काठमाण्डौ – आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस भएका छन् ।
न्याय परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।
जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा पालिकामा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ । मङ्सिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका मेयर १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपमेयर १ र वडाअध्यक्ष ३३ गरी ४३ रिक्त पदमा उपचुनाव हुन लागेको हो ।
मतदाताको अन्तिम नामावली प्रकाशन हुने मिति कात्तिक २६ गतेसम्ममा कुनै पद खाली भएमा मङ्सिर १६ मै उपचुनाव गराउने निर्वाचन आयोगले जनाएको छ ।
उपचुनावका लागि २५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । कात्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन र मतदान स्थल निर्धारण हुनेछ । कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना र मङ्सिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ ।