- शशिधर भण्डारी
नेपालको कम्युनिस्ट आन्दोलन सिद्धान्त, विचार, राजनीति, विश्व दृष्टिकोण, विश्लेषण र त्रान्तिकारी धैर्यता लगायतका प्रश्नमा समृद्ध देखिदैन, तर पनि लाखौँ नेपाली जनताले कम्युनिस्ट आन्दोलनलाई साथ दिइरहेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा हजारौँ योद्धाहरूले बलिदान दिएका छन् । नेपालको राजनैतिक आन्दोलनमा नेपाली कम्युनिस्ट आन्दोलनको विराट योगदान रहेको छ । सन् १९५६पछि विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद र संशोधनवादका विषयमा महान बहस सुरु भएपछि त्यसपछिको प्रभावबाट नेपालको काँचो र अल्पायुको कम्युनिस्ट आन्दोलन अछुतो रहन सकेन ।
वि.सं. २०२८ मा झापा विद्रोहका नेताहरूले सो विद्रोहसँग असहमत हुने सबैलाई गद्धार, सामन्ती छाउरा, संशोधनवादका पाल्तु कुकुर लगायतका अपशब्दबाट परिभाषा गरे । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा गालीगलौज संस्कृतिको सुरुवात रोहित र झापालीहरूबाट भयो । पछि तत्कालीन मोटो मसाल र माओवादीहरूले यो संस्कृतिलाई अगाडि बढाएको देखिन्छ । माओवादी “जनयुद्ध” कालमा यो गालीगलौजको संस्कृति “जनयुद्ध” कालमा मात्र सीमित भएन, मित्रशक्तिमाथि भौतिक आक्रमण गर्ने तहसम्म पतन भयो । तत्कालीन माओवादीले तत्कालीन एमालेलाई प्रतिक्रियावादमा पतन भएको शक्तिका रूपमा परिभाषा गर्यो । मोहन वैद्यले यस विषयमा पुस्तिका नै तयार पार्नु भयो । मसालले तत्कालीन माओवादीद्वारा एमालेलाई प्रतिक्रियावादी शक्तिका रूपमा पतन भएको निष्कर्षको सैद्धान्तिक प्रतिवाद गरेको थियो । सो विश्लेषणलाई मसालले मित्रशक्तिलाई दुश्मन शक्तिमा जबरजस्त घचेट्ने ढोकाबन्दवादी नीति भनेर विरोध गरेको थियो । तर इतिहासको मजाक वा संयोग घ् आज पूर्व माओवादी र एमालेका बीचमा पार्टी एकता नै भएको छ । हिजोको त्यति गहिरो तिक्तता आज मिलनमा परिणत भएको छ । माक्र्सवादी, लेनिनवादी सिद्धान्तको जगबाट हेर्दा यो एकता ३६० डिग्रीको गोलचक्कर हो । आफू तातो हुँदा जे पनि भन्ने र आफू सेलाएपछि जे पनि गर्ने यस्तो ऐतिहासिक परिदृष्यले नेपालको कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक र वैचारिक स्तरलाई निकै नै छिपछिपे चिन्तन प्रणालीमा आधारित भएको देखाउँछ ।
इतिहास जति तितो भएता पनि विचार मिल्ने भएपछि पूर्व नेकपा (एमाले) र पूर्व नेकपा (माओवादी केन्द्र) का बीचमा पार्टी एकता भएको छ । यो एकता स्वागतयोग्य छ । किनभने विचार मिल्ने शक्तिहरू अलग बस्न जरुरी हुँदैन । एक हुनु नै उपयुक्त हो । तर इतिहासको समीक्षा सिद्धान्त, व्यवहार जस्ता प्रश्नमा दुई धारबाट आएका पार्टीहरूका बीचमा त्यति गहन छलफल नभएको तर नाम, चुनाव चिह्न, पदीय व्यवस्थापन र नेताहरूको मर्यादाक्रमका विषयमा धेरै घोत्लिएर पार्टी एकता भएको देखिन्छ । यो एकताको जगमा विचार छैन, खालि सत्तास्वार्थ छ भन्ने कुरा उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमसँग पार्टी एकताका लागि गरिएको अभ्यासबाट प्रस्ट हुन्छ । यति