दुई साहित्यिक कृति ‘रहस्य’ र ‘राँगालाई जुत्ता’ विमोचन

0
89

काठमाडौँ । विजयराज आचार्यको लघुकथा संग्रह ‘राँगालाई जुत्ता’ र शान्ति सापकोटाको छन्द कविता संग्रह ‘रहस्य’  दुई छुट्टा-छुट्टै  कृतिको बिहीबार पुल्चोकमा आयोजित एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।

गुणात्मक साहित्यकारहरुको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकूलपति केके कर्माचार्यको प्रमुख आथित्यमा सम्पन्न उक्त अन्तरक्रियाको अध्यक्षता बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानले गरेका थिए । कार्यक्रममा कवि प्रभा भट्टराईले सापकोटाको छन्दकविता संग्रह ‘रहस्य’ को बारेमा र साहित्यकार रामप्रसाद ज्ञवालीले आचार्यको लघुकथा संग्रह ‘राँगालाई जुत्ता’ को बारेमा समालोचना गरेका थिए ।

छन्दकविता कृति ‘रहस्य’ को बारेमा चर्चा गर्दै भट्टराईले धेरैजसो कविताहरु सामाजिक विकृति र विसंगतीका विरुद्ध नारी आवाजको रुपमा आएको बताइन् । यी विषयहरु नाराको रुपमा नभई संयम् र सरलचेतबाट आएको उनको भनाई थियो ।

कवितामा पूर्वीय दर्शनको प्रभाव र आध्यात्मिक चिन्तन पनि प्रष्ट देखिने भन्दै भट्टराईले कवितामा पूर्वीय र पूराकथाहरुको बिम्ब पाइने उल्लेख गरिन् । छन्द कविता लेख्ने धेरै कविहरुले संस्कृतका शब्द प्रयोग गर्छन् भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै शान्ति सापकोटाका कवितामा कम प्रयोग भएको र नेपाली शब्दहरुलाई नै सरल र सहज ढंगले प्रयोग गरेको उनले बताइन् । उनले भनिन्, ‘शान्ति सापकोटा छन्द र व्याकरणमा बढि नै सचेत भएको पाइन्छ ।’ यसले गर्दा केही केहीमा कविताको भाव मर्ने अवस्था आएको उनको भनाई थियो । धेरै वटा छन्दहरुको प्रयोग यो संग्रहमा भएको भन्दै भट्टराईले यो कविको सवल पक्ष रहेको बताइन् ।

यसैगरी विजयराज आचार्यको लघुकथा कृति ‘राँगालाई जुत्ता’ को बारेमा चर्चा गर्दै साहित्यकार रामप्रसाद ज्ञवालीले शीर्षक विधान राम्रो भएको र राँगाका प्रवृत्तिसँग मिल्ने कथाहरु कृतिमा भएको बताए । विडम्बना, जटिलता, समस्या र पछौटेपनप्रति व्यङ्ग्य गरिएका लघुकथाले नेपालको सामाजिक, राजनीतिक, आर्थिक, पर्यावरणीय परिवेशलाई उल्लेख गर्ने उनले बताए ।

कृतिमा समाविष्ट कथाहरुको चर्चा गर्दै केही कथा राम्रा भए पनि सबै कथा लघुकथाजस्ता नभएको उल्लेख गरे । कृतिमा प्रयुक्त भाषामा एकरुपता नभएको, भाषिक धारणामा स्पष्टता नभएको, पदसंगति र पदक्रम नमिलेकोजस्ता खोट देखाउँदै ज्ञवालीले अर्को संस्करणमा परिस्कार गर्न आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि केके कर्माचार्यसहित वरिष्ठ हास्यब्यङ्ग्यकार रामकुमार पाँडे, साहित्यकार भुवनहरी सिग्देल, कार्यक्रमका सभापति प्रमोद प्रधानलगायतले मन्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वक्ताहरुसहित साहित्यकारहरु तारानिधि भट्टराई, गंगादेवी कसजु, इन्दिरा दली, कलाकार एकाराम सिं लगायतका साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here