सुमन थापा
किनारामा उभिएको छु
मुर्तिवत, एकतमास तिम्रो छेउ
तिमीलाई भेटाउन
तिमीलाई स्पर्श गर्न
कुरिरहेँ …
तिमी लाई कुरिरहेको
देख्दै नदेखी
तिमी त धेरै पर पुगेछौ
कति माईल पर पुग्यौ नियाल्दैछु
तिमीसँगै आएका
तिम्रा सङ्गिहरु
सबै नराम्रा पनि थिएनन
न त थिए सबै राम्रा
त्यसमा कुनै शालिग्राम थिए
कुनै पाइतला देखि मुटुसम्म
दुखाउने काँडा अनि ढुँङ्गाहरु
घामको किरण तिमी भित्र
प्रतिबिम्ब बन्दा तिमीलाई छुन चाहेँ
तिमीमै हराउन चाहेँ
तिमीलाई स्पर्श गर्न खोज्दा
कहिले गहबाट आँसु झर्ने गरि
हृदयमा बिझ्यौ
कहिले आफू बाटै पर भाग्यौ
तिमीलाई बतासले छुँदा पनि मन दुख्छ
किरणले स्पर्श गर्दा पनि
डाह हुन्छ मलाई
कतिन्जेल ती ढुँङ्गाहरुले घोचिरह्न्छौ
कतिन्जेल म बाट लुकेर बगि रहन्छौ
कतिन्जेल हृदयको घाउ बनेर दुखी रहन्छौ
म भुल्न चाहन्छु
त्यो समय…
जहाँ तिम्रो नयन भित्र
आफैलाई हेरिरहन्थेँ
आफैलाई खोजिरहन्थेँ
तिमी रहनु आकाशको जूनतारा रहुन्जेल
म पक्कै पनि हुनेछु तिमीमा समाहित
जुन दिन मेरो बिछ्यौना चिता बन्नेछ
अनि तिमीले नै मलाई सिंगार्नेछौ
आफू भित्रै मलाई अँङ्गाल्नेछौ
अनि तिमीसँगै बग्नेछु त्यो जूनतारा छुन
तिमी सँगै यात्रामा रहनेछु युगौँ युग
डाह गर्नेछ त्यो किरण अनि बतासले फेरि ।।