तिम्रो हाँसो भित्रको रहस्य
जान्न मन छ
तिमि हाँस्दा
कौतुहलता का साथ
अनेकौ प्रश्न हरु
उब्जिएको अनुभुत हुन्छ
नयन भित्र गडेको मुस्कानको
केहि प्रश्न मन भित्र
उत्तर बिहिन बन्न पुग्छ
उन्मुक्त हाँसो हाँस्छु
म कहिलेकाही …
परेलिका पर्दाहरु सँङ्ग
लुकामारी खेल्ने हाँसो
यात्राका घुम्तिहरुमा
नमेटिने पाइलाका डोब हरु जस्तै
सिरसिर पवनको झोँकाहरु
पहाड्को सिरान अनि खोँचहरुमा
सुस्तरी स्पर्श गरे जस्तै
लाग्छ तिमी मुस्कुराउँदा
तिम्रो मुस्कुराहट्ले
अङ्गालेको छ मलाई
मन डराउँछ किन हो खै?
मधुर मुस्कानको प्रतिध्वनी
गितारको धुन सङ्गै बज्दा बज्दै
चुँडिएको तार जस्तै हुने पो हो कि?
खेतमा काम गर्दै गर्दा
मुहारबाट बगेको पसिना पुछदै
सुस्ताउन छहारी खोजे जस्तै
मुस्कानका ध्वनिहरु सुस्ताएर
तरङ्गित हुँदै बिलिन हुने पो हो कि?
तिम्रो अनि मेरो हाँसो
तुलनात्मक रुपमा फरक छन्
अनि…
आफैमा उत्तर बिहिन हुन्छु
मुटु भित्रका तरङ्गित
चन्चलतालाई बुझाउन प्रयासरत
हुने चेष्टा
अनवरत रहि रहनेछ..