चैत बैशाखको हावाहुरिको झोक्काले बिपत्तिहरुलाइ बढार्नेछ

0
82
कविताः विपत्ती
                             —अनिलकिशोर घिमिरे
सधै हतारमा लखेट्नेहरुको जुलुसमा
लखेटिइरहेको म
आज उराठलाग्दो बासुरीको धुनजस्तै
एकान्तमा उदास भइरहेको छु
कहिलेकाँही प्रकृतिले पनि
निस्सासिने बनाउछ
आज म डरपोक भएको छु
आफ्नै संग तर्सिरहेको छु
कहिल्यै लुक्न मन नपर्ने म
गेटमा सूचना टाँसी
भित्रै लुकिरहेको छु
बिगतका प्रत्यक बसन्तहरु
सौन्दर्यको बहार लिएर आउँथे
तर यसपटक बसन्तले
जहर लिएर आयो
आज संसारलाइ कोरोनाले
शाषन गरिरहेको छ
सिङ्गो मानव सभ्यतामाथी
बज्रपात गर्दैछ
निर्दोश जीवनलाइ
एकाएक डसिरहेको छ
मान्छेका इन्द्रेणि रहरहरु
डढाउन खोजिरहेको छ
आज सपनाका कुइनेटाहरुले
झस्काउन थालेका छन्
बिशाल र रङ्गिन बनाउने
भबिश्यका आकांक्षाहरु
कताकता अल्मलिएका छन्
बाँकी समयको स्वप्निल बगैचा
अहिले कल्पना गर्न सक्दिन म
सायद उराठलाग्दो पुरानो बगरतिर
बग्रेल्ती माछाहरुपनि यस्तै
छट्पटाइरहे होलान्
निर्मल झरनाहरु पनि
एक्लै सुस्साइरहे होलान्
गन्तब्य पर्खेका यात्रीहरु
निस्सासीरहेका होलान्
भरिया र मजदुरहरु
भोक प्यासले कहालिएका होलान्
आज निलो आकाश उघ्रिएको छ
घामले पनि त उज्यालै खोज्छ
राती उसलाइ पनि कफ्र्यू लागेको छ
घरको तप्केनीबाट
एउटै सौन्दर्य कतिपटक हेरिरहुँ
संसार काँपीरहेको कसरि देखीरहुँ
भावुक बनेर सन्तुलन
गुमाउनु पनि त भएन
यसबेला
बलिदान र समर्पण पनि
उत्ताउलो बन्दोरहेछ
संसार उडाउने शस्त्रअस्त्र पनि
फिका बन्दोरहेछ
यसबेला
कुरुप राज्यसत्ता
हिंसाको समुन्द्र
जालीझेली शाषक
भ्रष्ट,लुटेरा,देशद्रोहिहरु र
उनका स्वार्थका सत्ता
पल्टाउने कुराहरु
कहाँ सोचिरहनु
अहिले त कोभिड १९
कोरोना,किट,पिपिइ
क्वारेन्टाइन,आइसोलेशन
संक्रमण र मृत्यु शब्द
गुञ्जाएमान भएको छ
खै,निर्जिव कलाको यो
अनन्त बन्धनबाट
मुक्ति कहिले भइने हो
जे होस् मान्छे हार्न चाहान्न
उकालो चढ्न सक्नेहरु
ओरालो पक्कै झर्नेछन्
आज मानव संबेदनामाथी
शितल पंखा हम्किनु पर्ने छ
समयसगं जिस्कने बेला पटक्कै छैन
बतासे अभियानले
बिपत्तीको सामना गर्दैन
सेकेन्डमै आफ्नो योग्यता
प्रस्तुत गर्ने समय हो यो
बाध्यताको कफ्र्यूमा हामिले रोपेका
फलहरु मिठै हुनेछन्
अभावमा पनि जसोतसो सारेका
फूलका बिरुवाहरुले
सुमधुर सुगन्ध छर्नेछन्
म सहजता पाउने आशामा
भोलीको घाम कुरिरहेको छु
समयले सूर्यकिरणको बाटो भएर
प्रकाश दिन आउनेछ
चैतबैशाखको हावाहुरिको झोक्काले
बिपत्तिहरुलाइ बढार्नेछ
फेरि मानव जीवन उत्साहित बन्नेछ
घमण्डहरु बिलाउनेछन्
षडयन्त्रका पटाक्षेपहरु ध्वस्त हुनेछन्
अबिबेकी हुलहरु लालसा बिर्सनेछन्
दुषित सत्ता ढल्नेछ
सुनौलो बिहानी उदाउनेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here