उज्ज्वल आचार्य
-
इन्टरनेटमा हालिएका सामग्रीहरू कहिल्यै नमेटिने, दुरुपयोग हुने र त्यसका आधारमा बालबालिका उत्पीडनमा पर्न सक्ने एवं ती फोटा भविष्यमा बालबालिकाका निम्ति मानसिक तनावको विषय पनि बन्न सक्ने भएकोले त्यस्ता फोटा हाल्दा पर्याप्त सचेत हुनुपर्छ ।
फोटोका लागि प्रयोग हुने सोसल मिडिया ‘इन्स्टाग्राम’ चलाउँदै गर्दा केही साता अगाडि एकजना बहिनीले राखेका दुईवर्षे छोरीका नुहाउँदै गरेका फोटामा आँखा परे । चार वटा फोटामध्ये एउटा पूर्णकदको लुगा नलगाएको फोटो थियो । बालसुलभ चञ्चलता र निर्दोषपनाले गर्दा फोटा राम्रा नै देखिन्थे । तैपनि मैले ती बहिनीलाई मेसेज पठाएँ, “मसँग तिम्रो बाल्यकालको नुहाउँदै गरेको फोटो छ, शेयर गरूँ ?
अर्का एकजना मित्रले फेसबूकमा सानो लुगा मात्रै लगाएको छोरीको फोटो हालेर छोरीलाई जन्मदिनको शुभकामना लेख्नुभयो । अझ् खोज्दै जाँदा; बालबच्चाका मोबाइलबाट खिचिएका सयौं थरीथरीका फोटो सोसल मिडियामा भेटिए ।
खेलिरहेका, खाइरहेका, हाँसिरहेका वा रोइरहेका बालबालिकाका फोटा हेर्दा रमाइलो अनुभव हुन्छ । तर, ती फोटाले बालबालिकालाई भविष्यमा पनि रमाइलो अनुभव गराउन सक्लान् ? ती फोटा बालबालिकाका लागि कतै मानसिक तनावका विषय पो बन्छन् कि ? सबैभन्दा महत्वपूर्ण कुरा; के ती बालबालिका त्यस्ता फोटा सोसल मिडियामा सबैले देखुन् र चर्चा गरुन् भन्ने चाहन्छन् ? केही साथीहरूलाई यो प्रश्न सोध्दा ‘बालबच्चालाई के थाहा र सोध्नु’ भनेर जवाफ पाएँ । तर के हामीलाई थाहा छ त ती फोटा के कसरी प्रयोग हुनसक्छन् र त्यसले हाम्रा बालबालिकालाई के कस्तो असर गर्न सक्छ भनेर ?
सन् २०१६ को कुरा हो; अष्ट्रियामा एक १८ वर्षीया युवतीले आफ्नो अनुमतिविना आफ्नो बाल्यकालका ५०० फोटा फेसबूकमा हालेको भनेर अभिभावक विरुद्ध मुद्दा दायर गरिन् । ती युवतीले आक्रोश पोख्दै भनेकी थिइन्, “मेरा बुबाआमालाई के ठीक के बेठीक भन्ने नै थाहा छैन, उनीहरूलाई लाज पनि छैन । उनीहरूले फेसबूकमा फोटो हाल्दा म शौचालयमा छु वा कोक्रोमा नाङ्गै सुतिरहेको छु भन्ने पनि विचार गरेनन् र मेरो बाल्यकालका सबै कुरा सार्वजनिक बनाए ।”
सोही वर्ष बेलायतमा गरिएको एक अध्ययनले बालबालिकाहरू पाँच वर्षको उमेरमा पुग्दासम्म अभिभावकले १,४९८ वटासम्म फोटो फेसबूक, इन्स्टाग्रामलगायतका सोसल मिडियामा हाल्ने गरेको देखाएको थियो । आफ्ना बालबालिका हुर्कंदै गर्दा अभिभावकले रहर र खुशीले तिनका रमाइला फोटाहरू सोसल मिडियामा हाल्छन् । साथीभाइ र नातेदारहरूबाट लाइक र सकारात्मक कमेन्ट आउँदा स्वाभाविक रूपमा अभिभावकलाई बालबालिकाका थप फोटा हाल्न मन लाग्छ । यसरी आफ्ना बालबालिकाको बारे सोसल मिडियामा धेरै कुरा शेयर गर्ने कार्य व्यापक भएका कारण त्यसलाई जनाउन अंग्रेजीमा छुट्टै शब्द ‘शेयरिङ्टिङ’ (शेयर र प्यारेन्टिङलाई मिलाएर बनाइएको) नै जन्मिएको छ ।