चर्को सिद्धान्तहीनता पद–प्रतिष्ठा र मर्यादाक्रमको प्रश्नलाई लिएर भएको पार्टी एकता पश्चात् असन्तुष्टिका स्वरहरू तलदेखि माथिसम्म तरङ्गित भएको परिदृष्यले एकता कति टिकाउ हुन्छ भन्ने प्रश्नमा सन्देह कायमै रहेको देखिन्छ । त्यसो त हिजोका तिता विश्लेषण, तिता गालीगलौज, तिता घटनाहरू वर्तमान बनेर उभिन सक्ने खतराहरूलाई नजरअन्दाज गर्न सकिदैन । त्यसो भयो भने त्यसको दुस्परिणाम नेकपाले मात्र होइन, सिङ्गो मुलुकले नै ब्यहोर्नु पर्नेछ । कम्युनिस्ट आन्दोलनको सकारात्मक सङ्क्रमणको आधारमा हेर्दा यो एकताले सैद्धान्तिक, वैचारिक योग त्यति नपुर्यायता पनि देशको वस्तुगत यथार्तताले यो देखाइरहेको छ ।
कम्युनिस्टको मुख्य विश्वव्यापी मान्यता भनेको व्यक्तिगत सम्पत्ति, व्यक्तिगत स्वार्थ, व्यक्तिगत नाफा, व्यक्तिगत विलास होइन । उत्पादनका साधनमा सामुदायिक सर्वोच्चता, चिन्तन, व्यवहार, आचारविचार आदिमा पनि सामुदायिक भावनाको सर्वोच्चता हो । तर नेकपाको विचारधारात्मक मूल्य विघटनको तीव्रताले नेकपाको नेतृत्वमा कम्युनिस्ट सोचको तरङ्ग कहीँ कतै अनुभूति हुँदैन ।
सिद्धान्त, राजनीति, चिन्तन, व्यवहार जे जस्तो भएता पनि आफ्नो पार्टीको नाम कम्युनिस्ट राख्न रुचाउने र आधारभूत सिद्धान्त माक्र्सवाद, लेनिनवाद बताउने एउटा शक्ति भएको र कम्युनिस्ट आन्दोलनको पृष्ठभूिमबाट आएको र त्यो पार्टीभित्र हजारौँ क्रान्तिकारी कार्यकर्ता पनि भएको हुनाले तदनुरूप नै चर्चा गर्नु पर्ने हुन्छ । त्यस अनुरूप हेर्दा दोस्रो विश्वयुद्धपछिको इतिहासमा निर्वाचनबाट सबभन्दा ठुलो पार्टीका रूपमा स्थापित यो विश्वको दोस्रो ठुलो कम्युनिस्ट पार्टी भएको छ । १९७० मा निर्वाचनबाट चिलीमा एलेन्देको नेतृत्वमा वाममोर्चा, त्यहाँको संसद र सरकारमा स्थापित भएको थियो भने दोस्रो निर्वाचनबाट सत्तामा गएको तागत नेकपा नै हो । वर्तमान विश्वमा नामकै कम्युनिस्ट पार्टीका रूपमा हेर्ने हो भने नेपाल कम्युनिस्ट पार्टीभन्दा ठुलो पार्टी चीन र भियतनाममा मात्र छन् । तर चीन र भियतनामका कम्युनिस्ट पार्टीहरू क्रान्तिकाबाट शक्तिमा गएका थिए, निर्वाचनबाट होइन । सशस्त्र सङ्घर्षको पृष्ठभूमिबाट उदाएको र लामो संसदीय राजनीतिबाट आएका राजनीतिक शक्तिहरूबीचको यो एकता विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा नौलो घटना हो । त्यसैले यो एकतापछि विश्वको नै ध्यानाकर्षण भएको देखिन्छ ।
एक वर्ष अगाडिसम्म तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा एक प्रकारको शत्रुतापूर्ण अन्तर्विरोध थियो । बिना सङ्कोच माओवादी केन्द्रले एमालेको सरकार ढालेर नेपाली काङ्ग्रेससित मिलेर सरकारमा गएको थियो । नेपाली काङ्ग्रेससितको तत्कालीन माओवादी केन्द्रको अप्राकृतिक प्रेम स्थानीय निर्वाचनसम्म तन्केको थियो । यस्ता शक्तिहरूका बीचमा एकताको कारण खोज्ने क्रममा कसैले विदेशी शक्तिहरूले जोडिदिएको भनेर पनि अड्कलबाजी गरेको पाइन्छ । त्यसका पछाडि केही सत्यता हुन सक्दछ । माओको पालादेखि उत्तरी छिमेकी