राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिद्वारा रोकाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट
काठमाडौं । देशमा हत्या, हिंसा अत्यन्त बढेर गएको छ, शिवबहादुर रोका पनि त्यसप्रकारको हिंसामा परेको हुनसक्ने बढी सम्भावना रहेको राष्ट्रिय जनमोर्चाले बताएको छ । पार्टीका अध्यक्ष चित्र बहादुर केसीले आज एक विज्ञप्ती जारि गरि नवलपरासी (पश्चिम), बर्दघाट–१, माकर पुनर्वास बस्ने शिवबहादुर रोका यही कार्तिक ७ गते दाङको भालुवाङ बजार नजिक राप्ती नदीको किनारमा मृत भेटिनु रहस्यमय भएको बताउनु भएको छ ।
“प्रहरीका अनुसार शव आफ्नै पाइन्टमा झुण्डिएको छ, घाँटीमा निलडाम छ, तर शवले भुँई छोएको छ, टाउको र घुँडामा चोट पनि छ । त्यसले शिवबहादुरको मृत्यु थप रहस्यमय भएको छ ।” केसीले विज्ञप्तीमा भन्नुभएको छ– । “देशमा हत्या, हिंसा अत्यन्त बढेर गएको छ । शिवबहादुर पनि त्यसप्रकारको हिंसामा परेको हुनसक्ने बढी सम्भावना छ । हामीले सरकार र प्रहरी प्रशासनलाई त्यसबारे राम्रो छानवीन गर्न जोडदार माग गर्दछौं ।”
“उहाँ पार्टीको कर्मठ कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको छ ।” केसीद्वारा हस्तक्षरित उक्त विज्ञप्तीमा उल्लेख छः– “शिवबहादुर रोकाप्रति राष्ट्रिय जनमोर्चाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको शोकसन्तप्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।”
विज्ञप्तीको पूर्ण पाठ :
“नवलपरासी (पश्चिम), बर्दघाट–१, माकर पुनर्वास बस्ने शिवबहादुर रोका यही कार्तिक ७ गते दाङको भालुवाङ बजार नजिक राप्ती नदीको किनारमा मृत अवस्थामा फेलापर्नु भयो । शिवबहादुर रोका राष्ट्रिय जनमोर्चा नवलपरासी (पश्चिम) जिल्लाको सदस्य, वर्दघाट नगरपालिका नगर समितिको उपाध्यक्ष, अखिल नेपाल युवक संघको राष्ट्रिय परिषद् सदस्य र नवलपरासी (पश्चिम) को जिल्ला सचिव हुनुहुन्थ्यो । उहाँ पार्टीको कर्मठ कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको छ । शिवबहादुर रोकाप्रति राष्ट्रिय जनमोर्चाले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको शोकसन्तप्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
शिवबहादुर रोका २०३५ सालमा झिमरुक गाउँपालिका वार्ड नं. २, वादीकोटमा जन्मनुभएको थियो । पछि उहाँ नवलपरासीको बर्दघाटमा बसाई सर्नु भयो र त्यही राष्ट्रिय जनमोर्चा र यससँग सम्बद्ध मोर्चाहरुमा रहेर काम गर्नु भएको थियो । गत प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उहाँ राष्ट्रिय जनमोर्चाको तर्फबाट चुनाव पनि लड्नु भएको थियो । उहाँको १ श्रीमती र २ जना छोराहरु छन् ।
शिव बहादुर रोकाको मृत्यु रहस्यमय तरिकाबाट भएको छ । कार्तिक ५ गते बर्दघाट आफ्नो घरबाट बिहान ५ बजे हिंड्नु भएको थियो । तर जाने ठाउँ बताउनु भएको थिएन । कामको सिलसिलामा पहिले पनि १–२ दिन बाहिर बस्ने भएकाले घरबाट चाडै खोजी भएन । कार्तिक ७ गते भालुवाङ स्थिति राप्ती नदीको तटबन्ध गरेको पर्खालमा लगाएको जालीमा झुण्डिएको अवस्थामा भालुवाङ प्रहरी चौकीका प्रहरीले शिवबहादुरको शव भेटेका थिए । कार्तिक १४ गते मात्र आफन्तले शिवबहादुरको दाहसस्कार गरेका थिए । प्रहरीका अनुसार शव आफ्नै पाइन्टमा झुण्डिएको छ, घाँटीमा निलडाम छ, तर शवले भुँई छोएको छ, टाउको र घुँडामा चोट पनि छ । त्यसले शिवबहादुरको मृत्यु थप रहस्यमय भएको छ । शवको टिचिङ अस्पताल काठमाडौंमा पोष्टमार्टम भएको छ । त्यसको रिपोर्ट आएपछि नै कसरी मृत्यु भएको हो भनि भन्न सकिने भालुवाङ प्रहरी चौकीका इन्चार्जले बताउनु भएको छ । देशमा हत्या, हिंसा अत्यन्त बढेर गएको छ । शिवबहादुर पनि त्यसप्रकारको हिंसामा परेको हुनसक्ने बढी सम्भावना छ । हामीले सरकार र प्रहरी प्रशासनलाई त्यसबारे राम्रो छानवीन गर्न जोडदार माग गर्दछौं ।”