माघ १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले डा. गोविन्द केसीले उठाएका राजनीतिक मागहरु सही भएपनि चिकित्सा शिक्षा सुधारसँग ति मागलाई नजोड्न सुझाव दिएको छ । मंगलबार नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. केसीले राजनीतिक मुद्दा उठाउँदा उनको मुख्य माग नै कमजोर पर्न सक्ने बताउनु भएको छ ।
‘डा. केसीका अहिलेको अनशनका मागहरूमा निर्मला हत्या प्रकरण तथा सशस्त्रद्वन्द्वको बेलाका जघन्य अपराध तथा द्वन्द्वपीडितका समस्याहरूलाई पनि सामेल गरिएको छ । ती सबै मागहरू सही छन् र हाम्रो पार्टीले तिनीहरूबारे लगातार आवाज उठाउँदै आएका छ ।’ विज्ञप्तिमा सिंहले भन्नुभएको छ, ‘तर अहिले आफ्नो अनशनका सन्दर्भमा डा. केसीले ती मागहरूलाई सामेल गर्दा उहाँले अहिलेसम्म चलाउँदै आएको शिक्षा र स्वास्थ्य सम्बन्धी सङ्घर्षको अभियान कमजोर हुन्छ र उहाँका मागहरूको विषयमा अनावश्यक रूपले विवाद र जटिलता पैदा हुन्छ ।’
वक्तव्य तल प्रस्तुत गरिएको छ :
डा. गोविन्द के.सी.को अनसन र उहाँको विग्रदै गएको स्वास्थ्य प्रति ने.क.पा. (मसाल)ले गम्भीर चिन्ता प्रकट गर्दछ । सरकारले उहाँको पन्ध्रौँ अनसनको बेलामा गरेको सम्झौता अनुसार विधेयक नल्याउनु गम्भीर दुःखको कुरा हो । स्वास्थ्य शिक्षा समितिले संसदमा प्रस्तुत गरेको विधेयकमा पनि डा. के.सी.सित भएको सम्झौतालाई कार्यान्वयन गर्न प्रयत्न गरिएको छैन । त्यसको हाम्रो पार्टीले विरोध गर्दछ र उहाँसित भएको सम्झौता अनुसार त्यो विधेयकलाई पारित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।
तर यस सन्दर्भमा डा. के.सी.का अहिलेको अनसनका मागहरूमा निर्मला हत्या प्रकरण तथा सशस्त्रद्वन्द्वको बेलाका जघन्य अपराध तथा द्वन्द्वपीडितका समस्याहरूलाई पनि सामेल गरिएको छ । ती सबै मागहरू सही छन् र हाम्रो पार्टीले तिनीहरूबारे लगातार आवाज उठाउँदै आएका छ । तर अहिले आफ्नो अनसनका सन्दर्भमा डा. के.सी.ले ती मागहरूलाई सामेल गर्दा उहाँले अहिलेसम्म चलाउँदै आएको शिक्षा र स्वास्थ्यसम्बन्धी सङ्घर्षको अभियान कमजोर हुन्छ र उहाँका मागहरूको विषयमा अनावश्यक रूपले विवाद र जटिलता पैदा हुन्छ । त्यसैले हाम्रो विचारमा उहाँले ती मागहरूलाई पनि आफ्नो अनसनको विषय बनाउनु सही भएको छैन भन्ने हाम्रो मत छ ।
२०७५ माघ १ गते
मोहनविक्रम सिंह
महामन्त्री