देश चीनले नेपालको राजनीतिमा स्थायी शक्तिका रूपमा दरबारलाई देख्यो । दरवारसित नै कूटनीतिक सम्बन्ध राख्यो । अन्य राजनीतिक पार्टीहरूमा भारतीय भूमिका बढी प्रभावकारी हुने निष्कर्षमा चीन थियो । २०४७पछि चीनले नेपालमा भर परेर कूटनीतिक आयाम अगाडि बढाउने स्थायी राजनीतिक शक्ति नदेखेको प्रतीत हुन्छ । यस्तो परिदृष्यमा यो एकताको पृष्ठभागमा चिनियाँ पुठले काम गरेको छ भन्ने अड्कलबाजीहरू पनि नेपालको राजनीतिमा मुखरित भए । भारतीय नाकाबन्दीका विरुद्ध ओली नेतृत्वमा एमालेले र अन्य वाम घटकहरूले राखेको अडान तथा नेपाली काङ्ग्रेसले नाकाबन्दीलाई नाकाबन्दीसम्म भन्न सकेन । यस्तो अवस्थामा एकताको उद्घोषण सहित संयुक्त घोषणा पत्र जारी गरेर निर्वाचनमा गएको वाम गठबन्धनलाई नेपाली जनले विजयको शिखरमा पुर्याए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण, मोदीको नेपाल भ्रमण, पछिल्लो समयमा ओलीमा देखा परेको पथ विचलन मधेशवादी दलहरूलाई सरकारमा तान्न गरिएको प्रयास मात्र होइन, उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमसित पार्टी एकता गर्न गरिएको अभ्यासले नेकपा बाबुराम पथमा हिड्न थालेको आभाष मिलेको छ । प्रश्न त्यहाँ मात्र सीमित छ्रैन, भारतमा सांस्कृतिक फासीवादको अभ्यास गरेर भारतीय लोकतन्त्रमा खेलिरहेको मोदीको समेत यो एकता प्रक्रियामा पुठ त छैन ? आशङ्का गर्ने आधारहरू छन् । यी सम्पूर्ण अड्कलबाजीका अलावा केन्द्रीय रूपमा यथार्थमा यो एकताका पछाडि सत्तास्वार्थले काम गरेको छ । २०६३ का पछाडि नेपालमा प्रचण्ड र ओलीको नेतृत्वमा दुई/दुई पटक माधव नेपाल, झलनाथ र बाबुरामको नेतृत्वमा एक/एक पटक गरी सात पटक वामपन्थी नेतृत्वको सरकार बनेको थियो । तर ती सरकारहरू नेपाली काङ्ग्रेस, भारत र आन्तरिक अन्तर्विरोधका कारणले अल्पायुमै ढलेका थिए । सैद्धान्तिक, वैचारिक, सांस्कृतिक र राजनीतिक रूपमा संसदीय राजनीतिमा प्रवेश गरेपछि एमाले माओवादीमा लगभग एकैखाले स्खलन भयो । बहुदलीय संसदीय लोकतन्त्र, आवधिक निर्वाचन, विधिको शासन, शक्तिको पृथकीकरण र अथाह धनराशी खर्च गरेर, डनहरू परिचालन गरेर जसरी भएता पनि निर्वाचनमा सफलता हासिल गर्ने जस्ता पुँजीवादी संसदीय एजेन्डाहरूलाई दुवैले आत्मसात गरे पश्चात्को यो अन्तरघुलन अप्राकृतिक देखिदैन ।
यी सम्पूर्ण तस्बिरहरू हाम्रा अगाडि नाचिरहेका छन् तर पनि जति धेरै विचलन भए पनि नेपाली काङ्ग्रेसको तुलनामा लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्म निरपेक्षता जस्ता उपलब्धिहरू, जसले नेपालमा हिजोका दिनमा कायम भएका सरकारहरूलेभन्दा प्रगतिशील महत्व राख्दछन् । तिनलाई जोगाउने प्रश्नमा वाम गठबन्धन अझै पनि नेपाली काङ्ग्रेसभन्दा प्रगतिशील शक्तिका रूपमा देखिन्छ । गत निर्वाचनमा वामपन्थीहरूको गठबन्धन हुँदासाथ राप्रपा र अन्य दरवारियाहरूसित मिलेर कथित लोकतान्त्रिक गठबन्धनको लागि हात अगाडि बढाएको नेपाली काङ्ग्रेसले मुलुकलाई २०४७ सालको संविधानतिर फर्काउने प्रयास नगर्ला भन्न सकिन्न । सोलोडोलो सबै काङ्ग्रेसलाई—त्यसो भन्न त सकिदैन तर काङ्ग्रेसभित्र मुलुकलाई २०४७ को संविधानमा फर्काउन पर्दछ भन्ने ठुलो जनमत छ । विश्व इतिहासले सप्रेका पुँजीवादीहरूभन्दा बिग्रेका समाजवादीहरू केही समयका लागि तुलनात्मक रूपमा सही हुन्छन् भन्ने पनि देखिन्छ ।
