सुमन शर्मा /भरतपुर,
“कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो , भारतीय साम्राज्यवादी सेना फिर्ता गर ! भारतीय जाली नक्सा खारेज गर, मिचिएको भुमी फिर्ता गर !!” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा जिल्ला समिति चितवन को आयोजनामा २०७६ मंसिर २० गते भरतपुरको चौबिसकोठीमा विरोध सभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा भरतपुर महाँनगरपालिका का सचिव सुमन शर्मा आचार्यको संचालनमा अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य एवम जिल्ला अध्यक्ष डम्बर पुरीले भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरि पछिल्लोपटक नक्सा सार्वजनिक गरेको एक महिना बितिसक्दा समेत सरकारका तर्फबाट निर्णायक पहलकदमी चाल्न ढिलाइ गरेकोले वर्तमान सरकारको चरित्र उदाँगो बनेको बताउनुभयो । साथै उहाँले सरकारभन्दा बाहिर छंदा राष्ट्रियताका चर्का कुरा गर्ने र सत्तामा हुंदा देशी विदेशी शक्तिहरुको दलाली गर्ने द्वैध चरित्रका कारण मुलुकको राष्ट्रियता र सार्वभौमिकता संकटमा फस्दै गैरहको बताउंदै मिचिएको भूमि फिर्ता ल्याउन र सरकारलाई दवाव सिर्जना गर्नका लागि व्यक्तिगत र पार्टीगत स्वार्थबाट माथी उठेर राष्ट्रियताको रक्षाको यो आन्दोलनमा सामेल हुनका लागि सम्पूर्ण राजनैतिक दल र सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्नुभयो।
उक्त कार्यक्रममा ने. क. पा. (मसाल) जिल्ला प्रवक्ता का मेघराज ढकालले इतिहास देखि वर्तमानसम्म ने. क. पा. (मसाल) ले राष्ट्रियताको लडाइँ लड्दै आइरहेको स्मरण गराउँदै हालै भारतले सार्वजनिक गरेको नक्साले नेपाली सार्वभौमिकतालाई चुनौती दिएकाले त्यस प्रकारको चुनौती र भारतको साम्राज्यवादी नितिको घोर भ्रत्सना एवम विरोध गर्दै देशको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि देशभक्त नेपाली जनताको देशभक्तिपूर्ण संघर्ष र एकतामा जोड दिनुभयो ।
त्यसैगरी अखिल नेपाल स्वतन्त्र विध्यार्थी युनियन (छैठौं) केन्द्रीय समिती का सचिव सुबास जिसी ले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथी भारतीय हस्तक्षेप नेपाललाई निल्ने पराकाष्ठा भएको र भारतले नेपालमा संघीयता लादेर नेपाललाई टुक्राउन निरन्तर विशेष गुरुयोजना अनुसार काम गरेको र अहिलेको हस्तक्षेप पनि त्यही योजनाको अंश भएकोले भारतको यस प्रकारको योजना सफल हुन नदिनका लागि नेपालीहरु बेलैमा सचेत बनेर लाग्नुपर्ने कुरा बताउनुभयो।
उक्त कार्यक्रमामा भारतीय साम्राज्यवाद विरुद्ध नारावाजी गर्नुका साथै संघीयता र वर्तमान सरकारका गलत रवैयाहरुका विरुद्ध चर्को नारावाजीका साथ समापन गरिएको थियो ।