– समिर सिंह
जीवनमा द्वन्द्व, प्रकृतिमा द्वन्द्व
समाजमा द्वन्द्व, राजनीतिमा द्वन्द्व
द्वन्द्वले नै टिकेको समग्र जगत
विचारमा द्वन्द्व, प्रेममा द्वन्द्व
जीवनका हरेक पाइलाहरुमा द्वन्द्व,
विचार र भावनाबीचको द्वन्द्व
द्वन्द्वले नै बनाउछ प्रकृतिको नयाँ स्वरूप
द्वन्द्वलाई बुद्धले स्वीकारे, द्वन्द्वलाई कपिल ऋषिले स्वीकारे
द्वन्द्वलाई हेराक्लिटसले स्वीकारे, द्वन्द्वलाई पाइथागोरसले स्वीकारे
त्यसरी त बन्यो, द्वन्द्वको एउटा परिभाषा
त्यसरी त पुरा भयो, जीवन र जगतको परिभाषा
ऋग्वेदको नासदिय सूत्रमा भनियो–
यो संसार छ पनि, छैन पनि
कति राम्रो द्वन्द्वको परिभाषा ?
बुद्धको प्रतीत्यसमुत्पादको सिद्धान्तमा भनियो–
कारण र कार्यबीच निरन्तर सम्बन्ध हुन्छ भनी
कति सुन्दर जगतको परिभाषा ?
द्वन्द्वले सिकाउछ,
जहाँ रात पर्छ, त्यहाँ दिन पनी हुन्छ
जहाँ अन्धकार हुन्छ, त्यहा“ उज्यालो पनि हुन्छ
द्वन्द्वले मार्गनिर्देशन गर्दछ–
निराशाहरुको बीचबाट आशाको जन्म हुन्छ भनी
असफताहरुको बीचबाट सफलताको प्राप्ति हुन्छ भनी
त्यसैले त
मानव जीवन चल्दै आएको छ
प्रकृतिले काँचुली फेर्दै आएको छ
अनि द्वन्द्वको यात्रा
मानिस, एउटा नयाँ मानिसको रूपमा
समाज, एउटा नयाँ समाजको रूपमा
प्रत्येक सोचाइ, एउटा नयाँ सोचाइको रूपमा
मानव जीवन, एउटा नयाँ जीवनको रूपमा
पुरानोको अन्त र नयाँको उदयको साथमा
एउटा नयाँ र सुन्दर भविष्यको आशमा ।