काठमाडौं । नेकपाका महासचिव विप्लवले एमाले र माओवादी केन्द्रबीचको एकता कम्युनिस्ट आन्दोलनलाई ध्याँरोतिर धकेल्ने गठजोड मात्रै भएको बताए । उनले कम्युनिस्ट आर्दशबाट च्युत भएको घोर अवसरवादी संशोधनवादीहरुको एकता भएको बताए ।
“यी दुवै आफू क्रान्तिकारी हुँदा एकअर्कालाई दुश्मन भन्ने गर्दथे तर आज जब दुवै लुटेरा पुँजीवादी व्यवस्थामा प्रवेश गरेर सामाजिक दलाल पुँजीवादीमा पतन हुन पुगे तब एकअर्काका सुखदुखका साथी, कम्युनिस्ट र कमरेड भन्दै एकताको नाटक रच्न पुगेका छन् । यिनीहरुको एकता कम्युनिस्ट एकता होइन कम्युनिस्ट आदर्शबाट च्युत भएका घोर अवसरवादी संशोधनवादीहरुको एकता हो । उनीहरुको एकता कम्युनिस्टहरुको एकता होइन । क्रान्तिबाट भागेर पुँजीवादको पालेमा पतन भएका संशोधनवादीहरुको गठजोड हो । विचार मरेको तुच्छ स्वार्थ बोकेका जनघाती र राष्ट्रघातीहरुको घोर मिलाप मात्र हो । यसलाई अर्को भाषामा टाट पल्टिएको बैंकहरुको होल्डिङ व्यापारी संघको विलयबाहेक अरु भन्न मिल्दैन । शुरु मै दुई पार्टी संघको घोर अवसरवादी संशोधनवादी सिण्डिकेटधारी संरचना बोकेर कही नभएको जात्रा गर्दै दुई अध्यक्ष प्रणाली खडा गरेर कुहिएको पार्टीले के नयाँ प्रणालीको हल्ला गर्ने । यो त कम्युनिस्ट आन्दोलनलाई अँध्यारोतिर धकेल्ने व्यर्थको गठजोड मात्र हो” विप्लवले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विप्लवले माके भर्खरको महान् जनयुद्धको ओज, गरिमालाई मूल्यबोध गर्न नसकेर, शहीदका रगतको टाटा नबस्दै रनाहमा परेर साम्राज्यवादी दलाल संसदवादी पुँजीवादको टाङमुनि टाउको घुसार्न पुगेको कायर भगौडा पार्टी हो । यी दुवै क्रान्ति, बलिदान, शहीद, बेपत्ता तथा घाइते योद्धालाई कहिल्यै नभुल्ने गरी धोका र गद्दारी गर्ने समूहहरु हुन् ।
विप्लवले एमाले–माके एकतालाई भत्ता र कुरुप चित्र भएको भन्दै प्रचण्ड माओवादीको सम्पूर्ण रुपमा विसर्जन भएको बताएका छन् । “यो एकताको सबै भन्दा भद्दा र कुरुप चित्र भनेको प्रचण्ड माओवादीको सम्पूर्ण रुपले विसर्जन हो । प्रचण्डहरु यो आत्मासमर्पणको खाडलमा जाकिन्छन् भन्ने कुरा पहिला नै देखेको र भनेको पनि हो । हामीले उनीहरुको गडबढीलाई विचलन देखेर नै उनीहरुबाट विद्रोह गरेर क्रान्तिकारी पार्टीको पुनर्गठन गर्ने पहल गरेका हौं” विज्ञप्तिमा उल्लेख छ ।