काठमाडौं । गैर आवासीय नेपाली संघले विभिन्न परियोजनामा १० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको छ । सरकारसँग मिलेर नेपालका पूर्वाधार विकासमा १० अर्ब बढीका परियोजनामा यसै वर्ष लगानी गर्न आसन्न लगानी सम्मेलनमा ‘एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष’ स्थापनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्न लागिएको एनआरएनएले जनाएको छ ।
नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब र चालु पुँजी १० अर्ब रहने संघका उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ लगानी तथा बाणिज्य प्रवद्र्धन कार्यदलका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।
गैरआवासीय नेपालीको लगानी विभिन्न आयोजनामा छरिएर आउँदा ठूलो परिणाम नदेखिएकाले कम्पनी खडा गरेर एकमुष्ठ रुपमा लगाउन खोजिएको पन्तले बताए । सम्झौतापत्र तयार भइसकेको र लगानी सम्मेलनका क्रममा एनआरएन अध्यक्ष भवन भट्ट तथा नेपाल सरकारका प्रतिनिधिले हस्ताक्षर गर्ने संघले जनाएको छ ।
कोषको ८५ प्रतिशत पुँजी गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरी संकलन गरिनेछ । एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेका अनुसार नेपाल बाहिर रहेका गैरआवासीय नेपालीलाई शेयर होल्डर बनाउने गरि इन्भेस्टमेन्ट कोष गठन हुनेछ । कोषमा नेपाल सरकारको पनि सामान्य हिस्सा रहनेछ ।