काठमाडौं, २९ असार । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन बुझाएको छ । एकता समाजका अध्यक्ष गङ्गा पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा एकता समाजले ओमनबाट विदामा घर फर्केका नेपाली घरेलु महिला कामदारलाई पुनः सोही रोजगारीमा जान पाउनुपर्ने, सरकारको प्रत्यक्ष निगरानीमा वैदेशिक रोजगारी सञ्चालन गर्नुपर्ने, विदेशस्थित नेपाली नागरिकहरुलाई मतदान र प्रतिनिधित्वको अधिकार दिनुपर्ने र गैरकानुनी ढङ्गले युरोप, अमेरिका लगायतका देशमा पठाउने नाममा भएका विकृतिको अन्त्य गर्नुपर्ने मागहरु समेटिएका छन् । त्यसैगरी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बुझाइएको ज्ञापनमा ओमनमा त्यहाँको राजदूतावासको रोहबरमा नेपालीहरुको एउटै सोसियल क्लब दर्ता गर्नु पर्नेमा गैरआवासीय नेपाली संघले एकतर्फी क्लब दर्ता गरिएकोमा नेपाली सोसियल दर्ता हुनुपर्ने विषय समेटिएको छ ।
त्यस अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रतिनिधि मण्डलसितको कुराकानीमा वैदेशिक रोजगारीमा देखापरेका विकृति अन्त गर्न सरकार लागिपरेको बताए । “अहिलेलाई ती विकृति न्यूनीकरणको प्रयासमा छौं”, एकता समाजका महासचिव शोभाकान्त लामिछानेले मन्त्री विष्टको भनाइ उद्धृत गर्दै भने । त्यसैगरी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ओमनमा कुनै एक नेपाली संगठनको नाममा मात्र सोसियल क्लब दर्ता हुनु उचित नभएको बताउँदै आफूले यसबारेमा पहल गर्ने आश्वासन दिएको पनि लामिछानेले बताए ।
त्यस अवसरमा महासचिव शोभाकान्त लामिछाने, राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेल, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका संस्थापक सभापति गोविन्द सिंह थापा, रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा, ओमन नेपाली एकता समाजका केन्द्रीय सदस्य श्यामलाल रेग्मी, ओमन नेपाली एकता समाजका पूर्व उपाध्यक्षहरु घनबहादुर लामा र नारायण ज्ञवाली तथा राजमो नेता कृष्ण आचार्यको प्रतिनिधिमण्डल पुगेको थियो ।