कर र संघीयता विरुद्ध राजमोद्वारा देशव्यापी सभा

0
1121

बुटवल । सङ्घीयता र करको विरोधमा राष्ट्रिय जनमोर्चाले २०७५ भाद्र १३ गते बुटवलमा सभा गरेको छ । सङ्घीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले सङ्घीयता धान्नका लागि सरकारले चर्को कर लगाएको भन्दै बुटवलमा विरोध सभा गरेको हो । राष्ट्रिय जनमोर्चाले देशभर सङ्घीयता र करको विरोध गर्दै सभा र अन्तरक्रियाको अभियान चलाएको छ । सोही अभियान अन्र्तगत बुटवलमा सभाको आयोजना गरेको हो ।

सभामा बोल्दै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले स्थानीय तहलाई मजबुत बनाउनु पर्ने बताउनु भयो । लोकतन्त्रको मेरुदण्ड स्थानीय तह भएकाले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनु भयो । उहाँले प्रदेशको संरचना चलाउनका लागि सरकारले स्थानीय तहको वजेट कटौती गरेको बताउनु भयो ।

सङ्घीयताका कारण सरकारले स्थानीय तहको वजेट कटौती गरेको र जनतालाई चर्को कर लगाएको दावी गर्नु भयो । हरेक पटकको आन्दोलनमा जनताले समृद्वि र अखण्ड नेपालको माग गरेको उल्लेख गर्दै सङ्घीयताको माग नगरको बताउनु भयो । सङ्घीयता आयतित र महङ्गो प्रणाली भएकाले एउटा सिंहदरवार पाल्न नसकेका जनताले अब सात वटा सिंहदरवार पाल्न नसक्ने बताउनु भयो । उहाँले आयातित सङ्घीय प्रणाली खारेज गरेर त्यसको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वशासनमा आधारित एकात्मक प्रणाली नेपालको लागि उचित हुने बताउनु भयो ।

युगौँगुगदेखि मिलेर बसेको वहुआयामिक सामाजिक सदभावलाई सङ्घीयताले खलबलाएकाले सङ्घीय प्रणाली खारेज गर्नुको अर्को विकल्प नभएको सांसद पौडेलको भनाइ रहेको थियो ।

तराई जनवादी मुक्ति मोर्चाका अध्यक्ष बद्रे आलमले सरकारले जनताको आयश्रोत नहेरी चर्को कर उठाएको बताउनु भयो । सङ्घीयताका दुष्परिणामहरु क्रमश: बढ्न थालेको उल्लेख गर्दै वहुआयामिक देशमा सङ्घीयताले हिमाल, पहाड र तराईको एकतालाई खलबलाएको बताउनु भयो । जनतालाई सेवा सुविधान नदिई उठाउन लागिएको चर्को कर जनताले तिर्न नसक्ने भएकाले अनावश्यक रूपमा लगाइएको कर हटाउन आग्रह गर्नु भयो ।

प्रदेश सभा सांसद तारा जिसीले जनताको भावनालाई सरकारले बुझ्न नसकेको बताउनु भयो । उहाँले सङ्घीयता देशको लागि घातक सावित भइसकेको उल्लेख गर्दै समयमा नै सचेत हुन आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्मा, गुल्मी कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा क्षेत्री, रूपन्देही व्यापार सङ्घका अध्यक्ष पदम श्रेष्ठ, ढुण्डीराज पौडेल, गणेश गौतम लगायतले मन्तव्य दिनु भएको थियो ।

इन्दिरा ज्ञवालीको अध्यक्षता र दीपक पौडेलको सञ्चालनमा कार्यक्रम भएको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । सभा हुनु अघि बुटवलको नयाा बसपार्कबाट जुलुस निकाली ट्राफिकचोकमा आमसभा गरिएको थियो ।

दाङ : राष्ट्रिय जनमोर्चाले दाङ सदरमुकाम घोराहीमा सङ्घीयताको खारेजी र चर्को करवृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ । २०७५ भदौ १५ गते राजमो पार्टी कार्यालबाट सुरु भएको जुलुशले बजार परिक्रमा गरी तुलसीपुर चोकमा सभामा परिणत भएको थियो । जुलुशमा राजमोका नेता/कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोम कुमार कार्कीले नेपालमा सङ्घीयता असफल भइसकेको भन्दै सङ्घीयता कार्यान्वयनको नाममा जनताको ढाड सेक्ने गरी भएको करवृद्धिले नै सङ्घीयता गलत प्रमाणित गरेको बताउनु भयो । नेता कार्कीले अब पनि शासकहरुका कान नखुल्ने हो भने सङ्घीयताकै कारण देशको अस्तित्व समेत गुम्न सक्ने चेतावनी दिनु भएको थियो । सरकारले पुाजीपतिलाई करछुट गर्ने र गरिब किसानलाई करवृद्धि गर्ने कुराले सरकारकै चरित्र उदाङ्गो भएको नेता कार्कीले बताउनु भयो । उहाँले सरकार सिन्डिकेट तोड्न असफल भएको, भ्रष्टाचारी, बलात्कारी, सुन तस्कर तथा हत्यारालाई कार्वाही गर्न पनि नसकेको भन्दै अब यो सरकारबाट जनताले के आशा गर्ने ? भन्र्दै प्रश्न गर्नु भयो ।

राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल वुद्धिजीवी सङ्घका पूर्व महासचिव शशिधर भण्डारी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर घर्ती, अखिल नेपाल युबक सङ्घका केन्द्रीय सदस्य चित्र एमसी लगायत नेताहरुले मन्तव्य राख्नु भएको थियो ।

जिल्ला सचिव वसन्त पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य शुक्रराज भण्डारीले गर्नु भएको थियो ।

सुर्खेत : “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयताको खारेज गरौँ, बढ्दो करवृद्धि र महङ्गी नियन्त्रणका लागी सङ्घर्ष गरौँ” भन्ने मूल नारा सहित चौकुने गुटुबजार २०७५ भदौ १६ गते मा कोण सभा सम्पन्न भएको छ ।

चौकुने गाउँपालिकाको गुटुबजारमा राजमो केन्द्रीय कार्यक्रम अन्तगत २०७५ भाद्र १६ गते गुटु विशाल बजारमा कोणसभा सम्पन्न भएको छ । सो सभालाई राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य तुल्सीराम सापकोटाले तथा राजमो जिल्ला सचिव लाल बहादुर नेपालीले सम्बोधन गर्नु भएको थियो । सभालाई सम्बोधन गर्दै राजमो नेता सापकोटाले सङ्घीयताका कारणले देश र देशवासी धरापमा परेकाले यस्तो धरापलाई भत्काउनु पर्ने र जनाताको इच्छा र चाहना अनुसार प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वशासनमा आधारित एकात्मक शासन प्रणाली लागु गरिनु पर्ने बताउनु भयो । । त्यसैगरी सभामा राजमो चौकुनेका नेता दान बहादुर राम्जालीले पनि सम्बाधेन गर्नु भएको थियो । कोणसभाको सञ्चालन राजमो चौकुनेका नेता भुपेन्द्र जोशीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here