बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका बुबा मानसिक रूपमा विक्षिप्त बनेका छन् । छोरीका लागि न्याय माग्दा माग्दै निराश बनेका यज्ञराज पन्तमा मानसिक समस्या देखिएको हो । पछिल्लो समय निर्मलाका आमाबाबु अनिश्चित कालीन धर्नामा बसेका थिए । निर्मलाका हत्यारा पत्ता लगाई कारवाही गर्न सरकार उदासिन बनेको भन्दै आमाबुबा सहितको टोली गत कार्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि अनिश्चित कालीन धर्नामा बसेका हुन् । तर धर्ना बस्दाबस्दै यज्ञराजमा मानसिक समस्या देखियो । उनी कराउने, चिच्याउने, जथाभावी दगुर्ने गर्न थालेपछि उपचारका लागि आइतबार (मङ्सिर ९ गते) काठमाडौँ ल्याइएको छ । उनको यतिबेला त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
निर्मलाका बुबा यज्ञराजमा त्यस्तो अवस्थामा मानसिक समस्या देखिएको छ, जब उनले कार्तिक २५ गतेदेखिको धर्नालाई अनिश्चित कालीन धर्ना र अन्तिम लडाइा बताएका थिए । यज्ञराज र दुर्गादेवीलाई आमरण अनसनमा साथ दिदै आएकी अधिकारकर्मी शारदा चन्दका अनुसार भेट्न जानेहरुसँग उनी अत्यन्तै निराश देखिन्थे र ‘छोरीको न्यायका लागि अब आमरण अनसन अनसन बस्छु’ भन्ने गरेका थिए । न्यायको आश नै मारेका यज्ञराज सबैतिरबाट निराश र हतोत्साही बनेपछि मानसिक सन्तुलन गुमाउने अवस्थामा पुगेको अधिकारकर्मी चन्द बताउँछिन् । अब उनको स्वास्थ्य लाभका लागि उपचारसँगै ‘काउन्सिलिङ’ गर्नु पर्ने देखिन्छ । त्यो सँगै निर्मलाका हत्यारा पत्ता लागेर दण्डित भएमा मात्रै त्यो परिवारको वास्तविक उपचार भएको मानिनेछ ।
चार महिना बित्यो, हत्यारा पत्ता लागेन
गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीया निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना घटेको चार महिना भइसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धानका लागि अहिलेसम्म सातवटा छानबिन टोली गठन भए पनि प्रहरीको अनुसन्धान कुहिरोको काग जस्तै बनेको छ । स्थानीय प्रशासन र प्रहरी अहिले पनि छानबिन चलिरहेको बताउने गरेको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्ट घटनाबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको बताउँछन् । तर, अनुसन्धानमा खासै प्रगति हुन नसकेको उनको भनाइ छ ।
निर्मलाको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रहरीले प्रमाण नष्ट गरेको कुरा स्वयं सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिले नै प्रतिवेदन दिएको थियो । प्रहरीले घटना अनुसन्धानमा लापरवाही गरेको ठहर सहित कञ्चनपुरका तत्कालीन एस.पी. डिल्ली विष्ट सहित एक जना इन्स्पेक्टरलाई बर्खास्त गरिएको छ भने दुई जना डी.एस.पी. सहित केही प्रहरी अधिकारीहरुलाई निलम्बन गरिएको छ । तर त्यसयता पनि घटनाको अनुसन्धानका लागि भनेर थुप्रै छानबिन समिति बनाइएको छ । कञ्चनपुर प्रहरीले पनि अनुसन्धान भइरहेको कुरा लगातार बताउँदै आएको छ, तैपनि अहिलेसम्म कुनै प्रगति देखिएको छैन । निर्मला हत्या घटनाका प्रमाणहरु मेटाइएकाले हत्यारा सहजै पत्ता लाग्न सक्ने अवस्था देखिांदैन । त्यसमाथि राज्यका निकायहरु हत्यारालाई बचाउनमै लागिपरेको कुरा आम जनताले अनुभव गरिरहेका छन्् । यस्तो अवस्थामा न्यायका लागि लडिरहेका निर्मलाका बुबा–आमाले पनि नन्द प्रसाद र गङ्गामायाको नियति त भोग्नु पर्ने होइन ? शङ्का गर्ने ठाउँ छ ।
