमान्थाङ थकाली संस्कृतिको बाहुल्य भएको ठाउँ हो । यहाँ जान विदेशी पर्यटकहरूले विशेष अनुमति लिनुपर्छ । लोमान्थाङमा रहेको सात सय वर्ष पुरानो दरबार त्यहाँको मुख्य आकर्षण हो । माटोले बनाइएको पाँचतले उक्त दरबारमा सयभन्दा बढी कोठा छन् ।
२१. च्छो रोल्पा ताल
दोलखाको उत्तरी भेगमा अवस्थित यो स्थान पुग्न जति गाह्रो हुन्छ, पुगिसकेपछिको आनन्द त्यति नै अवर्णनीय छ ! करिब १ दशमलव ३९ वर्ग किलोमिटरमा फैलिएको यो ताल सबभन्दा ठूलो हिमताल हो । गौरीशंकर हिमालको फेदीमा रहेको यो ताल पुग्न ना गाउँबाट दुई घन्टा उकालो हिंड्नुपर्छ । काठमाडौंदेखि च्छो रोल्पासम्मको यात्रा करिब १३ दिनको हुन्छ ।
२२. चिसापानी र ठाकुरद्वारा
चिसापानी कणर्ाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान हो । अझ भनांै, सुन्दर सुदूरपश्चिमको मुख्य प्रवेशद्वार । यहाँ रहेको कणर्ालीको पुल एसियाकै दोस्रो नमुना पुल हो, जो एउटा पिलरमा अडेको छ । कणर्ालीको माछा र पुल यहाँको मुख्य विशेषता हुन् । सबैभन्दा बढी जंगली हात्ती, दुर्लभ पाटेबाघ, विश्वकै दुर्लभ एकसिङ्गे गैंडा, कृष्णसार र हजारौंको सड्ख्यामा चित्तल भएको बर्दिया राष्ट्रिय निकुन्ज यसको नजिकै छ । नेपालगन्जबाट ८५ किलोमिटर पर्ने अम्वसाबाट १२ किलोमिटर दक्षिणतर्फ यात्रा गरेपछि निकुन्ज पुग्न सकिन्छ ।
२३. काँक्रेबिहार (सुर्खेत)
पुरातात्त्विक स्थानहरू मन पराउनेका लागि काँक्रेबिहार खुला संग्रहालय हो । यो बौद्ध धर्मावलम्बीका लागि विहार हो भने हिन्दूका लागि मन्दिर । यहाँ हजारौं वर्ष पुराना मूर्ति तथा कला कुदिएका ठूला-ठूला ढुङ्गाहरू छन् । जहाँ खस राजाहरूको इतिहास रहेको बताइन्छ । बुद्ध शिक्षा अध्ययन गर्नेका लागि यो अनुसन्धानको थलो बनेको छ । सुर्खेतको बीच भागमा पर्ने लाटीकोइली गाउँमा डेढ किलोमिटर क्षेत्रफलमा फैलिएको छ, काँक्रेबिहार ।
२४. भेडेटार
पूर्वाञ्चलका उत्कृष्ट गन्तव्यमध्ये पर्छ धनकुटाको भेडेटार । १ हजार ४ सय ३० मिटर उचाइमा रहेको यो ठाउँ गर्मीबाट बच्नका लागि मात्र होइन, पूर्वी हिमाली भेगको सुन्दरता नियाल्नका लागि पनि हो । भेडेटारको भ्यू टावर यस्तो स्थान हो, जहाँबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरू साथै मकालु, कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमशंृखला एकैपटक हेर्न सकिन्छ । धरानबाट १६ किलोमिटर उत्तरमा छ भेडेटार ।
२५. बारपाक, गोरखा
घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान थाहा पाउन एकपटक पुग्नुपर्ने ठाउँ हो, गोरखाको बारपाक । गोरखा सदरमुकामदेखि एक दिन पैदल यात्रापछि पुगिने यो गाउँ झरना र हिमशृंखला दृश्यावलोकनका लागि बढी चर्चित छ । संस्कृति झल्काउने आकृति कुदिएका घरहरूले त्यहाँको इतिहास बताउँछ ।
२६. कालिन्चोक, दोलखा
दोलखाको सदरमुकाम चरिकोटबाट पदयात्रा गरेर कालिन्चोक पुग्नुको रमाइलो बेग्लै हुन्छ । चरिकोटबाट करिब ७ घन्टा उकालो हिँडेेपछि कालिन्चोक भगवतीको मन्दिर पुगिन्छ । कालिन्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिम शृंखला, गौरीशंकर हिमालबाट देखिने सूर्योदय अवलोकन गर्न सकिन्छ । हिउँ खेल्न मन पराउनेहरू मंसिरदेखि माघसम्म यो ठाउँको पदयात्रा गर्न सक्छन् ।
२७. पाथिभरा, ताप्लेजुङ
मोरङको बेलबारीदेखि झन्डै ३ सय पचास किलोमिटर दूरीमा पाथिभरा पुगिन्छ । सुकेटारदेखि सानो फेदीसम्मको करिब १० किलोमिटर कच्ची र अप्ठयारो बाटोले केही समस्या हुन्छ । तर डाँडा पुगेपछि त्यहाँको पूजा सामग्री, हवन र धुपको गन्धले थकान मेटाइदिन्छ । टाकुरामा, खुला आकाशमुनि सौम्य मुद्रामा देवीको मूर्ति स्थापित छ ।
२८. कन्याम, इलाम
गर्मी मौसमबाट शीतल कन्यामको यात्रा निकै रमाइलो हुन्छ । विर्तामोडबाट ६१ किलोमिटर दूरीमा पहाड चढेपछि पुगिन्छ यो स्थान । यहाँ चिया बगानले ढाकेका सुन्दर थुम्काहरू, बगानको बीचमा नागबेली पक्की सडक निकै आकर्षक देखिन्छन् ।
२९. जानकीधाम, जनकपुर
धनुषाको यो सहर राजा जनक र उनकी पुत्री जानकीको भूमि हो । धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहर हो । काठमाडौंबाट ४ सय किलोमिटर दक्षण्िा पूर्वमा रहेको यो सहर बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । यहाँस्थित राम-जानकीको मन्दिरको आफ्नै महत्त्व छ । यो मन्दिर सन् १९११ मा टिकमगढ (भारत) की राजकुमारी कुमारी वृषभानुले बनाएकी हुन् ।
३०. पाँचपोखरी, सिन्धुपाल्चोक
जुगल हिमालको फेदमा एकै ठाउँ पाँचवटा पोखरी । सिन्धुपाल्चोक जिल्लामा ४ हजार २ सय मिटर माथि रहेको यी पोखरीसम्म पुग्न गाडी छोडेपछि १२ दिन पदयात्रा गर्नुपर्छ । नीलो आकाश र त्यसका बादलको प्रतिविम्बले पोखरीहरू आकर्षक देखिन्छन् । एउटा पोखरी पूरै घुम्न झन्डै आधा घन्टा लाग्छ ।

कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here