सलिम अन्सारी
प्युठान । समथर भुमी, वरीपरी हरीयाली । मनमोहक छ झिमरुक फाँट । सामान्यतया प्यूठान भित्रने जो कोहीको पनि पहिलो नजर यसै फाँटमा पर्छ । दाङ भालुवाङबाट पहाडै पहाडको बाटो भएर हिड्नेहरु यहाको दृश्य हेरेरै लोभिन्छन । तर हिजोआज कि त घर हुन् । या घर बन्न नपाएका घडेरी । जग्गा जती पल्टिङ्ले खाएपछी फाँटहरु क्रंकिटले ढाँकिएका छन् । बस्ती बाक्लिएको छ । शहरीकरण बढ्दो छ । स्थानियका अनुसार यहि फाँटमा बर्सेनि २ सय बढी नयाँ घर थपिन्छन् । घरघडेरीमात्रै होइन, बर्षेनि झिमरुक नदीले कटान गर्दा फाँटको क्षेत्रफल खुम्चदो छ । बाह्रैमास सिंचाई हुने झिमरुक फाँटमा लहलह धान झुलथ्यो सात आठ बर्सै भयो घरघडेरी निर्माण र कटानको दोहोरो चपेटामा छ । प्युठान नगरपालिका कृषि बिभागका बाली संरक्षण अधिकृत तेज बहादुर बिष्टका अनुसार झिमरुक फाँटको ३५० हेक्टर क्षेत्रफल जमिन घडेरीको रूपमा प्रयोग भइसकेको छ । ‘झिमरुकको बाढीले समेत बर्सेनि खेत कटान गर्दै आएको छ’ उनी भन्छन्, ‘जोगिएको फाँटमा घर बनेका बन्यै छन । खाद्यान्न उत्पादन घट्दो छ ।’ उनी थप्छन वर्षेनी २०/२५ हेक्टर खेतीयोग्य जमिन घडेरीमा परिणत गरेको छ । नदी किनारका बस्ती समेत उच्च जोखिममा छन् । खोलाको सतह नै अग्लिएको झिमरुक नदीले हजारौं रोपनी झिमरुकको उर्वर फाँट बर्सेनि मास्दै गएको छ ।
खोलाले ठूलावेसीदेखि बरौलासम्मको खेत कटान गरिरहेको छ । अन्नको भण्डारण भनेर चिनिने झिमरुक उपत्यकामा पर्ने विजुवार, धर्मावती ९ खप्रेङखोला, गेजवाङ, दम्ती, मरन्ठाना, सारीवाङ, विजयनगरसहित रस्पुरकोट, विजुली, बरौला, पकला, रम्दी र धुवाङ क्षेत्रमा पर्ने खेतहरु बर्सेनि कटानको चपेटामा पर्छन् ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विजुवारमार्फत झिमरुक नदी नियन्त्रणका लागि वर्षेनी करोडौँ रकम खर्चिए पनि प्रभावकारी उपलव्धि नदेखिएको स्थानीय बताउँछन् । गाउँगाउँमा मोटरबाटो निर्माण गर्दा निस्किएको माटो, ढुंगा भलले बगाउँदा खोला अग्लिएको हो ।
सडक निर्माण गर्दा निस्किएका ढुंगा, माटो सिँधै खोलामा पस्दा नदीको बहाव परिवर्तन हुने चिन्ता स्थानीयको छ । वातावरण प्रभाव मूल्यांकन बिना नै सडक निर्माण गर्दै गएमा उर्वरभूमी झिमरुक फाँट ‘कंक्रिट’ बन्दै जाने देखिएको छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको अभावमा गाउँबाट मानिस शहरी क्षेत्रमा झर्दा बस्ती बढेको हो ।
बाग्दुला, दम्ती खप्रेङखोला, बिजुवार, टिकुरी, पुण्यखोला, रातमाटा, क्वाडी जाताततैबाट छोरे बाटाहरू खोलिएका छन् । खेतमा बनाईएका घरघडेरीमा धमाधम नयाँ घर बनाइँदैछ । यो क्रम रोकिएको छैन । राज्यको भूउपयोग नीति स्पष्ट नहुँदा यो
हरियाली फाँट मासिन थालेको वर्षौं हुन थाल्यो । आहा ! झिमरुक फाँट,बचाउने कस्ले ?
कार्यान्वयनका कुरा मात्रै
झिमरुक फाँट जोगाउने कुरा धेरैपटक भए, योजना पनि बनाईए । तर, प्लटिङ रोकेर भूमिको सही उपयोग गर्ने नीति जिल्लाले बनाउन सकेको छैन । जिबिसले प्यूठान जिल्लाको उर्वर भूमि झिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको वर्षौं भइसकेको छ । योसँगै प्यूठान नगरपालिकाको पहिलो परिषद्ले फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको थियो । उस्ले ५ बर्षे आवधिक नगर बिकास योजना बनाएर कृषि क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखेको पनि छ । यद्धपी यस्को कार्यान्वयन गर्न सकेको छैन ।
नगरपालिकाको बिजुवार टारी, खलंगा पाण्डेडाडा, थापाडाडाँ, विजयनगर, सापडाडाँ, रातामाटा, क्वाडी क्षेत्रमा बस्ती क्षेत्र विकास गर्ने, झिमरुक, क्वाडेकुलोभन्दा तल बस्ती बसाल्न नपाइने नीति पास गरेको छ । बनेका सडकहरूको लगत लिने सडक सार्वजनिक गरेर मात्र जमिनको कित्ताकाट गरेर घरघडेरी बिक्री गर्ने निर्णय थियो । तर, यो योजना पनि कागजमै सिमित छ । स्थानिय समाजसेवी लोक बहादुर बस्नेतले झिमरुक फाँटमा कृषिसम्बन्धी उद्यम सञ्चालन गर्न सके जिल्लाको अर्थतन्त्र बलियो बनाउन सक्ने बताउँछन् । भन्छन्, ‘जिल्लामा खाद्यान्न संकटलाई कम गर्न फाँटको विशेष योगदान छ । यसलाई जोगाउनुपर्छ ।’ सौन्दर्यता नबिग्रने गरी फाँटको बस्तीलाई ब्यबस्थित गर्नुपर्ने उनको सुझाव छ । नगरप्रमुख अर्जुनकुमार कक्षपति पनि फाँट मासिएकोमा चिन्तित देखिन्छन् । उनले चुनाब जितेको बर्षदिन बित्यो । तर, फाँट जोगाउने बिषयमा ठोस काम गर्न सकेका छैन्न भन्छन्, ‘फाँट जोगाउने विषयमा भुउपयोग नीति बनाउँदै छौँ । नौ महिना भित्रै गुरुयोजना बनाएर सक्ने योजना छ । हाललाई प्लटिङ गर्न रोक लगाईएको छ।’ भर्खरै सम्पन्न तेस्रो नगरसभाले पनि खेतीयोग्य जमिन जोगाउनका लागि ‘नगर गुरुयोजना’ बनाएर अघि बढ्ने नीतिगत निर्णय गरेको छ । नगरले व्यवसायिक, औद्योगिक र आवास निर्माण गर्ने योजना बनाएको छ । उनी भन्छन्, ‘झिमरुक फाँट सुन्दर्तालाई ह्रास हुन दिन्नौ ।’ नगरपालिकाले दिर्घकालिन भु–उपयोग नीति बनाउन लागेको मेयर कक्षपतिले समाचारपत्रलाई जानकारी दिए ।
नेपालसमाचारपत्रबाट