नयाँ दिल्ली । अत्यन्तै दु:खसाथ भन्नु पर्दा गण्डकी प्रदेशका सांसद का. टेकबहादुर घर्तीको दु:खद निधन भएको समाचार छ । वहाँको गत मंगलबार उपाचारार्थ भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा पुर्याइएको थियो । एयर एम्बुलेन्सबाट अपोलो अस्पताल पुर्याइए पछि सांसद घर्तीलाई अस्पतालको Liver ICU, Bed No. 3422 मा भर्ना गरिएको थियो । आज राती १ बजे नै अस्पतालका डाक्टरहरुले मृत्यु भएको घोषणा गरेको घर्तीकी श्रीमती सुनमया घर्तीले बताईन् ।
प्रदेश सांसद घर्तीको १७ दिनसम्म काठमाडौँ स्थित ग्राण्डी अस्पतालको आईसीयुमा उपचार भएता पनि वहाँलाई निको नभए पछि नयाँ दिल्लीको अपोलो अस्पताल पुर्याइएको थियो ।
ढोरपाटन नगरपालिका ६ अधिकारीचौर सइखोला निवासी सांसद घर्ती राष्ट्रिय जनमोर्चाका सक्रिय र अत्यन्तै मिलनसार नेता हुनुहुन्थ्यो । सांसद घर्ती बागलुङको क्षेत्र नं २ को ख बाट प्रदेश सभा सदस्यमा बामगठवन्धनबाट उमेदवार बनी निर्वाचित हुनुभएको थियो ।
बाबु श्यामलाल घर्ती मगर र आम हिराकुमारी घर्तीको कोखबाट २०२८ श्रावण ५ गते जन्मनुभएका टेक बहादुर घर्तीका श्रीमती सुनमया घर्ती मगर, चार छोरीहरु कल्पना, रञ्जना, बन्धना, अखिल छोराहरु र दुई छोराहरु छायाँ र एन्जेल छन् ।
४६ वर्षिय घर्ती बिगत केहि दिन देखी कलेजो सम्वन्धी रोगबाट पीडित रहेको पार्टी श्रोतले जनाएको छ ।
अपोलो अस्पतालबाट शव स्वदेश पठाउनका लागि पूर्व सांसद हरि आचार्य, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसी र नेकपा (मसाल)का पूर्व प्रवक्ता विमल शर्माले व्यवस्था मिलाउँदै हुनुहुन्छ ।
आचार्यका अनुसार घर्तीको शव आजै अम्बुलेन्स मार्फत स्वदेश फर्काइंदै छ । भारतीय समय अनुसार साँझ ६ बजे एम्बुलेन्स मार्फत आफ्नै जन्म स्थान ढोरपाटन नगरपालिका ६ अधिकारीचौर सइखोला लैजाने हामीलाई पूर्व सांसद आचार्यले बताउनु भयो । आचार्यका अनुसार एम्बुलेन्समा श्रीमती, दुई छोरी र बालकृष्ण घर्ती मगर साथमा जाँदै हुनुहुन्छ ।