कालिज संरक्षण गर्ने प्रयासमा कालिका भगवती गुठी

0
338

ताराप्रसाद शर्मा
बागलुङ, १९ चैत । बढ्दो शिकारले सङ्कटमा पर्ने देखिएपछि बागलुङमा कालिज संरक्षणका लागि प्रयास अघि बढाएको छ । बागलुङ नगरपालिका १ स्थित प्रशिद्ध धार्मिक पर्यटकिय स्थाल कालिका भगवती गुठी मन्दिर व्यवस्थापन समितिले कालिज संरक्षणका लागि प्रयास थालेको हो ।

मन्दिर वरिपरि रहेको १ सय ९० रोपनी वन क्षेत्रमा कालिज लगायतका पक्षीको वासस्थान रहेको र वासस्थानको सुरक्षा र चोरी शिकार नियन्त्रणका लागि योजनाबद्ध काम शुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्राकृतिक वासस्थानमै कालिज संरक्षण गरिएको जानकारी दिदै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले हिजोआज कालिजले मन्दिरका परेवासँगै चारो टिप्न थालेको बताए । संरक्षण र हेरचाहले कालिजको आनीबानी फेरिएको उनको बुझाइ रहेको छ । मन्दिर परिसरको जङ्गलमा दुर्लभ देखिने कालिज अहिले दैनिकजसो भेटिन थालेको उनले बताए ।

जङ्गलभित्र आवतजावत रोक्ने गरी तारबार गरेपछि कालिज संरक्षणमा ठूलो टेवा पुगेको उल्लेख गर्दै खड्काले मन्दिरमा खटिने प्रहरी, कर्मचारीलाई पनि विशेष रुपमा सचेत बनाएको र जङ्गलको बीच–बीचमा कालिजलाई चारो पनि राख्ने गरेको जानकारी दिए । वन कुखुरा’ भनेर समेत चिनिने कालिज बढी अवैध शिकार हुने जङ्गली चरा भएकाले कालिजको वासस्थान जोगाउन र चोरी शिकार रोक्न सके कालिज संरक्षण हुने देखिएको उनले बताए ।

मन्दिरमा अहिले चार वटा समूहमा कालिज रहेको अनुमान गरिएको छ । एउटा समूहमा सात–आठ वटासम्म कालिज देखिएको अध्यक्ष खड्काले बताए । विशेष गरी मन्दिरको दक्षिणी क्षेत्रको जङ्गलमा कालिजको बढी बसोबास छ । यही हिसाबले संरक्षण योजना सफल भए कालिजको सङ्ख्या बढ्दै जाने बताइएको छ ।

कालिज संरक्षणको प्रयास प्रशंसनीय रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन सुवेदीले बताए । पछिल्लो समय अवैध चोरी शिकारका कारण कालिज सङ्कटमा रहेको बताउदै सुवेदीले मानव बस्तीदेखि नजिकैका जङ्गलमा पाइने भएको हुँदा र कालिजको मासु स्वस्थ तथा स्वादिलो मानिने भएकाले पनि बढि शिकार हुने गरेको बताए ।

लोपोन्मुख अवस्थामा नभए पनि कालिज शिकार गर्नु गैरकानूनी हुने सहायक वन अधिकृत सुवेदीको भनाई रहेको छ । कालिज लगायत कुनै पनि पक्षी र वन्यजन्तु शिकार गरे जरिवाना र जेल सजायसम्म हुने भएकाले सवै सचेत हुनुपर्नेमा उनले जोड दिए । शिकारको उजुरी आए कार्यालयले कारवाही प्रक्रिया अघि बढाउने उनले बताए । अनुमति लिएर र दस्तुर तिरेर केही निश्चित संरक्षित क्षेत्र र शिकार आरक्षमा मात्र कालिजको शिकार गर्न पाइने व्यवस्था छ ।

पछिल्लो समय नेपालमा कालिजको विकसित जातलाई व्यावसायिक रुपमा पनि पाल्न थालिएको छ । होटल, रेष्टुराँमा कालिजको मासु महँगो मूल्यमा बिक्री हुन्छ । मन्दिरमा वन्यजन्तु संरक्षण उद्यान निर्माणको लागि तारबार गर्ने, अग्निरेखा बनाउने लगायतका काम अघि बढाइएको छ । वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याइएको अध्यक्ष खड्काले बताए । मन्दिर क्षेत्रमा नभएका वन्यजन्तु र पक्षी बाहिरबाट ल्याएर राखिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here