फ्रान्समा व्यक्तिगत गोपनीयताको संरक्षणका लागि कडा कानून छ । त्यहाँ अनुमति विना आफ्नै बालबच्चाको गोपनीयता भंग पनि गर्न पाइँदैन । त्यस्तो गरेमा एक वर्ष जेल सजाय र ४५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ । जसका कारण, फ्रेन्च प्रहरीले आफ्नै बालबच्चाका फोटा समेत सोसल मिडियामा नहाल्न सूचना जारी गर्ने गर्छ । तर यस्ता केही अपवाद बाहेक संसारका धेरै देशमा अभिभावकले आफ्ना बालबालिकाका फोटा इन्टरनेटमा हाल्न रोक्ने कानूनी बाध्यता छैन । यद्यपि, बालबालिकाका फोटोहरू इन्टरनेटमा हाल्ने अभ्यासलाई गलत मान्नुपर्ने बलिया आधारहरू भने छन् ।
डिजिटल अपहरण
इन्टरनेटबाट बालबालिकाका फोटा निकालेर सोसल मिडियामा आफ्ना बालबालिकाका रूपमा प्रस्तुत गर्ने कार्यलाई ‘डिजिटल अपहरण’ भनिन्छ । सामान्य रूपमा हेर्दा यो नराम्रो कार्य जस्तो नदेखिए पनि यसका नराम्रा पक्षहरू छन् । पहिलो त यो एक प्रकारको परिचय चोरी हो । धेरैजसो अवस्थामा ती फोटामा बालबालिकाको नाम फेरिन्छ । दोस्रो त्यस्ता फोटाको प्रयोग निर्दोष रूपमा मात्रै हुँदैन । एक अध्ययनले इन्स्टाग्राममा हालिने त्यस्ता धेरै फोटामा अश्लिल र यौनजन्य प्रतिक्रियाहरू आउने देखाएको छ । अभिभावकले इन्टरनेटमा हाल्ने बालबालिकाका लाखौं फोटोलाई बाल यौनदुराचारीहरूले गोप्य साइटहरूमा हालिदिने गर्छन् । त्यहाँ ती फोटाको दुरुपयोग नै बढी हुन्छ । ती फोटालाई बालबालिकाका ठेगाना र परिवारको जानकारी प्राप्त गर्न समेत प्रयोग गर्ने गरिन्छ । नेपालमा यस्तो अपराधका बारेमा धेरै चर्चा हुने गर्दैन, तर बालबालिकामाथिको बढ्दो अपराध र यौन उत्पीडनको अवस्थामा यहाँ पनि होशियारी अपनाउनु राम्रो हुन्छ ।
विद्यार्थीका फोटा
भक्तपुर जिल्लाको नाम चलेको एउटा विद्यालयले स–साना विद्यार्थीका फोटा नियमित रूपमा फेसबूकमा हाल्ने गर्छ । यस्तो प्रवृत्ति अहिले अरू धेरै मन्टेसरी विद्यालयहरूमा पनि देखिन्छ । त्यो विद्यालयले एक दिन आफ्ना साना विद्यार्थीलाई घोडचढी गराएका दर्जनौं फोटा विद्यालयको फेसबूक पेजमा राख्यो । त्यसमा मेरा एक परिचित मित्रका छोराको फोटो पनि रहेछ, जसलाई अभिभावकले शेयर गर्नुभयो । मित्रको छोरा घोडामा बस्दा डराएको स्पष्ट देखिन्थ्यो । केही दिनपछि भेट हुँदा मैले ‘बाबु त्यतिबेला डराएको हो’ भनेर सोध्दा ती बालकको हँसिलो अनुहार एकाएक निन्याउरो भयो ।
अब गर्मीको मौसम शुरू भएपछि धेरै विद्यालयले आफ्ना विद्यार्थीलाई पौडी खेल्न लैजान्छन् र त्यसका फोटा सोसल मिडियामा हाल्छन् । तर के यो आवश्यक छ ? शिक्षकहरूले कतै खानपिनसँगै रमाइलो गरिरहेका वा केही निजी काम गरिरहेका फोटा कसैले सोसल मिडियामा शेयर गरिदियो भने उहाँहरू कस्तो महसूस गर्नुहुन्छ होला ?
