कोरोना प्रकोप: सावधानी अपनाऔं, अफवाह नफैलाऊँ

0
192

-नारायण सुवेदी

छिमेकी देश चिनको बुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्व समुदायलाई आतङ्कित बनाएको छ । जसले विश्वभरी नै आक्रमण गर्दै दौडिरहेको छ । यो लेख तयार पार्दासम्म कोरोना भाइरसबाट करिब चार लाख मानिस संक्रमित भएको देखिन्छ भने करिब अठार हजार मानिसले ज्यान गुमाउनु परेको छ । जसमा करिव एक लाख चार हजार हजार मानिस उपचारपछि घर फर्किए भने करिब तीन लाख मानिस उपचाररत छन् । पशुबाट सरेको भनिएको भाइरस अहिले मानिसमा व्यापक रुपमा सर्दै गरिरहेको छ । उक्त भाइरसले हाम्रो शरीरको श्वासप्रश्वासमा तुरुन्तै आक्रमण गर्दा उच्च मात्रामा ज्वरो आउने र कडारुपमा खोकी लाग्ने र निमोनिया हुँदै मानिसको मृत्यु हुने बताइएको छ । यसको बारेमा विश्वभरी नैल सरकारी तथा गैरसरकारी निकाय, संचारमाध्यम, विभिन्न संघ संस्थाहरुले उच्च प्राथमिकता दिँदै सचेतना फैलाइरहेको देखिन्छ ।

चीनपछि कोरोना भाइरस युरोप र अमेरिकातिर व्यापकरुपमा फैलिएको देखिन्छ । सबैभन्दा पहिले चीनमा बत्तिस सय मानिसको ज्यान लिइसकेपछि हाल इटलीमा छ हजार आठ सय मानिसको मृत्यु भइसकेको छ । यो हालसम्मकै सबैभन्दा धेरै देखिन्छ । इटालीमा करिब चौवन्न हजार मानिस संक्रमित छन् । आजको समयसम्म आइपुग्दा करिव ७०–८० देशका मानिसले कोरोनाको कारणले नै ज्यान गुमाइसकेका छन् । १७५ देशमा यो भाइरस फैलिएको देखिन्छ । नेपालमा अहिलेसम्म यो भाइरसबाटको संक्रमण त्यति देखिएको थिएन तर केहि दिन अघि मात्र फ्रान्सबाट आएकी १९ वर्षिय एक नेपाली युवतीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ ।

जसलाई नेपाल सरकारले उच्च सतर्कता को माध्यमबाट उपचार गरिरहेको छ यो भाइरस फैलिन दिनको लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि सात दिन सम्मको लागि लक डाउन गरेको छ । केही समयअघि आजको नेपाल जस्तै थियो इटाली । तर केही दिनपछि दैनिक ६ सय जनाले ज्यान गुमाउनु परेको छ जसको मुख्य कारण बेलैमा धेरै सावधानी नपाउनु नै हो । हेल्चक्रयाँइको प्रतिफल आज इटलीले भयावह अवस्थाको सामना गरिरहनु परेको छ ।

नेपालको त्यो दिन नआओस भनि नेपाल सरकारले उच्च सतर्कता अपनाउँदै अहिले विद्यालय, कलेज, सिनेमा हल, लामो दुरीका यातायात जस्ता भिडभाड हुने स्थान सबै बन्द गरिसकेको छ चिकित्सक तथा विज्ञहरुले भनेका छन् कि कोरोना भाइरसको हालसम्म कुनै औषधि नबनेको हुँदा यसबाट बच्नको लागि सतर्कता अपनाउनु नै उत्तम उपाय हो । यस रोगको रोकथाम भनेको रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु नै यसबाट बस्ने उपाय हो । जुन सतर्कता हामीले नअपनाउँदा नै भाइरसले व्यापक मात्रामा फैलिने मौका पाउँछ । त्यसैले हरेक समयमा आफ्नो शरीरलाई स्वस्थ र सफा राखिरान्न नराख्नु अनिवार्य हुन्छ । विशेषरुपमा अहिलेको अवस्थामा त झन् धेरै सरसफाईमा ध्यान दिने गरौं आफूले खाने खानामा शुद्धता कायम गर्ने गरौं अतिआवश्यक भन्दा बाहिर नजान जोकोहीसँग पनि हात मिलाउने अंकमाल गर्ने नगरौं । आफूले पनि सिकौ अरुलाई पनि सिकाऊँ तब मात्र हामीहरु सुरक्षित हुन सक्छौं ।

अहिलेको अवस्थामा हामी कुनै पनि पक्ष वा प्रतिपक्ष बनेर होइन कोरोनाका विरुद्ध सबै एकजुट भएर आम नागरिकमा सकारत्मक चेतना ल्याउन जरुरी छ । महामारीको रुपमा आएको कोरोनालाई सबै मिलेर सामना गर्नको लागि तत्पर हुन सके मात्र हामीले आउनसक्ने गम्भीर परिस्थितिको सामना गर्न सक्छौं । संकटको बेला सरकार सबैको अभिभावक हो सरकार र राज्यले निर्देशन गरेका नियमहरुलाई पालना गर्नु हरेक नागरिकको कर्तव्य हो भने हरेक नागरिकलाई महामारीबाट बचाउनु राज्यको काम हो । सबै होसियार बनौं । समय छँदै अहिले नै जिम्मेवार बन्ने र सावधानी अपनाउने गरियो भने पक्कै पनि अहिले युरोपले भोग्नु परेको पिडा नेपालले भोग्न पर्ने छैन । युरोपबाट पाठ सिक्दै यस्तो अवस्था नेपालमा आउन नदिनको लागि बेलैमा सोंचौ । अफवाह र सन्त्रासमा फैलाउने र तर्सित भएर होइन संयमित र सावधानी अपनाएर नै कोरोनाको प्रकोपको विरुद्ध लड्न सक्छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here