नन्द प्रसाद र गङ्गामायाको कथा
गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गङ्गामायाको कथा नेपालको न्यायिक इतिहासका लागि एउटा कलङ्क हो । ती बाबुआमा, जसले आफ्नो छोराको हत्यारामाथि कारवाही गर्न माग गर्दै लामो समयसम्म आमरण अनसन बसे । राज्यले उनीहरुमाथि कहिले ‘पागल’ करार गर्दै पागलखाना पुर्यायो त कहिले थानकोट कटाएर छोड्यो । वर्षौंसम्म अनसन बस्दा नन्द प्रसादले ज्यानै गुमाए, आमा गङ्गामायाको थलिएको ज्यान अहिले पनि अस्पतालमै छ । तर उनीहरुले न्याय पाउन सकेनन् । अब सम्भवत: उनीहरुले कहिल्यै न्याय पाउने छैनन्, किनकि छोरा कृष्ण प्रसादको हत्यालाई राजनीतिक रङ दिइएको छ । जब कुनै अपराध राजनीतिसँग जोडिएर आउँछ, त्यहाँ अपराधीहरु दण्डित होइन, पुरष्कृत बन्ने संस्कार बनेको छ ।
१६ वर्षीय कृष्ण प्रसाद २०६१ असार १८ गते एस.एल.सी. को रिजल्ट हेर्न भनि चितवन पुगेका थिए । चितवनमा माओवादीहरुले कृष्ण प्रसादको अकारण अपहरण गरे र केही पछि हत्या नै गरे । खबर सुनेर अधिकारी दम्पत्ति मर्माहत भए । भर्खर एल.एल.सी. पास गर्न लागेको आफ्नो छोरालाई माओवादीले त्यसरी मार्नु पर्ने कुनै कारण उनीहरुले देखेनन् । बुझ्दै जाादा ‘भुजेल गाउँकै कुनै कृष्ण प्रसाद अधिकारी नामको व्यक्तिले माओवादीको सुराकी गरेको भन्ने रिपोर्ट आएकाले जनकार्वाही गर्ने क्रममा भुलबस अर्कै कृष्णप्रसाद अधिकारी परेको’ स्पष्टीकरण माओवादीले दियो । यसरी अनाहकमा एउटा युवा मारियो । त्यो एउटा जघन्य अपराध थियो । हत्याराहरुले सजाय पाउनै पथ्र्यो ।
शान्ति प्रकृया सुरु भएपछि आफ्नो छोरा बिना कसुर मारिएकाले न्याय पाउँm भन्दै अधिकारी दम्पत्तिले आमरण अनसन सुरु गरे । तर न्याय दिनुको साटो उनीहरुलाई कहिले हिरासतमा त कहिले मानसिक अस्पतालमा समेत लगेर राखियो । गोर्खाकै नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उनीहरुले न्यायको आन्दोलन चर्काए । किनकि गोरखाकै जनताको समस्या समाधानमा गोरखाकै प्रधानमन्त्रीले विशेष पहल गर्लान् भन्ने उनीहरुको आश थियो ।
२०६९ पुस १६ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटी न्यायको याचना गर्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरु पुगेका थिए । त्यो बेला अधिकारी दम्पत्तिलाई गेटबाटै पक्राउ गरी ४९ दिनसम्म बिना कसुर हिरासतमा राखेर छाडिएको थियो । हिरासतबाट छुटे लगत्तै सोही साल माघ २२ गतेबाट आमरण अनसनमा बसेका अधिकारी दम्पत्तिलाई तत्कालीन शासकहरुले त्यसपछि पनि विभिन्न मानसिक तथा शारीरिक यातना दिएका थिए । प्रहरीले उनीहरुलाई उठाएर थानकोटको भत्कीन लागेको खण्डहर जस्तो ठाउँमा लगेको थियो । अधिकारीले त्यहाँ बस्न नमानेपछि उनीहरुलाई वीर अस्पताल पुर्याइयो । वीर अस्पतालमा उनीहरुले गेटमै बसेर अनसन थाले । २०७० जेठ २९ मा उनीहरुलाई त्यहाँबाट पनि गिरफ्तार गरी लगनखेलस्थित मानसिक अस्पताल पुर्याइयो ।