आज फेसबूक विद्यालयका लागि संचारमाध्यम भएको छ । प्रत्येक हप्ताजस्तो मन्टेसरी विद्यालयहरूले आफ्ना विद्यार्थीका विभिन्न क्रियाकलापका फोटा फेसबूकमा राख्छन् र केही अभिभावकले त्यसलाई शेयर पनि गर्छन् । तर विद्यालयले अभिभावकहरूलाई आफ्ना बालबालिकाको गतिविधि थाहा दिन भनेर गरिने यो खाले विज्ञापन अनावश्यक मात्रै होइन, जायज पनि छैन । मलाई थाहा भएसम्म, हाम्रा कुनै पनि विद्यालयले बालबालिकाको फोटो प्रयोग गर्नका लागि अभिभावकसँग अनुमति लिंदैनन्; न त कुनै विद्यालयले आफ्ना विद्यार्थीलाई इन्टरनेटको खतरा र सम्भाव्य जोखिमका बारेमा ज्ञान नै दिने गर्छन् । बालबालिका र अभिभावकलाई सिकाउनुपर्ने विद्यालयले आफैं नाजायज कार्य गर्नु कति उचित होला ?
बालबालिकाको फोटो इन्टरनेटमा हाल्ने या नहाल्ने भन्ने विषयमा सबैका फरक–फरक धारणा हुन सक्छन् । अभिभावक र विद्यालयका आफ्नै तर्कहरू होलान् । तर इन्टरनेटमा हालिएका सामग्रीहरू कहिल्यै नमेटिने, दुरुपयोग हुने र त्यसका आधारमा बालबालिका उत्पीडनमा पर्नसक्ने एवं ती फोटा भविष्यमा बालबालिकाका निम्ति मानसिक तनावको विषय बन्नसक्ने भएकोले त्यस्ता फोटा हाल्दा सचेत हुनैपर्छ । भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको भनाइ यहाँ मननयोग्य हुन्छ । उनले भनेका थिए, “बालबालिकाको सुन्दर भविष्यका लागि हामीले हाम्रो ‘आज’ केही त्यागौं । बालबालिकाको निर्दोषपना र चञ्चलतालाई घरभित्रै रहन दिऔं, त्यसलाई सार्वजनिक र विज्ञापनको विषय नबनाऔं ।”
इन्टरनेटमा बालबालिकाका फोटो राख्ने सम्बन्धमा केही सुझाव
१. थोरै र राम्ररी छानिएका फोटा मात्रै राख्नुस्ः अस्वाभाविक र धेरै अनौपचारिक अर्थात् नाङ्गा वा अर्धनग्न, डराएका वा रिसाएका, फोहोरी वा खाइरहेका फोटा नराख्नुस् । तपाईं आफ्ना जस्ता फोटा सोसल मिडियामा राख्न चाहनुहुन्न; बालबालिकाका पनि त्यस्ता फोटा नराख्नुस् । सकेसम्म थोरै फोटा राख्नुस् ।
२. अनावश्यक जानकारी नदिनुस्ः बालबालिकाको बानीव्यवहार, मनपर्ने नपर्ने कुराहरू, विद्यालय वा नियमित जाने स्थान आदिका बारेमा अरूहरूलाई आवश्यक नहुने जानकारीहरू पनि इन्टरनेटमा राख्नुहुँदैन ।
३. हेर्न पाउने मानिस कम राख्नुस्ः फेसबूकमा केही निश्चित मानिसले मात्रै हेर्ने गरी फोटो हाल्न मिल्छ । इन्स्टाग्राम वा ट्विटर वा यूट्युबमा पनि चाहेका व्यक्तिले मात्रै हेर्न पाउने बनाउन मिल्छ । बालबालिकाका फोटा नियमित हाल्नुहुन्छ भने खुला नगरी; त्यसरी मात्रै हाल्नुस् ।
४. अनुमति लिनुस्ः बालबालिका चार–पाँच वर्ष पुगिसकेका छन् भने उनीहरूको अनुमति लिएर मात्रै फोटो हाल्नुस् । त्यो उमेरका बालबालिका धेरै बुझने नभए पनि आफ्नो निम्ति राम्रो–नराम्रो केही छुट्याउन सक्छन् र साथसाथै उनीहरूले अरूको फोटो हाल्दा अनुमति लिनुपर्छ भन्ने महत्वपूर्ण ज्ञान हासिल गर्छन् ।
५. विद्यालयका लागिः बालबालिकाहरूलाई विज्ञापनका रूपमा प्रयोग नगर्नुहोस् । स्कूल–क्रियाकलापका फोटा इन्टरनेटमा हाल्दा पनि सकेसम्म समूहका र टाढाबाट खिचिएका फोटा मात्र हाल्नुस् ।
शिक्षक पत्रिका चैतको अंकमा प्रकाशित