असार १२, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न पेशा तथा व्यवासायीहरुको संस्था एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इंडस्ट्रिजले एक समारोह बीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीलाई सम्मान गरेको छ ।
सो समारोहमा आफ्नो छोटो मन्तव्यको क्रममा केसीले देशमा विदेशी व्यापारीहरुले लुट मचाइरहेको बताउनु भयो । “नेपालमा धनीया समेत विदेशबाट आउने गर्दछ, देश स्वदेशी उत्पादन विहिन भइरहेकोले नेपाली जनताले हरेक सामानको खरिदीमा महंगाईको मार खानु परेको छ ।” वहाँले भन्नु भयो “राजनीतिक पार्टीहरुको गतल प्रकारको नजिर कै कारण नेपाल र नेपालीहरुको अवस्था दयनीय छ ।”
विदेशी उत्पादनको विक्रीकेन्द्र नेपाल भएकोले उनीहरुबाट देशको अर्थतन्त्रलाई टिकारहन एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इंडस्ट्रिजले पनि स्वदेश मै लगानी बढाउनु पर्नेमा जोड दिनु भयो । केसीले आवश्यक सहयोग समर्थमका लागि आफूहरु सदा तत्पर रहेको समेत अवगत गराउनु भयो ।
नेपाल जस्तो सानो देशको उत्पादक शक्ति विदेशीनु पर्ने बाध्यता राज्यसत्ता सञ्चालकहरुको गलत गतिविधि कै कारण भएको बताउनु भयो । भारत बाहेक तेश्रो मुलुकमा मात्रै ६५ लाख युवाहरु विदेश पलायन हुनु नै नेपालको दूभाग्र्य भएको केसीले बताउनु भयो । “नेपालमा मान्छे बाहेक अरु केही उत्पादन हुँदैन” केसीले भन्नु भयो ।
भारतमा रहेका नेपाली व्यापारीहरुलाई नागरिकता देखि आयात–निर्यातसम्मका कैयौं समस्याहरु हुनुमा राज्यसत्ता सञ्चालकहरुले देशलाई टाट पल्टाएर गरिब राष्ट्र बनाएकाले नै नेपाली उद्योगीहरुको गरिमा भारत लगायत विदेशमा पनि अत्यन्तै कम रहेको समेत केसीले बताउनु भयो ।
“हेर्दै जानुस्, यो संघीयताले के के गर्दछ, अझै देशमा, बल्ल त मर्दासमेत एक हजार तिर्नु पर्दछ” वहाँले भन्नु भयो “विगतमा दुई रुपैयाँ तिर्नेहरुलाई अहिले तीन हजार कर लागिरहेको छ । यस्तै यस्तै कारणले संघीयता नेपालमा टिक्दैन ।”
संस्थाका महासचिव मोहन कार्कीको अध्यक्षता तथा स्वागत मन्तव्य एवं दिपक जिसीको सञ्चालनबाट अगाडि बढेको सो समारोहमा संस्थाका दिवंगत सदस्य शालिक राम शर्माको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रम विश्वकर्मा कलोनी, सि ७१ स्थित संस्थाको कार्यालयमा सम्पन्न भएको थियो ।
कार्यक्रममा मूल प्रवाहका उपाध्यक्ष कपिल खनाल, महासचिव खगेश्वर शर्मा, सचिव ठाकुर खनाल, एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इंडष्ट्रिजका कोषाध्यक्ष विन बहादुर कुंवर, सदस्य प्रमोद खरेल, घनश्याम शर्मा, नेपाल रेमिटेन्सका देवेन्द्र मालिया, पत्रकार महासंघ भारत शाखाका महासचिव गोविन्द पोखरेल, प्रभु बैंकका सुनिल मिश्रा लगायतको आतिथ्यिता रहेको थियो ।
आज २८ जुनका २०१८ का दिन साँझ ५ बजेदेखि पत्रकार महासंघ भारत शाखा केन्द्रीय समितिले अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा चित्र बहादुर केसीको प्रमुख आतिथ्यता रहेने समेत बताइएको छ ।