राजनीतिक स्थायित्व र पाँच वर्षका लागि स्थायी सरकार नेपालको तात्कालिक राष्ट्रिय आवस्यकता हो । नेपाली जनताको असीम त्याग, तपस्या र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा पनि आजको आवश्यकता हो । लोकतान्त्रिक गणतान्त्रिक प्रणाली कम्युनिस्टहरूको व्यवस्था होइन तर पनि आजको परिस्थितिमा यी प्राप्त उपलब्धिहरूलाई जोगाएमा मात्र देशले यसमा टेकेर सकारात्मक सङ्क्रमणको गति लिन सक्दछ अन्यथा प्रतिगमनको खतरालाई पनि नजरअन्दाज गर्न सकिन्न ।
वाम गठबन्धनले चुनावी घोषणा पत्रमा उल्लेख गरे अनुरूप सिङ्गो नेपालमा सडक सञ्जाल जोड्ने, विद्युतीकरण गर्ने, सिँचाईकरण गर्ने र कृषि क्रान्ति गरेर मुलुकलाई आत्मनिर्भरतिर लैजाने, ग्रामीण क्षेत्रमा औद्योगिक क्रान्ति गर्ने, संविधानमा उल्लेख मौलिक हक–अधिकारको कार्यान्वयन, निरक्षरता उन्मूलन गर्ने, शिक्षा, स्वास्थ्य, सुविधालाई आम जनताको सहज पहुँचमा पुर्याउने जस्ता काम गरेमा पनि नेपाल जस्तो देशका लागि ठुलै काम हुनेछ । यति कामका लागि पनि नेकपाभित्र मजबुत एकता, सरकार र संसद बाहिर रहेका अन्य कम्युनिस्ट घटकहरूसँग सुमधुर सदा संयमता प्राप्त गर्न आवश्यक छ अन्यथा हिजोका दिनमा जस्तै गालीगलौज, पूर्वाग्रह अराजनीतिक आलोचना अवस्तुवादी परिभाषाको संस्कृतिलाई पुन: जागृत गराउने र एकता भताभुङ्ग पार्ने हो भने यो देश अकल्पनीय दुर्घटनामा फस्ने, सांस्कृतिक फासीवादको उदय हुने खतरालाई इन्कार गर्न सकिन्न । अनवर होक्जाको नेतृत्वमा सोभियत संशोधनवादका विरुद्ध लडेको इतिहास बोकेको अलबानिया कसरी युरोपको एउटा मुस्लिम राष्ट्रका रूपमा उदय भयो ? वाम गठबन्धनले इतिहासबाट पाठ सिकेर पाइला चाल्न जरुरी छ ।
एउटा पार्टीमा दुई जना समान हैसियतका अध्यक्ष छन् । नेताहरूले यसलाई एउटा जहाजका दु्ई वटा पाइलट भनेर परिभाषा गरेका छन् । तर जनताले एउटा कुर्सीमा दुई जना मान्छे बसेको देखिरहेका छन् । एउटा कुर्सीमा दुई जना व्यक्ति कोचिएर बसिरहन सक्लान् ? प्रश्न विचारणीय छ । ४४१ जनाको केन्द्रीय समिति बनेको छ। जिल्ला र प्रदेशमा पनि जम्बो जम्बो समितिहरू बन्दैछन् । ती समितिहरूका बैठक बस्न नै कुम्भमेला हुने देखिन्छ । बैठकमा छलफल, बहस, क्रिया, अन्तरक्रिया गरेर एउटा निष्कर्ष बोकेर जनताका बीचमा जाने काम अर्को महाभारत हुने देखिन्छ । यो तस्बिरले नेकपाभित्र परिवर्तनको चिन्ता होइन, क्यारियर निर्माणको संस्कृति हावी भएको प्रस्ट पारेको छ । झण्डै डेढ अरब जनसङ्ख्या भएको चीनको कम्युनिस्ट पार्टीकोभन्दा १० गुणा ठुलो नेकपाको केन्द्रीय समिति कम्ती उदेकलाग्दो छैन । यसले नेकपारूपी सत्तासिन जहाज कसरी दिशानिर्देश होला ? जनताका अगाडि आशङ्काका चाङहरू छन् ।