काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दावी गर्नु भएको छ । आफ्नो उखान टुक्का सैलीमा केसीले भन्नु भयो “‘संघीयता अहिले ठूला दलहरुलाई पनि संघीयता ‘नखाउँ भने दिनभरीको सिकार, खाउँ भने कान्छा वाउको अनुहार’ भने जस्तै गलपासो भएको छ ।”
संवाद चौतारीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता बिरोधी नभइ नेपालमा संघीय प्रणाली उपयुक्त नभएको बताउनु भयो । केसीले अगाडि भन्नु भयो–– “नेपालमा संघीयता भनेको ‘खर्च न पर्च, काँसी जानुपर्छ’ भने जस्तै भएको छ ।”
नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भारमात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागू गरिएकाले अहिले जनता स्वयंनै संघीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संसोधन प्रस्ताव हाल्न लागेको बताउनु भयो । त्यसका लागि राष्ट्रिय जनमोर्चाले संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताउनु भयो ।
कांग्रेस एमालेले समेत संघीयता नचाहेको तर बाध्यतामा परेर संघीयता स्वीकारेको भन्दै केसीले बताउनु भयो । संघीयता ठूला दलहरुको आफ्नो एजेण्डा नभइ कसैले बोकाइदिएको एजेण्डा भएको समेत वहाँको भनाइ छ ।