इजरायली नरसंहार विरुद्ध प्रगतिशील रूपान्तरण आन्दोलन गठन

0
2

काठमाडौँ । इजरायलले प्यालेस्टाइनमा मच्चाइरहेको नृशंस जनसंहारका विरुद्ध एकताबद्ध पहलको रूपमा प्रगतिशील रूपान्तरण आन्दोलन गठन भएको छ ।

राजधानीको अनामनगरमा २०८१ कात्तिक ७ गते बुधबार सम्पन्न सर्वपक्षीय बैठकले नागरिक समाजका श्याम श्रेष्ठलाई संयोजक तोक्दै सो समिति गठन गरेको हो ।

संयोजक श्रेष्ठले प्रेसविज्ञप्तिमार्फत उक्त बैठकको छ बुँदे निर्णय सार्वजनिक गर्नुभएको छ ।

निर्णयअनुसार कात्तिक २५ गतेपछि विरोध प्रदर्शन कार्यक्रम गर्ने, कात्तिक १३ गते १ बजे काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने, विरोध कार्यक्रम सञ्चालन गर्न सर्वपक्षीय संयन्त्र बनाउने, विप्लव पक्ष, अशोक राई, उपेन्द्र यादव पक्षलाई पनि संयन्त्रमा ल्याउन पहल गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने र विरोध प्रदर्शनलाई देशव्यापी बनाउने बताइएको छ ।

“प्रगतिशील रूपान्तरण आन्दोलनको संयोजन तथा आयोजनामा २०८१ कात्तिक ७ गते अनामनगर काठमाडौँमा भएको विभिन्न राजनीतिक दल, बृहत् नागरिक आन्दोलन र नागरिक व्यक्तित्वको संयुक्त बैठकका निर्णय यसअनुसार रहेका छन् :

१. इजरायलले गरिरहेको नृशंस जनसंहारका विरुद्ध एकताबद्ध विरोध प्रदर्शन कार्यक्रम तिहार र छठ सकिनासाथ गर्ने । यसका लागि लक्षित मिति कात्तिक २५ गते तय गरिएको छ ।

२. विरोध प्रदर्शनको कार्यक्रमअघि उपर्युक्त विषयमा राष्ट्रिय जनमत सिर्जना गर्न आउँदो कात्तिक १३ गते अपराह्न १ बजे मिडियाको सघन उपस्थितिसहितको अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने । कार्यक्रम स्थल प्रगतिशील रूपान्तरणले खोज्ने छ ।

३. विरोध कार्यक्रम जारी रहुञ्जेल सबै कार्यक्रमलाई सरसल्लाहका साथ अघि बढाउन बैठकमा उपस्थित सबै दल र पक्ष सम्मिलित एउटा सर्वपक्षीय संयन्त्र निर्माण गर्ने । त्यसको नामकरणसमेत गर्ने । त्यसमा सरिक हुने आधिकारिक प्रतिनिधिको नाम सम्बन्धित दल र पक्षले अविलम्ब दिने छन् ।

४. आजको कार्यक्रममा छुटेका तर विरोध कार्यक्रमको मूल एजेन्डामा सहमत दल, नागरिक संस्था, मानवअधिकारवादी सङ्गठन र महत्त्वपूर्ण व्यक्तित्वलाई आगामी कार्यक्रम र संयन्त्रमा सहभागी बनाउन पहल गर्ने । नेक्रवित्रम चन्द, अशोक राई र उपेन्द्र यादवले अगुवाइ गरेको दललाई संयन्त्रमा ल्याउन तत्काल कोसिस गर्ने ।

५. यससम्बन्धी अन्तर्राष्ट्रिय नेटवर्कसित समेत जोडिन पहल गर्ने ।

६. विरोध कार्यक्रमलाई राजधानीमा मात्र सीमित नगरी प्रदेशमा समेत विस्तार गर्न प्रयास गर्ने ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here