धानको छाँट पराल देखेर चिनिन्छ : केसी

0
762
चित्र बहादुर केसी, अध्यक्ष राष्ट्रिय जनमोर्चा

काठमाडौं । सरकारले प्रभावकारी काम गर्न नसकेको बताउँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले राम्रो कामगर्न नसकेको बताउनु भएको छ । केसीले भन्नु भयो– ‘धानका छाँट पराल देखेर चिनिन्छ ।’

रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले महंगी र कालोबजारी रोक्न नसकेको सरकारले रेल र पानी जहाजको सपना बाँडेर अलमल्याएको मिडिया सामु उजागार गर्नु भयो । यातायात क्षेत्रको सिन्डिकेट, सुन तस्कर, निर्मला पन्त हत्या प्रकरणलगायतका विषयमा सरकार चुकेको केसीले बताउनु भयो ।

केसीले संघीयता खारेज गर्न माग गर्दै भन्नु भयो, ‘यदि संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ र असफल हुन्छ ।’ अध्यक्ष केसीले नेपाल जस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गर्नुभएको हो । प्रदेश नम्बर ४ कामू मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कटाक्ष गर्दै केसीले ‘रेडलाईट एरिया’ खोलेर कर असुलेर संघीयता नचल्ने पनि बताउनु भयो ।

केसीले नेपाल जोगाउनकै लागि भएपनि संघीयता खारेज गर्नै पर्ने बताउनु भयो । केन्द्र सरकार र प्रदेश सरकारबीचको सम्बन्ध राम्रो हुन नसकेको भन्दै केसीले प्रदेश नम्बर २ ले केन्द्रको नीति बाहिर गएर विधेयकहरु बनाउँदा समग्र देश नै धरापमा पर्ने दावी गर्नु भयो । ‘२ नम्बर प्रदेशले संघीयताको आवरणमा एक मधेश एक प्रदेश बनाउन सक्छ कि सक्दैन ?’ केसीले प्रश्न गर्नु भयो । ६४ सालदेखि नै राष्ट्रिय जनमोर्चाले नेपालमा संघीयता सम्भव छैन भन्दै आएपनि ठूला दलहरुले संघीय प्रणाली ल्याएको दावी गर्नु भयो ।

तीन तहको सरकार निर्माण भएपछि जनतामा करको भार थपिएकाले पनि जनता आजित भएको केसीको तर्क थियो । च्यांग्रादेखि साग बेच्नेसम्मलाई करको भार थोपरिएको भन्दै केसीले आपत्ति प्रकट गर्नु भयो । वहाँले भन्नु भयो, ‘अहिले च्यांग्रा बेच्नेलाई संघीयता के हो भनेर थाहा भैसकेको छ ।’ अनावश्यक करकै कारण संघीयता धरापमा परेको केसीको तर्क थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here