कविता : संसदीय निर्वाचन

0
82

-प्रताप पौडेल
  पोखरा ।

आउँछ जान्छ
पटकपटक मोलमोलाइ हुन्छ
लिने र दिने काम हुन्छ
खुवाउने रासका रास भोजन हुन्छ
पैसाको त कुरै छोडौं
इज्जत समेत किनबेच हुन्छ
चुनावमा मान्छे बिक्री हुन्छ ।

कसैले भन्छन्
यो चुनाव चिन्ह राम्रो
अनि फेरि अर्का थरिले भन्छन
यो व्यक्ति सयौं गुणा राम्रो
राम्रो र नराम्रोको बहस हुन्छ
नितिको त कुरै छोडौं
विचार समेत किनबेच हुन्छ
चुनावमा मान्छे बिक्री हुन्छ ।

एकथरी आउछन्
साथमा राता हरिया झण्डा हुन्छ
थातीका थाती हुल हुन्छन
जित हाम्रै हो भन्दै
चर्का चर्का कुरा गर्छन
कराउनु बिधि कराएर जान्छन
नैतिकताको त कुरै छोडौं
जवानी समेत किनबेच हुन्छ
चुनावमा मान्छे बिक्री हुन्छ ।

अर्काथरी आउछन्
साथमा गाडी र बाइक हुन्छन
पर्चा र पम्पलेट बोकि
नयाँ नयाँ बहाना बनाउछन
भोट त पक्का हाम्रै हो भन्छन
इमानदारिताको त कुरै छोडौं
कानुन समेत किनबेच हुन्छ
चुनावमा मान्छे बिक्री हुन्छ ।

शिक्षक देखि कर्मचारी सम्म
विपन्न देखि सम्पन्न सम्म
गाउँ शहर चारैतिर
गुलिया गुलिया नारा घोक्दै
दुईचार वटा भाषण मार्दै
सबै सबैलाई पैसा दिन्छ
नोटको सट्टा भोट माग्छ
मतपत्रको त कुरै छोडौं
भोट समेत किनबेच हुन्छ
चुनावमा मान्छे बिक्रि हुन्छ ।

निर्वाचनको दिनमा आउँदा
कोट पाइन्टमा सजिएर
अत्तर,चमेलि तेल घस्दै
ठाउँ ठाउँका बुथ पस्दै
मिठाई अनि नोट सँगै
चिल्ला मिठा कुरा दिन्छ
ब्यालेट बक्सको त कुरै छोडौं
कर्मचारीको समेत किनबेच हुन्छ
चुनावमा मान्छे बिक्रि हुन्छ ।

अब पालो नतिजाको
उसलाई पहिल्यै थाहा हुन्छ
जित पक्का मेरै हुन्छ
नतिजामा अन्तर धेरै हुन्छ
नतिजा सँगै बधाई पाउछ
फुलमाला र अबिर सँगै
धेरै धेरै शुभकामना पाउछ ।

हिजो सम्म आम मान्छे
आज भने सांसद बन्यो
संसद छिरे सँगै अब उसले
चुनावमा भएको खर्च गन्यो
अब उसको दिमाग घुम्यो
खर्च उठाउन भ्रष्टाचार गर्नुपर्छ
आफू बाचेर जनता मार्नुपर्छ
जनता भने हेरेको हेरै
भन्दैछन् अझै त्यो नेता मेरै ।

यो प्रक्रिया दोहोरिदै जान्छ
किनबेच फेरि भएकै हुन्छ
निहित स्वार्थमा अडिग दुनियाँमा
मान्छेको पनि बस्तुको जस्तै
मोलमोलाइ त चलेकै हुन्छ
यो व्यवस्थामा मान्छे किनबेच हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here