मानसिक अस्पतालमा लहरै दुइवटा खाटमा अस्पताल प्रशासन र प्रहरीको कडा निगरानीमा राखियो । उनीहरुको नैसर्गिक अधिकारको समेत हनन् गरी कसैसँग बोल्न र भेट्न नदिई राखिएको थियो । स्वास्थ्य परीक्षण गर्दा अधिकारी दम्पत्तिलाई कुनै मानसिक समस्या नभएको स्पष्ट भयो । यसबाट राज्यले आफ्नो नागरिकलाई जबर्जस्ती पागल बनाउन समेत पछि पर्दो रहेनछ भन्ने जस्तो खेदजनक अवस्था पनि देखियो । सद्दे मान्छेलाई पागल आरोपित गरेर राज्यले अपराध नै गरेको थियो । मानसिक अस्पतालबाट बाहिर आएपछि अधिकारी दम्पत्तिले पुन: आमरण अनसन सुरु गरे । विस्तारै उनीहरुको शारीरिक अवस्था कमजोर हुँदै गयो । राज्यले उनीहरुको आवाजको कुनै सुनुवाइ गरेन । यस्तैमा २०७१ असोज ६ गते नन्द प्रसाद बिते । न्याय नपाउञ्जेल गङ्गामायाले पतिको अन्तिम संस्कार नगर्ने अडान लिइन् । नन्द प्रसादको शव अहिले पनि शिक्षण अस्पतालको डिप फ्रिजमा पोको पारेर राखिएको छ ।
नन्द प्रसादको मृत्युपछि पनि गङ्गामायाले अनसन जारी राखिन् । पटक पटक सरकारले अपराधीलाई कारवाही गर्न प्रतिबद्धता जनाउने र उनको अनसन तोड्ने गर्दै आएको छ । पछिल्लो पटक गत असार २९ गते उनले आमरण अनसन तोडेकी छन् । उनी गत जेठ १५ गतेदेखि अनसन बसेकी थिइन । यसअघि सरकारसँग भएको पााच बुादे सहमति कार्यान्वय गर्ने प्रतिबद्धता जनाएपछि गङ्गामायाले अनसन तोडेकी हुन् । तर यहीबीचमा मुख्य आरोपी भनिएका छविलाल पौडेल सहितका आरोपीहरु निर्दोष सावित भइसकेका छन् । भदौ २४ गतेको चितवन जिल्ला अदालतको फैसलामा १२ जनाले सफाइ पाएका छन् । आरोपी १३ जनामध्ये एकजना रुद्र आचार्य अहिलेसम्म पक्राउ नपरेको हुँदा पछि ठहर्ने गरी अन्य १२ जनालाई सफाइ दिइएको हो । मुख्य आरोपी भनिएका छविलाल पौडेलले तत्कालीन माओवादी नेताहरुको सल्लाहमा अदालतमा आत्मसमर्पण गरेका थिए ।
न्यायको अवशान
घरबाट होमवर्क गर्न साथीकोमा गएकी निर्मला हराएकै सााझ उनकी आमाले प्रहरीमा हारगुहार गरिन्, तर, प्रहरीले सुनेन, बरु बालिकाको हत्याको प्रमाण मेटाउन प्रहरीले जे जति भूमिका खेल्यो, त्यो सबै छताछुल्ल भएको छ । प्रहरीले ‘डमी’ अपराधी खडा गर्न, न्याय माग्ने जनतामाथि दमन गर्न र हत्यारा बचाउने गरी अपराधका प्रमाण मेट्न कुनै कसर बााकी राखेन । प्रहरीले न्याय माग्ने जनतामाथि गोली बर्साउँदा १४ वर्षीय सन्नी खुनाको ज्यानै गयो । कैयौँ व्यक्तिहरु घाइते र अपाङ्ग बनेका छन्् । प्रहरी प्रशासनले गम्भीरतापुर्वक अनुसन्धान त गरेन नै, अपराधी कहिल्यै पत्ता नलाग्ने गरी एकपछि अर्को गर्दै प्रमाण मेट्दै गयो ।
गृह मन्त्रालयले अनुसन्धानमा लारवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एस.पी. डिल्लीराज विष्ट र एक इन्स्पेक्टरलाई वर्खास्त गरेको छ र केही प्रहरी अधिकृतहरु निलम्बनमा परेका छन्, तैपनि सरकारी संयन्त्रले हत्यारा पत्ता लगाउन गम्भीरता देखाएको छैन । गृह मन्त्रालय र प्रहरी प्रशासनले निर्मलाको घटनाका मुख्य आरोपीलाई पहिचान गरी पक्राउ गर्नेभन्दा घटना मत्थर गराउन हत्कण्डा अपनाएको हालसम्म प्राप्त तथ्यहरुले देखाएका छन्् । घटना भएयता गृह प्रशासन र प्रहरीले एक जना सहसचिव, एक ए.आई.जी., दुइ डी.आई.जी., ३ एस.एस.पी., दुई एस.पी. र तीन डी.एस.पी. लाई घटनाको अनुसन्धानका लागि जिम्मेवारी दिए पनि घटनाको अन्तिम निष्कर्ष अझै बाहिर आउन सकेको छैन, बरु अनुसन्धान झन् बल्झिादै गएको छ ।
घटनाको छानबिनका लागि चौतर्फी दबाब परेपछि ७ भदौमा गृह मन्त्रालयले सहसचिव हरि प्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति बनायो । सो उच्च स्तरीय समितिले गरेको अनुसन्धानले प्रहरी अधिकारीले अनुसन्धानमा गरेको कैफियत वाहेक थप तथ्य केही पत्ता लगाउन सकेन । यो विषय समिति गठन अघि नै छताछुल्ल भएको थियो । मैनाली नेतृत्वको समितिमा नेपाल प्रहरीका डी.आई.जी. राम प्रसाद श्रेष्ठ सहित सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सदस्य थिए । समितिमा प्रदेश सरकारका तर्फबाट उपसचिव वीरेन्द्र बहादुर केसीलाई सदस्य तोकिएको थियो ।
मैनाली समितिपछि प्रहरी प्रधान कार्यालयले एस.एस.पी. उत्तम सुवेदीको नेतृत्वमा अर्को समिति बनायो । सुवेदी केही दिनमै चीन भ्रमणमा गए । त्यसपछि उनको ठाउँमा तत्कालीन डी.आई.जी. (हाल ए.आई.जी.) धिरु बस्न्यातलाई छानबिन समितिको नेतृत्व दिइयो । कञ्चनपुर घटनाको अनुसन्धान गर्न यी दुई समिति वाहेक प्रहरी प्रधान कार्यालयले करिब आधा दर्जन प्रहरी अधिकारीलाई छुट्टाछुट्टै घटनास्थल पठायो । एस.एस.पी. ठाकुर ज्ञवाली, एस.एस.पी. विक्रम चन्द, डी.एस.पी. कृष्णराज ओझा, एस.पी. दुर्गासिंह र डी.एस.पी. अङ्गुर जिसी अलग–अलग मितिमा कञ्चनपुर पुगेर अनुसन्धान गरे । तर पनि अनुसन्धान परिणाम जहााको तहीा छ । एउटै घटना अनुसन्धानका लागि औपचारिक समिति र अनौपचारिक टोली गरेर करिब एक दर्जन जनाले काम गरिसकेका छन् । तर तथ्य अझै पनि पत्ता लाग्न सकेको छैन । यसले गृह मन्त्रालय र प्रहरी वास्तविक अपराधी पत्ता लगाउन नचाहेको वा घटना दबाउन खोजेको भन्ने स्वभाविक आशङ्का जन्मिएको छ ।
नियति दोहोरिने खतरा
कञ्चनपुरकी बालिका निर्मलाका बुबाआमाले पनि छोरीको न्यायका लागि कञ्चनपुरदेखि काठमाडौँसम्म आन्दोलन गरे । केही सिप नलागेपछि उनीहरुले अनिश्चित कालीन धर्ना सुरु गरे । तर यहीबिचमा यज्ञराजले मानसिक सन्तुलन गुमाएका छन् । गोरखाको घटना प्रकृतिभन्दा कञ्चनपुरको घटना भिन्न छ । तर दुबै ठाउँमा बाबुआमाले आफ्ना सन्तान गुमाएका छन्, त्यो पनि अनाहकमा र राज्यसँग न्याय मागिरहेका छन् । न्याय माग्दामाग्दै जसरी गोर्खाका अधिकारीले ज्यान गुमाए, कहिा कञ्चनपुरका पन्तको पनि त्यही नियति दोहोरिने त होइन ?
निर्मलाको न्यायका लागि लड्दा कञ्चनपुरकै बालक सन्नी खुनाले ज्यान गुमाए । आन्दोलनमा गोली लागेका अर्जुन भण्डारा अहिले पनि शिक्षण अस्पतालमा अचेत अवस्थामा पल्टिरहेका छन् । उनको एउटा खुट्टा काटिएको छ । तर अझै होश आएको छैन । लामो समयदेखि ओछ्यानमा पल्टिरहादा शरीरमा घाउ भएको आमा शशिकला बताउँछिन् । आन्दोलनमै घाइते उमेश देउवाको हातमा रहेको छर्रा अझै निकालिएको छैन । अरू थुप्रै घाइतेहरुको अवस्था अहिले पनि उस्तै छ ।
सन्तानलाई न्याय दिलाउन न्यायको भिख माग्दामाग्दै गोरखाका नन्द प्रसादको त ज्यान गयो, अब त्यही इतिहास र प्रवृति कञ्चनपुरको हकमा नदोहोरियोस् । निर्मलाका बुबाको राम्रो उपचार र ‘काउन्सिलिङ’ ले मानसिक सन्तुलन ठिक ठाउँमा आउला । तर निर्मलाका वास्तविक दोषि पत्ता नलाग्दासम्म गोरखाका नन्द प्रसादको जस्तै दुर्घटनाको खतरा भने टर्दैन ।